भर्खरै :

रुसद्वारा युक्रेनका तीन सैनिक जहाज कब्जा

किभ, १० मंसिर। रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाज नियन्त्रणमा लिएको छ । रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसङ्घीय सुरक्षा परिषदको आपत्कालीन बैठकका लागि सोमबार नै अनुरोध गरेको छ ।
युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको जनाएको छ । रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाज अनधिकृतरुपमा प्रवेश गरेको जनाएको छ ।
दुईवटा युक्रेनी साना युद्धपोत र एउटा टगबोट कर्च स्ट्रेटहुँदै आइतबार अगाडि बढेपछि यो सङ्कटको पटाक्षेप भएको थियो । कर्च स्ट्रेट एउटा साँघुरो प्रवेश क्षेत्र हो जहाँबाट युक्रेन र रुस दुवैले प्रयोग गरिआएको अजोभ सागरमा प्रवेश गर्न सकिन्छ । अजोभ सागर दुवै देशको साझा हो ।
युक्रेनले एउटा रुसी सीमा सुरक्षा जहाजले टगबोटमा एकाएक आक्रमण गरेको र त्यसपछि तीनवटै जहाज नियन्त्रणमा लिएको जनाएको छ ।
युक्रेनले कर्च स्ट्रेटको साँगुरो जलमार्गमा रुसले ट्याङ्कर तेस्र्याएर बाटो अवरुद्ध गरेको जनाएको छ । यो क्षेत्रमा रुसी सैनिक विमानले आकाशबाट गस्ती गरिरहेको युक्रेनले बताएको छ ।
युक्रेनमा उत्पन्न तनावका बारेमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपतकालीन बैठक सोमबार बस्न लागेको राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीले बताउनुभयो । यो बैठकका लागि रुस र युक्रेन दुवैले अनुरोध गरेको कुटनीतिक स्रोतहरूले बताएका छन् ।
यहीबीच, युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले मुलुकमा अरु ६० दिन सैनिक कानुन लगाउने वा नलगाउने भन्ने विषयमा छलफल गरी मतदान गर्न संसद् समक्ष आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद्को सैनिक परिषद्ले सैनिक कानुनको आवश्यकता रहेको निर्णय गरिसकेको छ ।
राष्ट्रपति पोरोशेन्कोले रुसीको आक्रमण भूलवश नभएको बताउँदै यो घटना नियतवश भएको र युक्रेनलाई स्थायित्व खल्बल्याउने उद्देश्यबाट प्रेरित रहेको चर्चा गर्नुभयो ।
युक्रेनले रुसी आक्रमणबाट छ जना सैनिक घाइते भएको, र तीमध्ये दुइजना गम्भीर रहेको बताएको छ । तर रुसको एफएसबीले तीनजना मात्र सामान्य घाइते भएको जनाएको छ । उनीहरूको उपचार गरिएको छ ।
किभमा रुसी राजदूतावास बाहिर उक्त आक्रमणको विरुद्धमा आइतबार राति प्रदर्शन गरिएको छ ।
कीभका पश्चिमी गठबन्धन राष्ट्रले रुसको पछिल्लो आक्रमणप्रति आपत्ति जनाएका छन् । युरोपेली युनियनले एक वक्तव्य जारी गर्दै कर्च स्ट्रेटको बाटो पुनस्र्थापित गर्न रुससँग आग्रह गरेको छ । वक्तव्यमा परिस्थितिलाई अरु भड्किन नदिने दुवै पक्षबाट संयम अपनाउन भनिएको छ ।
नेटोले पनि परिस्थितिलाई जतिसक्दो चाँडो साम्य बनाउन आग्रह गर्दै अन्तर्राष्ट्रिय कानुनबमोजिम अजोभ सागरमा युक्रेनी बन्दरगाहसम्मको सहज पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ ।
रुसले क्राइमिया प्रायःद्वीपलाई सन् २०१४ मा रुसमा विलय गरेसँगै क्राइमियाको जलक्षेत्रमा आफ्नो प्रभूत्व रहेको दाबी गरिआएको छ । (एएफपी) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *