भर्खरै :

चौथो चरणका खेलहरु मङ्सिर १० देखि

काठमाडौँ, ८ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जीत हात पारेको छ ।
हल्चोकस्थित एपिएफ क्लबको मैदानको खेल मैदानमा भएको अन्तिम खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । हिमालयन शेर्पाको जीतमा कर्ण लिम्बूले दुई गोल गरे । जावलाखेलले भने आत्मघाती उपहार पाएको थियो ।
मध्यान्तरअघि गोलरहित बराबरीमा सकिएको खेलको ६६ औँ मिनेटमा लिम्बूले गोल गर्दै शमिालयन शेर्पालाई अग्रता दिएका थिए । लिम्बूले नै खेलको ७५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औँ मिनेटमा हिमालयनका आशिष गुरुङले आत्मघाती गोल गर्दा जावलाखेल २–१ को स्थितिमा आयो । त्यसपछि खेलमा गोल हुन सकेन र हिमालयनले खेल २–१ ले जीत्न सफल भयो ।
खेलमा हिमालयन शेर्पाका लिम्बू म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जीतसँगै हिमालयन शेर्पाले लिगमा दोस्रो जीत निकाल्दै दुई जीत तथा एक बाराबरीका साथ अङ्क तालिकामा सात अङ्क जोड्दै चौथो स्थानमा उक्लेको छ । जावलाखेलको भने यो लगातार तेस्रो हार हो ।

सरस्वती क्लब विजयी

सरस्वती युथ क्लबले यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जीत हात पारेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० गोलले पराजित गरेको हो । सरस्वतीको जीतमा १३ औँ मिनेटमा विदेशी खेलाडी भिक्टोरले गोल गर्दै अग्रता बनाएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएका सरस्वतीले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ७३ औँ मिनेटमा अर्का विदेशी खेलाडी इब्राहिमले गोल गरे । त्यस्तै ८३ औँ मिनेटमा विदेशी खेलाडी साचिईले गोल गर्दै सरस्वतीको जित सुनिश्चित गरे ।
जितपछि सरस्वतीले लिगमा पहिलो जीत दर्ता गर्दै तीन अङ्क जोडेको छ । यसअघि सरस्वती लिगको पहिलो खेलमा सङ्कटा क्लबसँग १–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा हिमालयन शेर्पासँग १–० ले नै पराजित भएको थियो ।
फ्रेन्ड्सले लिगमा लगातार तेस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा थ्री स्टार र दोस्रो खेलमा एपिएफसँग पराजित भएको थियो ।
यसैबीच आजको खेलसँगै लिगका तेस्रो चरणका खेलहरू सकिएका छन् । अब यही मङ्सिर १० गतेदेखि चौथो चरणका खेलहरू हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
चौथो चरणको पहिलो खेलमा यही मङ्सिर १० गते त्रिभुवन आर्मी र सङ्कटा क्लब प्रतिष्पर्धा गर्नेछन् । सोही दिन दोस्रो खेलमा न्युरोड टिमी (एनआरटी)ले थ्रीस्टार क्लबको सामना गर्नेछ । दुवै खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । सोही दिन हुने तेस्रो खेलमा च्यास युथ क्लबले नेपाल पुलिसको सामना गर्नेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *