भर्खरै :

साँस्कृतिक गुरु श्रीगोपाल प्रजापतिको भव्य अभिनन्दन

परम्परागत नृत्य र वाद्यवाधनका वरिष्ठ प्रशिक्षक साँस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई शनिबार मध्यपुर थिमिमा नागरिक अभिनन्दन गरियो ।
शताब्दी पुरुष साँस्कृतिक ज्ञाता सत्यमोहन जोशीले प्रजापतिलाई दोसल्ला ओढाएर र सम्मान पत्र हस्तान्तरण गरेर अभिनन्दन गर्नुभएको थियो । विसं १९८७ सालको पुसमा मध्यपुर थिमिमा जन्मनुभएका अभिनन्दित प्रजापतिले दशकौं देखि नयाँ पुस्तालाई विभिन्न परम्परागत बाजा र नृत्य प्रशिक्षण गर्दैआउनुभएको छ । भैल प्याखं, महाकाली प्याखं, लाखे प्याखं, इन्द्र प्याखं, भष्मासुर प्याखं अष्टमात्रिका प्याखं, ज्यापुज्यापुनी प्याखंलगायत विभिन्न परम्परागत नृत्य र बाजागाजाको संरक्षण तथा साँस्कृतिक गतिविधिमा उहाँको लगातारको अथक योगदानका लागि उहाँको अभिनन्दन गरिएको समारोहका आयोजक ओस्ला नेपालले जनाएको छ ।
समारोहमा संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली जनतासँग भएका परम्परागत सम्पदा र कलालाई विभिन्न अन्तर्राष्ट्रिय भाषामा रुपान्तर गरी संसारको ध्यानाकर्षण गर्नुपर्ने विचार राख्नुभयो ।

थिमिको बालकुमारी मन्दिरपरिसरमा आयोजित समारोहमा संस्कृतिविद् जोशीले महिलामाथि हुने अन्यायको प्रतिकारको रुपमा बालकुमारीको परिकल्पना भएको किवंदन्ती सुनाउनुभयो ।
अभिनन्दन मूल समारोह समितिका संयोजक मदनकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर क्षेत्र नं १ का सांसद नारायणमान बिजुक्छेंको शुभकामना मन्तव्य वाचन गरिएको थियो । समारोहमा सभासद् रामेश्वर ढुंगेल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, मध्यपुर थिमि नपाका कार्यकारी अधिकृत कमल ज्ञवालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समारोहमा सत्यमोहन जोशीले अभिनन्दित प्रजापतिले लेख्नुभएको आत्मपरिचयात्मक कृति अनवरत साँस्कतिक पाइला र समारोहको स्मारिका विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका साँस्कृतिक र परम्परागत झाँकीहरु प्रस्तुत गरिएको थियो ।
तस्वीरः अनिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *