भर्खरै :

मनाङको लगातार पाँचौ जित

काठमाडौँ, १५ मङ्सिर  ः उपाधी होडमा रहेको मनाङ मस्र्याङ्दी क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार पाँचौ जित निकालेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गरेर मनाङले लगातार पाँचौ जीत निकालेको हो । मनाङको जीतमा अञ्जन विष्ट र आफिज ओलावालेले एक एक गोल गरे ।
खेलको ५५औँ मिनेटमा अञ्जनको गोलबाट अग्रता बनाएको थियो । खेलको ६८औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । खेलमा मनाङका कमल श्रेष्ठले म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै मनाङ पाँच खेलबाट १५ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । मनाङसँग पराजित सरस्वती भने छ अङ्कसहित तालिकाको सातौंँ स्थानमा छ ।

सङ्कटा क्लब विजयी

आजै भएको पहिलो खेलमा सङ्कटा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा भएको खेलमा सङ्कटाले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सङ्कटाले तीन अङ्क जोडेको छ । सङ्कटाले खेलको २३औँ मिनेटमा पेनाल्टीबाट अग्रता लिएको थियो । सङ्कटाका फरवार्ड सेड्रिक अबाले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रस च्यासलका छिरिङ गुरुङले हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अमित तामाङले पेनाल्टीलाई गोलमा परिणत गरेका हुन् ।
त्यसैगरी खेलको ४८औँ मिनेटमा एलोन म्याक्सवेलले गोल गरेका थिए । खेलको ८७औँ मिनेटमा च्यासलले गोल फर्काएको थियो । सङ्कटाका कप्तान सरोज दाहालले च्यासलका सन्तोष साहुखललाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सन्तोषले गोल गर्दै च्यासललाई २–१ मा ल्याएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र खेल सङ्कटाले २–१ ले जित्यो । खेलमा सङ्कटाका नितिन थापा म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै सङ्कटा लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा १२ अङ्क जोड्न सफल भएको छ । च्यासल भने पाँच खेलमा तीन हार, एक जित र एक बराबरीसहित चार अङ्कमै सीमित छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *