भर्खरै :

चीन भ्रमणबारे संस्मरण – ३

नारायणमान बिजुक्छें (रोहित)
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा २०५२ भदौ ३–११ गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुभएको थियो । यसअघि उहाँले करिब दुई हप्ता प्रजग कोरियाको भ्रमण गर्नुभएको थियो । चीन भ्रमणबारे का. रोहितको संस्मरण प्रकाशित छ – सं.)
निङ्गपो बन्दरगाह (Port of Ningpo)
दिउँसो १२ बजेको थियो । हामी बन्दरगाहको कार्यालयमा पुग्यौँ । निङ्गपो बन्दरगाहको सामानको बन्दोबस्त गर्ने कार्यालय (Ningpo Port Authority Beiluom Container Terminal Co. ) का पार्टी समितिका सचिव लोऊ युनछिन (Lou Yunqing), त्यस कार्यालयको विदेश विभागको उपनिवेदर्शक लि श्युस्याङ्ग (Li Shuixing) र विदेश विभागकै फेङ्गस्याङ्ग ज्याङ्ग (Fengxiang Jang) ले हाम्रो स्वागत गर्नुभयो ।
पार्टी सचिवले अफिसमै बन्दरगाहका नक्सा र नमुना सबै देखाउनुभयो र त्यसपछि निरीक्षणमा गयौँ । बन्दरगाहमा त्यसरी सामान ओसार्ने बन्दोबस्त नजिकबाट मैले पहिलोपटक हेर्न पाएँ ।
पार्टी सचिवले भन्दै जानुभयो– ‘‘यो बन्दरगाह चीनको गहिरो पानी भएको ४ बन्दरगाहमध्ये एक हो । यहाँ ४८ वटा ५०० टन ओसार्ने द्यभचतज छन् । १० हजार टन ओसार्ने १८ वटा Berth छन् । १ लाख टन फलामे धूलो, १ लाख ५० हजार टन कोरा तेल ओसार्ने बन्दोबस्त छ । १९९४ देखि ३ र ४ लाख टन ओसार्न सक्ने गरिएको छ । यस बन्दरगाहमा ८ हजार मजदुरहरू काम गर्छन् । मजदुरहरूको तलब महिनाको १००० यानदेखि २००० यानसम्म पुग्छ, खान र बस्नलाई ४०० यान भए पुग्छ ।’’ ३१ वर्षीय दोभाषीको काम गर्ने कामरेड फेङ्ग स्याङ्गले भन्नुभयो – ‘‘सुरुमा मेरो तलब ४९ यान थियो र अहिले ७ सय यान पुगेको छ । प्राथमिक स्कूलका शिक्षकले महिनामा ६–७ सय यानसम्म पाउँछ र माध्यामिक शिक्षकले ८ सय यान पाउँछ । का. लोऊ युनछिनले मेरो प्रश्नको उत्तरमा थप्दै जानुभयो –‘‘ निङ्गपोलाई स्वतन्त्र व्यापारको क्षेत्र घोषणा गरेपछि उत्पादन बढ्दै छ र त्यस्तै मजदुरहरूको ज्याला पनि बढ्दै छ, सालाखाला हरेक मजदुरहरूले वर्षमा १५ हजार यान कमाउँछन् । पार्टी समितिहरूको साधारणसभा महिनाको एकपटक हुन्छ, मजदुर सङ्गठनहरूको बैठक हरेक हप्तामा एक–दुईचोटि बस्ने गरिन्छ । पार्टी सदस्यहरूले पार्टी साहित्य र तङ्ग श्याओ फिङ्गका रचनाहरू पनि पढ्नुपर्छ । पार्टी र मजदुर सङ्गगठनहरूका आर्थिक निर्माण, योजना समयमा पूरा गर्ने, दस्तावेजहरू पढ्ने, बरोबर माथिबाट नेताहरू आउनुहुन्छ र कक्षा सञ्चालन हुन्छ, ‘तथ्यमा सत्य खोज्ने’ मासिक पत्रिका पढ्छौँ ।’ ‘तथ्यमा सत्य खोज्ने’ भन्ने मासिक पत्रिका पहिले ‘रातो झण्डा’ भन्ने पार्टीको सैद्धान्तिक मुखपत्र हो । पार्टी गतिविधिको प्रश्नको उत्तरमा उहाँले भन्नुभयो – ‘‘पार्टीमा केन्द्रीयता पनि छ, प्रजातन्त्र पनि ।’’ निङ्गपो बन्दरगाहका कामरेडहरूलाई धन्यवाद दिँदै हामीले बिदा लियौँ र एक बौद्ध विहारतिर लाग्यौँ ।
थियान थोङ्ग विहार (Tian Tong Temple) समयको अभावमा निङ्गपोका पार्टी र मजदुर साथीहरूसँग छिट–छिटो बिदा लिँदै हामी १६०० वर्ष पुरानो ‘ शाक्य मुनि’ को तियान तोङ्गविहारको निम्ति हिँड्यौँ । ‘तियान तोङ्ग’ को शाब्दिक अर्थ सोध्दा भनियो – ‘स्वर्गकी छोरी ।’
अत्यन्त ठूलो विहारका संरक्षक हुनुहुन्छ – स्यु स्याङ्ग । उहाँ चिनियाँ भिक्षु सङ्घको उपाध्यक्ष हुनुहुन्छ । भिक्षु सङ्घको अध्यक्ष शाङघाईमा बस्नुहुन्छ । धूप र बत्ती ठाउँ ठाउँमा बालिँदै थियो । यहाँ जापानबाट पनि पहिलेदेखि धेरै भिक्षुहरू आएर दीक्षा वा शिक्षा लिन्थे । १९१४ मा तोया भन्ने एक भिक्षु यहाँबाट दीक्षित भएर फर्केपछि उनले जापानमा जोड्ङ्ग भन्ने नयाँ धार्मिक सम्प्रदाय (Sect) नै स्थापना गरेका थिए ।
६५ वर्षीय भिक्षु स्यु स्याङ्गले शाक्य मुनि आफ्नो विहारमा नेपाली मित्रलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो र प्रश्नको उत्तरमा उहाँले भन्दै जानुभयो – ‘‘अहिले ७० जना भिक्षुहरू बस्नुहुन्छ, सबभन्दा कम उमेरको उपासक २० वर्षभन्दा कमको हुनुहुन्छ । छिङ्ग वंशको ३ पुस्ताको दस्तावेज यस विहारमा सुरक्षित छ, चच्याङ्ग प्रान्तमा नगर स्तरका ४ वटा र १ वटा प्रान्तीय स्तरको बुद्ध धर्मसम्बन्धी पत्रिका चिनियाँ भाषामा निस्किन्छ । यहाँबाट तालिम दिएर देशका विभिन्न बौद्ध सङ्घ–संस्था र विहारहरूमा भिक्षुहरू पठाउने गरिआएको छ । नयाँ भिक्षुहरूको शुल्क, विहारमा आउने श्रद्धालुहरूको प्रवेश शुल्क र दक्षिणा, देश विदेशबाट आउने चन्दा आदिले यसको खर्च चल्छ ।
बाहिरबाट हेर्दा सानो देखिने, तर भित्र जाँदै गर्दा तह–तह धेरै क्षेत्र ओगटेको र विशिष्ट चिनियाँ शैलीका भवनहरू अत्यन्त आकर्षक र भव्य देखिन्छन् । ठाउँ–ठाउँमा मर्मतको कार्य पनि भइरहेको देखेँ ।
५८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो विहारमा १०० वटा ठूला र अन्य ७०० वटा कोठा र चोकहरू छन् । भवनले मात्रै ३८०० वर्गमिटर ओगटेको छ । १८ जना पुराना प्रसिद्ध भिक्षुहरूको ढुङ्गामा कुँदेका मूर्तिहरू, श्रद्धालु र उपासकहरूबाट लिइरहेको शील, धूप, बत्ती देख्दा चीनमा धर्ममा मानिसहरूको भावना पुनर्जागरित हुँदैछ भन्ने अनुमान गर्न सकिन्छ । सुन वंशको पालामा त्यस विहारमा १५०० सम्म भिक्षुहरू अध्ययन र अध्यापन गर्थे । भान्छा कोठा र भात पकाउने भाडाहरू हेर्दा अचम्मै लाग्ने खालका छन् । सन् १९४९ सम्म ५–६ सय भिक्षुहरू त्यहाँ भएको बताइयो ।
ठाउँ ठाउँमा पोखरी, नागको बुट्टाले सिङ्गारिएका अग्ला अग्ला ढुङ्गे पानसहरू , धारा आदिको राम्रो बन्दोबस्त त्यहाँ देखे । जङ्गलको बीचमा शान्त र हरियो त्यो विहार साँच्चै आनन्ददायी छ । बिदा लिनुभन्दा पहिले नेपालका नेता, बौद्ध धर्मावलम्बी र भिक्षुहरूलाई केही सन्देश छ कि भनी सोध्दा उपाध्यक्ष स्यु स्याङ्गले भन्नुभयो, ‘‘लुम्बिनीमा शाक्युमनिको जन्म भएको हामीलाई थाहा छ, पहिलेजस्तै नेपाल र चीनको बीचमा भिक्षुहरूको आवतजावत र आदानप्रदानहरू होस् । वर्तमान सरकारको खुला नीति वा ढोका खुला गरेको हुनाले देश विदेशबाट भिक्षुहरूको आदानप्रदान गर्न सकिनेछ । सरकारको त्यस नीतिप्रति बौद्ध धर्मावलम्बीहरू खुसी छन् । हाम्रो दुई छिमेकी मित्र देशहरूको बीचमा मित्रता बढोस्, नेपाली र चीनका बौद्ध भिक्षुहरू मिलेर विश्व शान्तिको निम्ति काम गर्न सकौँ । नेपाल र नेपाली जनताको विकास र समृद्धिको कामना गर्दछु ।’’
भिक्षु स्यु स्याङ्गले मोटर राखिएको ठाउँसम्म आएर बिदा दिनुभयो र मैले उहाँको नेपाल भ्रमणको स्वागत गर्ने र लुम्बिनी र नेपाली बौद्ध विहारहरूको अवलोकन गर्न नेपाल भ्रमणको कामना गर्दै बिदा लिएँ । यो विहार दक्षिण–पूर्वी चीनको सबभन्दा ठूलो विहार रहेछ । निङ्गपोमा अशोक मन्दिर र अन्य विहारहरू पनि छन् । तर सायद म नै निङ्गपो पुग्ने पहिलो नेपाली होला ।
दक्षिणी चीनको सबभन्दा पुरानो पुस्तकालय थियानयी मण्डप (Tianyi Pavillion) ४०० वर्ष अगाडि अर्थात् मिङ्ग वंशको पालामा सन् १५६५ मा त्यसबेलाका एक विद्वान एवम् उपरक्षा मन्त्रीले यसलाई व्यक्तिगत पुस्तकालयको रुपमा स्थापना गरेका थिए । अहिले त्यो पुस्तकालय सरकारको एक सङ्ग्रहालयको रुपमा संरक्षित छ । १५–२० वटा साना र ठूला चोक र भवनहरू देखाउँदै त्यहाँका युवा निर्देशकहरूले भन्दै गए, ‘‘ यस पुस्तकालयमा ७० हजार पुराना ऐतिहासिक पुस्तकहरू सङग्रहित छन् । बुद्ध धर्म र अन्य विषयका पुस्तकहरू पनि छन् । ३०० वर्ष अगाडि खाङ्ग सी वंशको पालामा चीनमा ढुङ्गाहरूलाई मूर्तिको रुपमा सिङ्गार्ने खुब चलन चलेको थियो ।’’ त्यसअनुसार हात्ती, घोडा, बाघ, चराचुरुङ्गी, कुकुर, ऐना हेर्दै रहेकी युवती आदिका आकार आउने ढुङ्गाका सजावट, पानीको स्रोत, पोखरी, माछा आदि हेर्दा पुस्तकालय एक प्रकारको पार्कजस्तो देखिन्छ । यस पुस्तकालयका घरपतिको २७ वर्षसम्मको परीक्षा दिइएका कापीहरूसमेत संरक्षित छन् । १९४९ पछि यसलाई सङ्ग्रहालयको रुप दिइएको थियो । ४०० वर्ष पहिलेको चिनियाँ अक्षरको छाप लिपी २०० वर्ष पुरानो छाप, पुस्तकहरूलाई किराबाट बचाउनको निम्ति युनानबाट ल्याइएको जडीबुटी राखिएको थियो । पुरानो पुस्तकलाई हावा पानीले छोला र ओसिएला भनेर पुराना पुस्तकहरूलाई छापेर दराजभित्र प्रदर्शित गरिएका छन् र पुराना पुराना पुस्तकहरू माथिल्लो तलामा सुरक्षित राखिएका छन् । एकचोटि अध्यक्ष माओका सचिव लि रुइले त्यहाँका पुस्तकहरू हेरेर आफूमा कम ज्ञान भएको अनुभव गर्नुभयो भन्ने कुरा बताइयो । मिङ्ग वंशको ४०० वर्ष पुरानो अर्थात् सन् १६१७ तिरको ढुङ्गामा खोपेको चिनियाँ लिपि सिकाउने वर्णमाला आदि धेरै ऐतिहासिक सामग्रीहरू प्रदर्शित छन् । त्यस घरका अंशियार दुई भाइको अंशबण्डा हुँदा पुस्तकहरू बण्डा नगरी मूल्य राख्ने निधो गरियो । एक भाइले पुस्तकहरूबापत् केही लाख रकम पायो र अर्कोले पुस्तक । तर केही वर्षपछि पैसा पाउनेले खर्च गरे, पैसा सिध्याएछ र पुस्तक त बाँकी नै भएको कथा त्यहाँका निर्देशकले सुनाए । १९२३ सम्म त्यस छिङ्ग वंशका मानिसहरू त्यहाँ बस्थे, अहिले कहाँ छन् थाहा छैन । त्यस पुस्तकालयमा अन्य थप घर–जग्गासमेत थपेर विभिन्न ठाउँका ऐतिहासिक र सांस्कृतिक महत्व राख्ने अन्य कलात्मक वस्तुहरू त्यहाँ सङ्ग्रह गर्न लगिएको छ । त्यस ठाउँलाई संरक्षित क्षेत्र बनाउन पुराना कलात्मक घरहरूलाई सजाइएको र उत्खननबाट प्राप्त सामग्रीहरूसमेत त्यहाँ ल्याउन सुरु गरिएको छ ।
निङ्गपो सहर र त्यस क्षेत्रमा विशेष आर्थिक क्षेत्रको रुपमा घोषणा गरिएको हुँदा नयाँ नयाँ सडक, भवन र योजनाहरू निर्माण हुँदा भेटाइएका सबै पुरातात्विक महत्वका वस्तुहरू त्यहाँ संरक्षण गर्न सुरु गरिएका छन् र सरकारले त्यस पुस्तकालयलाई विकास र विस्तार गर्न थप रकम दिएको कुरा पनि युवा निर्देशकले बताए ।
दुई तीनवटा चोकहरू जीर्णोद्धार र पुनःनिर्माण गरिएका छन् । १९२३ तिर छिङ्ग राजाहरूको खलकबाट बेचिएको एक जना नव धनिक व्यक्तिले किनेको भवनलाई अहिले सङ्ग्रहालयमा परिणत गरिएको छ । बर्दाली, चोक, मञ्च आदि हेर्दा नेपालका पुराना घरहरूको सम्झना आयो । सा¥है कलात्मक घरहरू, सामान, पालकी आदि हरेकका एक न एक कथा बताइयो । साँच्चै भनँु भने एक दिन पूरै हेर्नुपर्ने ठाउँ रहेछ ।
त्यहाँबाट हामी निङ्गपो नगरको जनसरकारको विदेश मामिलाका निर्देशक हे ची चेङ्ग (He Chi Cheng) ले आयोजना गर्नुभएको रात्री भोजमा गयौँ । अतिथि सत्कारको निम्ति धन्यवाद दिँदै दुई देशका जनताको मित्रता र आपसी हितका व्यापारमा जोड दिन, चिनियाँ जनताको सम्पन्नता र समृद्धिको निम्ति टोष्ट प्रस्ताव राख्यौँ ।
थ थौं गाउँ
७ भदौ २०५२ ( २५ अगस्ट १९९५) बिहीबारको दिन फुहार सहरलाई पार गर्दै ८ बजे बिहान हामी चेच्याङ्ग फुहार सहरलाई पार गर्दै चेच्याङ्ग प्रान्तको एक अत्याधुनिक गाउँमा ९.३० बजेतिर पुग्यौं । राजमार्ग छोड्दै हामी १०–१५ माइल नयाँ पीचको बाटो हुँदै एक आुधनिक भवन अगाडि विश्राम ग¥यौँ ।
त्यस गाउँको पार्टी सचिवले पार्टीको तर्फबाट र त्यहाँका जनताको तर्फबाट नेपाली मित्रतालाई स्वागत गर्छु भन्नुभयो र अन्य पदाधिकारीहरूसँग परिचय गराउनुभयो । त्यस गाउँको परिचय दिनुहुँदै उहाँले त्यस गाउँमै फलेको ठूलो नासपाती चक्कुले काट्दै दिनुभयो, अङ्गुर र अन्य फलफूलको रिकापी टुक्रायाउँदै भन्नुभयो, ‘‘पहिले हामी यस गाउँको विषयमा भिडिओ टेप हेरौँ, अनि कुराकानी गर्दै डुलौँ हुन्न ? ’’
मैले सकारात्मक टाउको हल्लाएँ र भिडियोमा त्यस गाउँका खेतीपाती, बाली–नाली, माछा र सुँगुर पालन, पोखरी कारखाना, सांस्कृतिक भवन आदि हेर्दै गयौं । यस प्रान्तको ५०० गाउँहरूमध्ये यो एक नमुना गाउँ हो । २५८ परिवार, ८ सय जनसङ्ख्या र ५४ हेक्टर जग्गा भएको यस गाउँमा ८०० मु खेती हुन्छ । त्यसको निम्ति ९ जना किसानहरूमात्रै वर्षभरि खेतीपातीमा काम गर्छन् । कृषि, पशुपालन, फलफूल, तरकारी, माछा र फूलको निम्ति ६ जनाले नै वर्षभरि हेरदेख गर्छन् । ट्याक्टरले नै खेत जोत्छ, मेसिनले नै धान रोप्छ, मेसिनले नै धान काट्छ । धान र गहुँ आदिको निम्ति कलघर छ । सुन्तला, अङ्गुर, नासपाती आदि यहाँका मुख्य फलपूmल हुन् भने माछा, हाँस, कुखुरा, सुँगुर आदि यहाको पशुपालनको उत्पादन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *