भर्खरै :

आठौँ राष्ट्रिय खेलकूद निर्धारित मितिमै हुने

राँझा, ७ मङ्सिर  ः राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता निर्धारित मितिमै हुने जानकारी दिनुभएको छ ।
आज यहाँ आयोजित पत्रकार भेटघाटमा सदस्यसचिव बिष्टले आगामी माघ २५ देखि फागुन ३ गतेसम्मको निर्धारित मितिमै प्रतियोगिता हुने बताउनुभयो । “माघदेखि पछाडि सार्नुपर्ने कुनै कारण नै छैन, धेरै पर जाने सुविधा पनि हामीलाई छैन”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार र तयारीको अभाव हुनेछैन निर्धारित मितिमा नै आफ्नै पूर्वाधारमा प्रतियोगिता हुनेछ ।”
सदस्य सचिव बिष्टले पूर्वाधार निर्माणका आधारमा ६० प्रतिशत काम सम्पन्न भए पनि पुस मसान्तसम्म अधिकांश निर्माण कार्य सकिने उल्लेख गर्नुभयो । प्रतियोगिता उद्घाटनस्थल नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य माघको पहिलो साता पूरा हुने उहाँले जानकारी गराउनुभयो । पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा गरिसकिएकाले समयमा नै काम नसके निर्माण व्यवसायी कार्वाहीको भागिदार हुने उहाँको भनाइ थियो । प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालासहित प्रदेश ५ का बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र पाल्पामा भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *