नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
आइतबार नोभेम्बर २५ का दिन सरकारले महिला हिंसाविरोधी दिवसको अवसरमा कुनै कार्यक्रम गरेन । दैनिकरूपमा महिला हिंसा र बलात्कारका घटनाका समाचारको ओइरो लागेको समयमा सरकारले महिला हिंसाविरोधी दिवस मनाउने साहस गरेन । देशको सर्वोच्च पदमा महिला भएको देशमा महिला हिंसाविरोधी दिवस किन मनाइएन ?
शासक दलले एकाध महिलालाई राज्यका केही महत्वपूर्ण पदमा पु¥याउनुलाई नै महिला मुक्तिको रूपमा परिभाषा गरे । दुःखको कुरा त शासक दलका महिलाहरू आफूमध्ये कोही महिला केही पदमा पुग्ने बित्तिकै चित्त बुझाएर बसे । तर अझै पनि व्यापक महिला शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत सेवाबाट वञ्चित भएको यथार्थलाई उनीहरूले ढाकछोप गर्न खोजिरहेका छन् । आफू भलो त जगत भलो भनेजस्तै सत्तासीन दलका महिलाहरूले सत्ताको न्यानोलाई नै आफ्नो मुक्तिको रूपमा अथ्र्याए ।
महिला हिंसाको मूल कारण मूलतः उत्पादन क्षेत्रमा महिलाको नेतृत्व र संलग्नताको कमी नै हो । आर्थिक उत्पादनमा महिलाको समान हिस्सेदारी नहुँदासम्म महिलालाई समाजको दोस्रो दर्जा मान्ने पुरानो चिन्तनले निरन्तरता पाइरहनेछ । त्यसकारण महिला हिंसाको अन्त्यको लागि उत्पादनका हरेक क्षेत्रमा महिलालाई समान सहभागिताको ग्यारेन्टी गरिनुपर्दछ । महिला भएकै कारण कुनै पनि प्रकारको विभेद अन्त्य गर्नु नै महिला मुक्तिको पहिलो खुडकिलो हुनसक्छ ।
सबै क्षेत्रमा बिनाविभेद महिला सहभागिता सुनिश्चित गर्न महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता क्षेत्रमा समान अवसर र अझ कतिपय सन्दर्भमा त महिलालाई विशेष अधिकार दिइनुपर्दछ ।
नेपालजस्तो सामन्ती चिन्तनको अझै पनि बलियो जग बाँकी रहेको देशमा यतिमात्र हुनुले महिलामाथिको विभेद अन्त्य हुनसक्दैन । युगौंदेखि समाजमा बलियो जरा गाडेको महिलाविरोधी सामाजिक मूल्यमान्यता तोड्न आर्थिक आयाममात्र अपुग हुनसक्छ । आर्थिक समानताको जगमा सांस्कृतिक आन्दोलनले मात्र महिलाविरोधी अवैज्ञानिक मूल्यमान्यता भत्काउन सक्दछ । कतिपय त्यस्ता मूल्यमान्यता समाजमा यति जब्बर भएर बसेको हुन्छ, स्वयं दमित महिलालाई त्यसको विरोधमा उतार्न धेरै समय लाग्न सक्दछ ।
निरपेक्ष महिलावाद महिला आन्दोलनभित्र पसेको पुँजीवादी महिलावाद हो । पुँजीवादी महिलावादले महिलामाथिको सामाजिक–सांस्कृतिक उत्पीडन अन्त्य गर्ने होइन, बरू नयाँ रङ्गको सिक्रीले बाँध्नेमात्र गर्दछ । मुक्तिको नाममा नयाँ सिक्रीबाट बाँधिनु महिलाको मुक्ति होइन । निःसन्देह महिला स्वर्य सामाजिक वर्ग होइन । महिलाभित्र पनि उत्पीडित र उत्पीडक महिला छन् । उनीहरूको परिभाषामा महिला मुक्तिको अर्थ आफ्नो वर्गका महिलालाई पुरूष सरहको ‘स्वतन्त्रता’ हो । नत्र उत्पीडित महिलामा जागरण उनीहरूको चाहनाभन्दा परको कुरा हो ।
तर उत्पीडित महिलाको मुक्तिबारे माक्र्सवादी सिद्धान्त नै वैज्ञानिक सिद्धान्त हो । कामदार वर्गकै एउटा हिस्सा भएको हुनाले कामदार महिलाको आधारभूत सङ्घर्ष वर्गीय मुक्तिको लागि हुनुपर्दछ । तर वर्गीय आन्दोलनभित्रै पनि सामाजिक प्रतिबिम्ब झल्किने हुनाले महिलाले वर्गसङ्घर्षको मैदानमै महिला मुक्तिको सङ्घर्षलाई पनि जोड्नुपर्ने हुन्छ ।
कामदार वर्गकै केही महिला सत्तामा पुग्दैमा महिलाविरोधी सामाजिक मान्यतामा आधारभूत परिवर्तन हुनसक्दैन । आज देशमा राष्ट्रपति महिला भएर पनि महिलाविरोधी घटना अझ बढ्दै जानु यसको उपयुक्त उदाहरण हो ।
Leave a Reply