भर्खरै :

प्रक्रिया होइन, लक्ष्य महत्वपूर्ण

तिङ काङ
द न्युयोर्क टाइम्समा हालै चीनको उदयबारे केही लेखहरू धारावाहिक प्रकाशित भए । लेख शृङ्खलाको सुरूको लेखको शीर्षक थियो– ‘असफल हुन असफल भूमि’ (द ल्याण्ड द्याट फेल्ड टु फेल) । ती लेखहरूमा व्यक्त विचार त्यत्ति जटिल खालका छैनन् । ‘चीनको विकास पश्चिमा देशहरूको अपेक्षाभन्दा धेरै पर छ तर चीनको विकासको ढाँचा दिगो होइन । त्यही भएर पश्चिमाहरूले पर्ख र हेरको नीति अङ्गालेका छन् । एउटा निश्चित बिन्दुमा पुगेपछि चीन आफै ओरालो झर्नेछ ।’ सारमा लेख शृङ्खलाको आशय यही हो । पश्चिमाहरूको राजनीतिक तर्कअनुसार चीन ओरालो झर्ने त्यो दिन अवश्य आउनेछ ।
प्रष्टतः एउटा कुरा सत्य हो, पश्चिमाहरूका लागि रहस्यमयी बनेको चीनको ढोका खोल्ने चाबी खोज्नमा तल्लीन छन् । तर उनीहरूले त्यो चाबी हात पार्न सकेका छैनन् । वास्तवमा राजनीतिशास्त्र, अर्थशास्त्र आदिको स्थापित प्रणालीगत ढाँचाभित्र बितेका चालिस वर्षमा चीनले गरेको विकासको तरिका व्याख्या भइसकेको छैन ।
तर ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित ती लेखहरूको अध्ययनबाट मैले चिनियाँ जनता र पश्चिमा देशका पर्यवेक्षकहरूको मूल चासोबीचको भिन्नताबारे बुझें ।
चिनियाँहरू परिणाममुखी छन् । चालिस वर्षअघि चीनले खुलापन र सुधारको नीति अवलम्बन गरेदेखि त्यो नीतिको परिणाम निकाल्न खोज्नमा चीनले ध्यान केन्द्रित ग¥यो । तर पश्चिमाहरूले भने कुनै पनि कामको प्रक्रिया र स्तरको कुरालाई नै बढी जोड दिने गरेका छन् ।
सुधार र खुलापनको सुरूमा चिनियाँ नेता तङ स्याओपिङले भनेको भनाइ निकै चर्चित बन्यो, “बिरालोले मुसा मारेसम्म त्यसको रङ्ग कालो वा सेतो हुनुसँग कमैमात्र अर्थ राख्दछ ।” अर्को शब्दमा लक्ष्य हासिल गर्नुप¥यो, त्यसको लागि तपाईंले कुन माध्यम प्रयोग गर्नुभयो भन्ने कुरा प्रधान हुने गर्दैन ।
यो विचारले चीनको विकास प्रक्रियामा टेवा पु¥याएका धेरै अनुसन्धानमूलक र व्यावहारिक समाधान दिएका छन् तर पश्चिमाहरूले कुनै पनि कामको परिणाममा भन्दा पनि विकासको माध्यम र त्यसले धानेको स्तरलाई ज्यादा महत्व दिने गरेका छन् । उनीहरू प्रजातन्त्र, स्वतन्त्रता र समृद्धि हासिल गर्न एउटा स्तरीय माध्यमको आवश्यकता पर्ने र त्यसको लागि निश्चित प्रणालीको विकास गर्नुपर्ने कुरामा विश्वास गर्छन् । पश्चिमाहरूले आफ्ना कैयौं वर्षको अनुभवबाट सिकेको कुरा यही हो ।
यो कुरालाई एउटा आधुनिक घर निर्माणसँग जोडौं । चिनियाँहरूले आफ्नो घर बनाउन आधारभूत कुरा त पश्चिमबाट नै सिकेका हुन् । तर निर्माण कार्य अघि बढ्दै गर्दा पश्चिमा प्रविधिमात्र चीनको निर्माण पर्याप्त नभएको चिनियाँहरूले महसुस गरे । त्यसको निम्ति चिनियाँ वास्तविकतामा आधारित समाधान खोज्नेतिर चिनियाँहरू लागे । अन्ततः एउटा बलियो घरको निर्माण सम्पन्न भयो ।
तर पश्चिमाहरू भन्दैछन्, तिमीहरूले भवन बनाउन उचित तरिका र स्तर कायम नगरेको हुनाले त्यो घर कसरी बलियो हुनसक्छ ?
यो अवस्थाको तुलना चिनियाँ कम्पनीहरूले विदेशमा भोगेको अवस्थासँग तुलना गर्न सकिन्छ । ट्रिनिद्याक र टबेगोमा चिनियाँ कम्पनीहरूले काम गरिरहेको निर्माण परियोजनास्थल अवलोकन गर्ने अवसर पाएको थिएँ । चिनियाँ कम्पनीका इन्जिनियरहरूले आफू काम गरिरहेको परियोजनाको डिजाइन अमेरिकी डिजाइनरले गरेको र त्यसको अन्तर्राष्ट्रिय स्तरअनुसार निर्माण भइरहेको जानकारी दिए । तथापि निर्माणको क्रममा चिनियाँ इन्जिनियरहरूले चिनियाँ प्रविधिको प्रयोग गरे । त्यसबारे अनुगमनको जिम्मेवारी दिएको कम्पनीले प्रश्न उठाएछ । उनीहरूले निर्माण प्रक्रियामा स्तर कायम राख्न नसकेको गुनासो गरेछन् ।
त्यहाँ काम गरिरहेको चिनियाँ कम्पनीले चीनमा दसकौंदेखि निर्माण कार्य गरिसकेको थियो । ठूल्ठूला परियोजनामा काम गरेर उक्त कम्पनीले अथाह अनुभव हासिल गरिसकेको थियो । जब कि त्यो कम्पनीका पश्चिमा प्रतिस्पर्धीहरू आफूले विकास गरेको प्रविधिमा असफल भइरहेका थिए । त्यो चिनियाँ कम्पनीले धेरै अनुसन्धान गरिसकेको थियो र त्यही अनुभवले उसलाई खास अन्तर्राष्ट्रिय स्तरभन्दा माथिल्लो स्तरको अनुभवी बनाइसकेको थियो ।
आखिरमा चिनियाँ इन्जिनियरहरूले स्थानीय अनुगमनकारी कम्पनीलाई निकै मेहनत गरी चित्त बुझायो अनि परियोजनाको काम अघि बढायो । त्यो निर्माण अझ बलियो भएको कालान्तरमा महसुस गरियो । फलतः चिनियाँ प्रविधि भरपर्दो भएको पुष्टि भयो ।
लक्ष्यलाई मात्र जोड दिंदा कुनै समस्या नआउने पक्कै होइन । बितेका वर्षहरूमा चीनको विकासमा धेरै विषयलाई उपेक्षा गरिएको छ । तर पछि जब चीनले आफ्नो लक्ष्य निक्र्यौल गर्न सफल भयो, आइपरेका समस्याको समाधान गर्न सहज भयो । वातावरणीय संरक्षणको सन्दर्भमा पनि यही सिद्धान्तले काम ग¥यो । अब चीनले विगतको तीव्र विकासका क्रममा भएका गल्ती, कमजोरीको समीक्षा गरी समाधान गर्नुपर्छ ।
आज चीनले निकै गम्भीर चुनौतीको सामना गरिरहेको छ । ती चुनौतीसँग जुझ्न आफ्नो अनुभवमा मात्र भर परेर हुने अवस्था छैन । चीनले लचिलो र व्यावहारिक उपाय अवलम्बन गर्नु जरुरी छ । समयसँगै अघि बढ्नु नै चिनियाँ हुनुु हो ।
त्यसकारण पश्चिमाहरू चीनमा समाधान गर्न असम्भवजस्तो देखिएका केही विषयमा जोड दिइरहेको अवस्थामा चिनियाँहरूले समस्याको समाधान निकाल्ने र दिगो विकासको बाटो खोज्न थाल्नुपर्छ । यसको निम्ति चीनले आफ्नै अनुभवबाट र पश्चिमा देशसँग सिक्न जरुरी छ ।
(लेखक पिपूल्स डेलीका वरिष्ठ सम्पादक र रेनमिन विश्वविद्यालयका अध्येता हुन् ।)
स्रोतः ग्लोबल टाइम्स
अनुवादः सुशीला

Leave a Reply

Your email address will not be published. Required fields are marked *