भर्खरै :

हाम्रै वरपरकी तोत्तो—चान

रुपकेशरी उलक
— मामु ! म आज कति वर्ष ?
— ६ वर्ष ।
— अनि भोलि नि ?
— ६ वर्ष ।
— ईऽऽऽऽ अनि पर्सी नि ?
— पर्सी पनि ६ नै वर्ष ।
— ईऽऽऽऽऽ कहिले सम्म ६ वर्ष नि ?
— यो वर्षभरि नै ६ वर्ष हुन्छौ ।
एउटी सानी फुच्चीले आफ्नी आमासँग सोधेका अनौठा प्रश्नहरु सुनिरहँदा संयोग नै सही मेरो हातमा ‘तोत्तो चान’ किताब थियो । सानी–सानी फुच्चीले आफ्नी आमालाई झिँजोल्दै आफ्नो उमेर नबढेकोमा गरेका प्रश्नहरु साँच्चै अबोध खालका थिए । उनीहरुलाई मैले झ्यालैबाट टाढासम्म पछ्याई रहेँ । बच्चीले सायद यस्तै कति प्रश्नहरु गरेर आफ्नी आमालाई हैरान पार्दी हुन् !
‘तोत्तो चान’ भित्र पनि यस्तै एउटी बच्चीको कहानी छ । उनको नामै तोत्तो—चान हो । बालमनोविज्ञानलाई बोकेको यो कृति प्रत्येक अभिभावक र शिक्षकहरुका निम्ति खुराक बन्न सक्छ । बच्चाहरुको आफ्नै किसिमको सोचाइ र परिवेश हुन्छ, जुन ठूलाका निम्ति सामान्य र महत्वहीन हुन्छ तर उनीहरु त्यसैभित्र डुबेका हुन्छन् । ठूला मानिसहरुको कल्पनाभन्दा गहिरो कल्पनाक उनीहरु गरिरहेका हुन्छन् ।

नेपाली अनुवाद


‘तोत्तो चान’ सानी छँदा उनलाई स्कूलबाट निकालिनु,उनकी आमाले नयाँ स्कूलमा भर्ना गराउनु, नयाँ विद्यालयको परिवेश र हेडमास्टरको बालसुलभ व्यवहार आदिको सिलसिलावार वर्णन तोत्तो—चान आफै ठूली भएपछि गरेकी छिन् जसको खुलासा पुस्तकको अन्तिम परिच्छेद ‘लेखिसकेपछि ’ शीर्षकमा हुन्छ । “तोत्तो—चान झ्यालमा रमाउने त्यो सानी केटी” जापानी लेखक तेच्चुको कुरोयानागीरको डा. सरोज धितालद्वारा अनुवादित कृति हो । पुस्तक पढ्दै गर्दा मैले निक्कै पल्ट आफ्नो उमेर सोध्ने बच्चीलाई सम्झेँ अर्थात यो पुस्तक कुनै विदेशीको कहानी जस्तो लागेन । देश जुनसुकै होस्, भाषा जस्तोसुकै होस् तर बालबालिकाहरूको मनोविज्ञानमा भिन्नता नहुने रहेछ । तोत्तो—चान जस्तै धेरैलाई आफ्नै वरपर पाएँ ।
तोत्तो—चानले कक्षामा डेक्स मात्रै बजाई रहनु, कक्षाको झ्यालैमा मात्र टाँसिएर बस्नु ,चराचुरुङ्गीसित गरेको बुझकी संवाद आदिको वर्णन मन लोभ्याउने खालको छ । अनौठा क्रियाकलाप गर्ने बच्चाहरूबाट सामान्य शिक्षक हैरान हुँदा रहेछन् तर विशिष्ट शिक्षकहरूले ती बच्चाहरूलाई नै विशिष्ट बनाइदिँदा रहेछन् । तोत्तो—चानको नयाँ स्कूलका हेडसर(कोबायाशी)ले यस्तै प्रमाणित गरिदिए ।
अमेरिकाले जापानमाथि सिलसिलावर रुपमा बमबारी गरी आक्रमण गरिरहँदा तोत्तो—चान पढ्ने एउटा सानो स्कूल (तोमोएगाकुएन्)मा भने बच्चाहरू सुन्दर भविष्यको आशामा रमाइरहेका रहेछन् । हेर्दा सामान्य लाग्ने तर असाधारण चिन्तन रहेको त्यो स्कूल र त्यहाँका हेडमास्टरको खुबी तारिफयोग्य छ । समुद्रबाट अलिकति र जमिनबाट अलिकति(खाना)को चिन्तन अनि बालसुलभ ढङ्गको निर्देशन, बच्चाहरूको स्वैच्छिक क्रियाकलापमा जोड दिने कुरा र उनीहरूभित्रै अनुशासन र आत्मविश्वास निर्माणको पहल आदि कुराहरू पुस्तकभित्र वर्णित अनुकरणीय खुराक हुन् ।

आफ्नो उमेर सोध्ने सानी बच्ची अहिले कहाँ होलिन् ? उनकी आमा र शिक्षकहरूले पनि तोत्तो—चान पढिदिए कसो होला ! माया, प्रेम र अनुशासनको बारीमा हुर्कने फुच्चा–फुच्चीहरुको सुन्दर जीवनको चाहना र उनीहरूकै हेराइ र बुझाइमा पठनपाठन गरे असल अभिभावक बनिने ज्ञान पुस्तकभित्रको मियो हो

‘घाइतेहरूसँगको भेटघाट’ शीर्षकको घटना वर्णनले भने साँच्चिकै पाठक मन रुवाउन सक्छ । तोत्तो—चानले घाइते सिपाहीहरूलाई हँसाउन गाएको गीतले सिपाहीले बर्बर्ती आँसु झार्दै रुनु आफैमा मार्मिक छ । सिपाहीको आँसु गीतको भावले होइन बरु तोत्तो—चानभित्रको आफुहरूप्रतिको सम्मान र उसको अबोधपनाका कारण झरेको कुरा बुझन पाठकलाई कति नि गाह«ो हुन्न । त्यहाँ तोत्तो चानले गाएकी हुन्छे —“खाउ खाउ साथी हो चपाएर खाउ……
मासु भात माछा सबै चपाएर खाउ ”
सिपाही रोएको कारण खुलाउँदै लेखक आफै लेख्छन् —“किन उसको आँखामा आँसु आयो, ती सिपाहीलाई मात्रै थाहा होला । उनको पनि घरमा तोत्तो—चान जस्तै छोरी हुन सक्छे । अथवा, उसले जानेसम्म मीठो गरी उनको निम्ति गाइदिएकोले उनी भावुक भएको पनि हुनसक्छ । लडाइँको मोर्चामा हुँदा उनीहरू सबै भोकको शिकार भएको सम्झनाले पो हो कि ! अब तुरुन्तै ‘राम्ररी चपाउन’ केही बाँकी नरहने सम्भावना भएको बेला ‘राम्ररी चपाउ’ भन्ने यो केटीबारे सोचेर पनि हुनसक्छ । निकट भविष्यमा नै यी केटाकेटीहरूलाई कति भयावह स्थितिले निल्दैछ भन्ने कुराको हेक्का ती सिपाहीलाई भइसकेकोले पनि हुनसक्छ ।
आ—आफ्ना लेख पढिरहेका ती केटाकेटीलाई त्यो बेला थाहा नहुन सक्छ —तर त्यतिञ्जेल प्रशान्त महासागर वरिपरिको क्षेत्रमा शुरु भएको भीषण लडाईँ निकै अघि बढिसकेको थियो ।” पुस्तकभित्रका यस्ता वाक्यहरुले पाठक मन थाहै नपाई हल्लाई दिन्छ । हाम्रै देश पनि कति पो शान्त छ र, देशै लुटिन सक्ने सम्भावनाका बीच अघोषित लडाईँको माझमा हामी छौँ ।
तोमोयो स्कूलमा तात्तो—चानले हरेक कुरा सिक्यो, पाठ्यपुस्तकले सिकाउने भन्दा बढी । तोमोयामा बच्चाहरूको सुन्दर सपना बन्दै थियो तर त्यहि पनि अमेरिकीहरूको तारो बनेछ । अनायासै आगोमा जलेर अङ्गार बनेको घटनाले कसको पो मन ननिमोठिन्थ्यो र सायद बम फ्याँकने हातहरु संवेदनाहीन मान्छेहरुको हुनुपर्छ ।

अनुवादक


समग्रमा भन्दा ‘तोत्तो—चान’ पुस्तकले जापानको सानो इतिहास पनि बोकेको छ । जीवन भोग्ने पात्र आफैले गरेको घटनाको वर्णन यसको विशेषता हो । बालमनोविज्ञानलाई बुझ्न यसले सहयोग गर्छ, साथै परिस्थिति र आवश्यकतामा कठिनाइ र समस्याहरूसँग जुध्न सक्ने बालमनोबललाई पनि चिनाउँछ ।
सुगठित पुस्तकमा डुबुल्की मार्न पाउँदा पाठक मन चङ्गा भएको छ । पुस्तककी नायिका तोत्तो—चानका रोचक क्रियाकलापहरूको वर्णन गरी साध्य छैन । कहिले हाँसो त कहिले रुवाई सबै कुरा तोत्तोले सानैमा भोगिन् । अशान्त देशका शान्त बच्चाहरूमा क्रमशः हमला हुनु र त्यसबाट अलिकति पनि विचलित नभई क्रियाशील रहेका हेडमास्टरको चिन्तनले नेपाली शैक्षिक परिवेश प्रभावित हुनुपर्छ ,कारण तोत्तो—चानजस्ता संवेदनशील बालबालिकाहरू उपयुक्त संरक्षण नपाएर अल्मलिएका छन् । कति अभिभावक र शिक्षकहरूले उनीहरूको संवेदनालाई चिन्नै सकिरहेका छैनन् ।

लडाइँको मोर्चामा हुँदा उनीहरू सबै भोकको शिकार भएको सम्झनाले पो हो कि ! अब तुरुन्तै ‘राम्ररी चपाउन’ केही बाँकी नरहने सम्भावना भएको बेला ‘राम्ररी चपाउ’ भन्ने यो केटीबारे सोचेर पनि हुनसक्छ । निकट भविष्यमा नै यी केटाकेटीहरूलाई कति भयावह स्थितिले निल्दैछ भन्ने कुराको हेक्का ती सिपाहीलाई भइसकेकोले पनि हुनसक्छ ।

यसले प्रत्येक बालबालिबाको मनोविज्ञानका आधारमा व्यवहारिक हुन सिकाएको छ । तोत्तोको रकी(कुकुर) हराउँदाको क्षण,उसले रकीसँग गर्ने क्रियाकलाप, अनायासै रकीले गरेको दुर्घटनापछि तोत्तोको प्रतिक्रिया आदिले मनलाई अझ हल्लाइदिन्छ ।
नेपाली पाठकहरूलाई यति राम्रो पुस्तक पस्किदिनु भएकोमा अनुवादक डा. सरोज धितालज्यूप्रति आभार । जापानको असाधारण विद्यालयको रोमाञ्चकारी घटना र त्यहाँकी असाधारण बच्चीका क्रियाकलापहरू हाम्रा निम्ति नमूना बनेका छन् । पुस्तक समस्या, समाधान, संवेदना, रोमाञ्चकता, चिन्तन र आशाको थैलो जस्तै लाग्यो ।
आफ्नो उमेर सोध्ने सानी बच्ची अहिले कहाँ होलिन् ? उनकी आमा र शिक्षकहरूले पनि तोत्तो—चान पढिदिए कसो होला ! माया, प्रेम र अनुशासनको बारीमा हुर्कने फुच्चा–फुच्चीहरुको सुन्दर जीवनको चाहना र उनीहरूकै हेराइ र बुझाइमा पठनपाठन गरे असल अभिभावक बनिने ज्ञान पुस्तकभित्रको मियो हो । लेखक, अनुवादक, सम्पादक र प्रकाशक सबैलाई धन्यवाद ।
(समीक्षक नेपाली साहित्यको विद्यार्थी हुनुहहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *