नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
तत्कालीन सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएकै दिन मंसिर ५ गते पूर्वमाओवादी लडाकू कुलप्रसाद भट्टराईले पूर्वमाओवादी नेता तथा वर्तमान गृहमन्त्री रामबहादुर थापाको कार्यकक्षमै विष सेवन गरे । भट्टराईलाई त्यहाँ रहेका अन्य व्यक्तिले रोकेपछि ठूलो मात्रामा विष सेवन गर्न सकेनन् । तर आफ्ना पूर्वकमाण्डरअघि पूर्वमाओवादी लडाकूको आत्महत्या प्रयासलाई पूर्व माओवादी लडाकूमा झाङ्गिएको चरम निराशाको अभिव्यक्तिको रूपमा बुझ्नुपर्दछ । नेतृत्व सैद्धान्तिक रूपमा स्खलित भएर पार्टीलाई रछ्यानमा मिल्काएपछि कार्यकर्तामा आएको निराशाका कारण भट्टराईजस्तै धेरै पूर्वकार्यकर्ता मर्नु न बाँच्नुको दोसाँधमा छन् । एक त संशोधनवादी र अवसरवादी भन्दै आएको एमालेसँगको एकताका कारण धेरै माओवादी कार्यकर्तालाई अहिलेको नेकपा ‘नखाऊँ दिनभरिको सिकार, खाउँ कान्छो बाउको अनुहार’ भइरहेको छ । अर्कोतिर नेकपाभित्रै पनि युद्धको समयमा ज्यान हत्केलामा राखेर जीवन समर्पण गरेका कार्यकर्तालाई भन्दा चिप्लो कुरा गरेर नेताको चाकडी गर्नसक्ने चाप्लुसीको हातमा पुग्दा इमानदार कार्यकर्तामा राजनीतिप्रति वितृष्णा बढिरहेको छ ।
व्यापक जनतालाई राजनीतिक र सैद्धान्तिक रूपमा सचेत नबनाई सत्ताको केन्द्रमा पुग्ने राजनीतिक महत्वाकाङ्क्षा पूरा गर्न थालिएको सशस्त्र विद्रोह आत्मसमर्पणमा टुङ्ग्याउँदाको अन्तिम परिणाम आज माओवादी नेताहरूले सामना गरिरहेका छन् । केही महिनाअघि संरा अमेरिका भ्रमण गएका माओवादीका पूर्वनेता बाबुराम भट्टराईको विरोधमा ठाउँ–ठाउँमा प्रदर्शन गरिएका थिए । हजारौं नेपाली युवाको रगत बगाएर पनि नेपालमा कुनै प्रकारको परिवर्तन गर्न नसकेको बरू देशको राजनीतिक परिस्थिति दिनानुदिन बिग्रँदै जानुको निराशा र आक्रोश जनताले व्यक्त गरेका हुन् ।
एमालेको बल्खु कार्यालयमा राजवंशी थरका एक जना कार्यकर्ताले आत्महत्या गरेको समाचार धेरैको मानसपटलबाट हटिसकेको छैन । नेताहरूले पक्षपात गरेको भन्दै उनले पार्टी कार्यालयभित्रै आत्महत्याको बाटो रोजे । पार्टी कार्यकर्तालाई राजनीतिक र सैद्धान्तिक रूपमा सचेत र सङ्गठित नबनाई राजनीति भनेको पद, पैसा र सुविधाको लागि गर्ने हो जस्ता कुसंस्कारको बिजारोपणको अन्तिम परिणाम भनेको या त अवसरको निम्ति छिनाझम्टी हो अथवा निराशाका यस्तै अभिव्यक्ति हुन् । आफूलाई कम्युनिष्ट दाबी गरेका दुई पार्टीको सन्दर्भमा भएका यी घटनाले वास्तवमा ती पार्टीका नेताहरूले कार्यकर्तालाई समाज परिवर्तनका सचेत योद्धाको रूपमा नभई आफ्नो राजनीतिक महत्वाकाङ्क्षा पूरा गरिदिने ज्यावलको रूपमा मात्र प्रयोग गरिएको देखिएको छ । एकातिर आफूलाई देखाइएको सपना बीचमै तुहाउनु र अर्कोतिर नेताहरूले पूर्वप्रतिबद्धताभन्दा फरक विलासी जीवनयापन गर्दा कार्यकर्ता र समर्थकले चरम निराशा र वितृष्णाको बाटो रोजेका छन् ।
बोली एउटा र व्यवहार अर्को गर्ने जो कोही नेताले जनताबाट अन्ततः पाउने भनेको घृणा र वितृष्णा नै हो । माओवादी नेताहरू युद्ध पूर्वका प्रतिबद्धता त कता हो कता, शान्ति सम्झौतामा आएपछिका नेताका अभिव्यक्ति पनि क्षण–क्षणमा बदलिरहेका छन् । नेताहरूमा सर्वहारा वा कम्युनिष्ट चरित्र देखिएन ।
बरू ‘कम्युनिष्ट’ नेताहरूले सुविधा भोगमा पुँजीवादी नेताहरूलाई समेत उछिनेका छन् । उनीहरूको ढोङ्गप्रति जनताको वितृष्णा आज विभिन्न रूपमा अभिव्यक्त भइरहेका छन् । गृहमन्त्रीको कोठामा विष सेवनको प्रयास र बाबुरामलाई कालो झण्डा यसैका अभिव्यक्ति हुन् । जे रोपिन्छ, त्यहीअनुसारको फल लाग्ने हो । सिस्नु रोपेर तुलसीको अपेक्षा गर्नु गलत हो ।
Leave a Reply