भर्खरै :

जनतामाझ नेमकिपाका सांसद

भक्तपुर, १५ मंसिर । “जन्मको आधारमा नागरिकता वितरण गरिएको कारण देश सिक्किम बन्ने खतरा उत्पन्न भयो” । उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले नेपाल मजदुर किसान पार्टी चाँगुनारायण ४ नं वडा समितिको आयोजनामा सम्पन्न जनतासँग सांसद कार्यक्रममा बताउनुभएको हो । उहाँले भारतका एक प्रोफेसरले ४० लाख भारतीयले नेपाली नागरिकता लिन सफल भएको उल्लेख गर्दै विदेशीले पाएको नेपाली नागरिकता खारेज गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले सरकारमा जाने पार्टीहरूमा सिद्धान्त र नैतिकता नभएको कारण देश परनिर्भर हुन पुगेको चर्चा गर्दै ओली सरकार गठन हुनुपूर्व मोदीको दूत सुष्मा स्वराज नेपाल आएर सोल्टी होटलमा नेकपाका नेताहरूसँग छलफल गर्नु आत्मसमर्पणजस्तै भएको बताउनुभयो । शासक दलका नेताहरू भारतसँग झुकेको कारण नेपालको नदीनालालगायत प्राकृतिक स्रोतसाधनमा भारतले कब्जा जमाउन सफल भएको चर्चा गर्दै त्यस्ता दलाल नेताहरूको विरुद्ध आन्दोलन गर्न जरुरी रहेको बताउनुभयो ।
“सरकारले आफ्नै खुट्टामा उभिने साहस गरेमा नेपालको नदीनालाबाट प्रचुर मात्रामा बिजुली निकालेर ग्यास, तेल भारतबाट आयात गर्नुपर्दैन” उहाँले बताउनुभयो ।
भारतले ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी जमिन मिच्नुका साथै नेपालको पारवहन अधिकार हनन गरी नाकाबन्दी गरेको उल्लेख गर्दै उहाँले भारतीय दलाल सरकारदेखि नेपाली जनता सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले संविधानमा उल्लिखित समाजवादको अर्थ आर्थिक समानता ल्याउने र विस्तारवाद र साम्राज्यवादको अगाडि नझुक्ने भएको बताउनुभयो । विकास र समृद्धिको नारा लगाएर खोना र बोङ्गाको जनतालाई उठिबास गर्न द्रुतमार्गको परियोजना आवश्यक नभएको स्पष्ट पार्नुभयो । उहाँले भक्तपुरजस्तो सानो ठाउँमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला र प्रदेश नं ३ को राजधानी राख्ने चर्चा अदूरदर्शीता एवं रैथानेको उठीवास गर्ने प्रपञ्च रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भजिसका अध्यक्ष न्हुछेभक्त फोंजुले चाँगुनारायण नपा विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको अस्तित्व समाप्त हुने गरी बालुवा खानी सञ्चालनको तयारी गरिरहेको हुँदा नगरवासीले खबरदारी गर्नु जरुरी रहेको बताउनुभयो । साथै, उहाँले नपाद्धारा पक्षपाती ढङ्गबाट योजना वितरण गर्दै ठेकेदार पोस्ने काममा पनि लाग्दै गरेकोले जनता सचेत भई सङ्घर्ष गर्नुपर्ने पनि बताउनुभयो ।
नेमकिपा चाँगु ४ का अध्यक्ष श्रीभक्त भडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपाका सुदिप खनाल र रामेश्वर रानामगरले पनि बोल्नुभएको थियो ।
त्यस्तै, चानपा ३ झौखेल, लाकिलामा १३ गते पार्टी वडा समितिका अध्यक्ष राजाराम दाहालको सभापतित्वमा र १४ गते चानपा ७ बागेश्वरीस्थित फैजुटोलमा पनि नेमकिपाका सांसद प्रेम सुवालसँग स्थानीय जनताहरूको भेटघाट सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *