भर्खरै :

तेक्वान्दोको दुवै सङ्घ विघटनको तयारी

– कुमार चौलागाईं
काठमाडौं, १० मंसिर । लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी सुरु गरेको छ ।
परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो सङ्घ (नेपाल) को विघटन प्रक्रिया अगाडि बढाएको हो । खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म दुई सङ्घबीच विवाद आएपछि सङ्घलाई कार्तिक २७ गते परिषद्ले विवाद सल्टाउन सातदिने पत्र काटेको थियो । पत्रमा राखेपले समान हैसियत र अस्तित्वमा रहेका दुवै सङ्घलाई मिलेर जान अल्टिमेटम दिएको उल्लेख छ । राखेपले दुवै सङ्घलाई लेखेको पत्रमा दुवै सङ्घ मिल्न नसकेको अवस्थामा माघमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकुदको जिल्ला, प्रदेश र केन्द्रीय छनोट प्रभावित हुने उल्लेख छ ।
आठौं राष्ट्रिय खेलकूद आगामी माघ २२ गतेदेखि आयोजना हुने तय भएको छ । राखेपको ११० औं बोर्ड बैठकले दुई तेक्वान्दो सङ्घलाई आपसी छलफल गरी विवाद समाधान गराउन निर्णय भएको र सो निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको थियो । अहिले विश्व तेक्वान्दो महासङ्घले सम्बन्धन दिएको प्रकाश शम्शेर राणा नेतृत्वको नेपाल तेक्वान्दो सङ्घ र शिव कोइराला नेतृत्वको नेपाल तेक्वान्दो युनियन अस्तित्वमा छन् । दुवै सङ्घ अहिलेसम्म सकारात्मक नदेखिँदा तेक्वान्दोको विवाद सधैंका लागि समाप्त पार्न विघटन नै गर्नुपर्ने अवस्था आएको परिषद् स्रोतले जनाएको छ ।
परिषद्का सदस्य सचिव केशवकुमार विष्टले दुवै सङ्घका पदाधिकारीलाई आपसी छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दै भन्नुभयो, “उहाँहरूबीच जुँगाको लडाइँ चलिरहँदा परिषद् चुप लागेर बस्दैन । हामी कठोर निर्णय लिन बाध्य हुन्छौं । अझै पनि दुई सङ्घका पदाधिकारीबीच छलफल होस् भन्ने चाहन्छौं ।” सहमतिका लागि दुई महिना समय दिन सकिने उहाँको भनाइ थियो । “त्यसपछि पनि उहाँहरूले केही निकास दिनुभएन भने हामी दुवै सङ्घ विघटन गर्छौं, परिषद्लाई विघटनको अधिकार छ,” राखेप सदस्य सचिव विष्टले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *