यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
एस. डी. राजचल
कुनै महत्वपूर्ण औपचारिक सभामा प्रमुख अतिथिको रुपमा बोलाइएका पाहुनाले आफू उपस्थित कार्यक्रमको बारेमा जानकारी नभएको अभिव्यक्ति दिंदा र प्रसङ्गभन्दा बाहिर गएर दिएको अभिव्यक्तिले दर्शकहरूको मनमा कस्तो होला ? अनुमान सहज छ । दर्शकहरूबीच मुखामुख हुन्छन् र अभिव्यक्ति स्थान र कार्यक्रमअनुसार सान्दर्भिक नभएको टीका टिप्पणी हुन्छ ।
हुन त यस्ता समस्या सत्तासीन नेताहरूका लागि नौलो भने पक्कै होइन । विनातयारी, विनाजानकारी कार्यक्रममा सहभागी भई तयार गरिदिएको भाषण गर्नु पुरानै रोग हो । मङ्गलबार कलङ्कीस्थित एलआरआई (लर्निड आल्म इन्टरनेसनल) मा भएको एउटा समारोहमा यस्तै दृश्य पुनरावृत्त भयो । कार्यक्रम थियो– नेपालका सामुदायिक विद्यालयहरूका लागि चिनियाँ भाषा र संस्कृतिसम्बन्धी १५ दिने सेमिनारको समापन समारोह । कार्यक्रममा प्रमुख वक्ता थिए सभामुख कृष्णबहादुर महरा र अर्का विशेष वक्ता हुन् जनवादी गणतन्त्र चीनका महामहिम राजदूत यु होङ । त्यसैगरी शिक्षा मन्त्रालयका उपसचिव वैकुण्ठ अर्याल र पेइचिङ इन्टरनेसनल चाइनिज कलेजका उपप्रमुख यी वेनलगायतका अतिथिहरू ।
सभामुख महराले नेपाल सरकार शिक्षा मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच भएको सम्झौताअनुसार तालिम आयोजना भएको जानकारी गराएको भए तापनि त्यसपछिका अधिकांश समय विद्यालयको प्रशंसा गर्नमै खर्च गरे । उनले एलआरआईका विद्यार्थीहरूले सामाजिक रुपान्तरणका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भनाइ राख्दै भाषा र संस्कृतिको उत्थानमा विद्यालय र विद्यालय प्रधानाध्यापकबाट हुँदै आएको कार्य प्रशंसनीय भएको अभिव्यक्ति दिए । लाग्थ्यो, उनी विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी थिए । बोल्ने क्रममा महराले ‘कार्यक्रमको बारेमा आफूलाई राम्रो जानकारी नभएको’ व्यक्त गर्नेबित्तिकै सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले उनको भनाइमाथि टिप्पणी गरे । ‘सभामा आउने व्यक्तिले कार्यक्रमको बारेमा पहिल्यै जानकारी लिनुपर्ने’, ‘महत्वपूर्ण सभामा आउनुपूर्व आफूले बोल्ने विषयमा पहिल्यै तयार हुनुपर्ने’ र ‘समयमा कार्यक्रमस्थल आउनुपर्ने’ जस्ता टिप्पणी सहभागीहरूको रह्यो ।
नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाल र चीनबीच विगत लामो समयदेखि नजिकको सम्बन्ध रहेको र विगत ६३ वर्ष अगाडिदेखि कूटनीतिक सम्बन्ध स्थापित भएको उल्लेख गर्दै भाषा र संस्कृतिले मानिस मानिसबीचको सम्बन्धमा सुधार आउने विश्वास व्यक्त गरे । नेपालको विकास र नेपालीको हितको निम्ति सत्न्दा बढी नेपाली नागरिकले ‘मानव स्रोत संशोधनको’ विशेष तालिम लिइसकेको बताउँदै राजदूत होङले चीन सक्रियतापूर्वक नेपालको हितमा लागिरहेको बताउनुभयो ।
पन्ध्रदिने तालिमको उद्घाटन गत कार्तिक २७ गते (नोभेम्बर १३) मा भएको थियो । उक्त समारोहमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपाल र चीन सरकारको संयुक्त आयोजनामा तालिम सञ्चालन प्रारम्भ भएको जानकारी दिए । अरनिको र भृकुटीले चीनसँगको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै उनले काठमाडौंको दरबार हाई स्कूललगायत थुप्रै नेपालका शैक्षिक र स्वास्थ्य संरचना निर्माणमा चीन सरकारले महत्वपूर्ण योगदान गरेको विचार व्यक्त गरे ।
उक्त तालिम प्रभावकारी बनाउन चीन सरकार र सम्बन्धित कलेजका उपप्रमुखदेखि शिक्षक विद्यार्थीहरूले पनि परिश्रम गरेको सहजै बुझ्न सकिन्थ्यो । तालिममा उपस्थित नेपाली शिक्षकहरूको इच्छा र रुचिलाई मध्यनजर गरी चिनियाँ र नेपाली गीतहरू बीच–बीचमा गाइएको थियो । कक्षाकोठाको वातावरण सङ्गीतमय बनाउनुका साथै सृजनात्मक क्रियाकलाप गराउन पनि सक्रिय भएको देखियो ।
विद्यालयको कक्षा कोठामा एक घण्टी अर्थात् करीब ४०–४५ मिनेट विताउन पनि मुश्किल मान्ने शिक्षकहरूलाई कम्तीमा दैनिक ६ घण्टा एउटै कक्षामा बस्नु कठिन त थियो नै । तैपनि स्वयम्सेवक चिनियाँ शिक्षकहरूको परिश्रम र प्रस्तुति अनुकरणीय थियो । तिनीहरूका सिकाइ शैली विशेषगरी सार्वजनिक विद्यालयका शिक्षकहरूले अनुसरण गर्नैपर्ने खालको थियो । विदेशी भाषा सिक्नका लागि नेपालीहरूलाई सजिलो पक्कै छैन । अझ चिनियाँहरूलाई आफ्नो भाषा सिकाउन पनि सजिलो पक्कै थिएन तैपनि अनुशासित र तयारी पछिका कक्षाहरू रमाइलो, सृजनात्मक र शैक्षिक दृष्टिकोणसहितको मिश्रित कक्षाको अनुभव शिक्षकहरूको छ ।
तालिमको समयवधि केवल भाषा सिक्ने र सिकाउनेमा केन्द्रित हुँदो हो त प्रशिक्षार्थीहरूलाई समय कटाउन मुश्किल पर्दो हो । आफू बोलिरहने शिक्षकहरूले कक्षा कोठामा विद्यार्थीझैं सुनिरहनु कठिन कार्य हो । त्यही भएर चिनियाँ संस्कृति र चीनबारे धेरै महत्वपूर्ण जानकारी दिन चिनियाँ पक्षले कडा मेहनत गरेको अनुमान गर्नसकिन्थ्यो । विनातयारी कक्षामा प्रवेश नहुने, कक्षा सुरु हुनुभन्दा कम्तीमा १५ मिनेट अगाडि कक्षा कोठामा उपस्थित हुने, आफ्नो जिम्माको प्रस्तुति अनुशासित र जिम्मेवारीबोधका साथ तयार गर्ने, द्वेभाषेको बन्दोबस्तजस्ता तिनीहरूको प्रयास नेपालले सिक्नुपर्ने पाठ हो । सो अवधिमा आफ्नो देश विकासोन्मुख भएको र अझ धेरै गर्न बाँकी भएको दृष्टान्तहरू दिंदै देशका महत्वपूर्ण ठाउँहरू ग्रेटवाल, टियानमेन स्क्वायर, राजधानी पेइचिङ, फोरविदन पार्कजस्ता मनोरम दृश्यहरू देखाइएको थिए । यसका साथै प्रसिद्ध प्राचीन र आधुनिक सहरहरू देखाएपछि चिनियाँ संस्कृति र सभ्यता उदाहरणीय भएको जोकोहीले अनुमान गर्नसक्छन् ।
कक्षमा चिनियाँ भाषाको आधारभूत जानकारी दिनुका साथै चीनका नदीनाला, ताल, हावापानीलगायत भौगोलिक अवस्थासमेतको जानकारीले चीनबारे धेरै बुझ्ने मौका मिलेको सहभागीहरूको कथन थियो । विश्वका १७८ मुलुकहरूसँग कूटनीतिक सम्बन्ध विस्तार गरेको चीनको नेपालजस्ता थुप्रै देशहरूमा सहयोग गर्न तयार रहेको विचार प्रस्तुतकर्ता शिक्षकहरूले सो अवसरमा बताए ।
जापानी साम्राज्यवादले चिनियाँ जनतालाई दुःख दिने गरेका र अमानवीय यातना दिने दृश्य आफैमा दयनीय र अमानवीय थियो भने जापानविरुद्धको चिनियाँ प्रतिरोध सङ्घर्षले अन्ततः जापानले आत्मसमर्पण गरेको दृश्यसमेत प्रस्तुत भएको प्रस्तुति उपनिवेशमा परेका जनताका लागि प्रेरणादायी रह्यो । सो अवधिमा चीनका विभिन्न परम्परागत गीतका बारेमा प्रस्तुत गर्नुका साथै पेइचिङ ओपेरा, चिनियाँ प्रसिद्ध आधुनिक सङ्गीत र परम्परागत सङ्गीत र नृत्यका फरक–फरक विकासको चरणले कार्यक्रमलाई थप आकर्षक बनाइएको थियो । वर्षभरिमा महत्वपूर्ण ७ चाडहरू मनाउने तथ्यले नेपालमात्र चाडहरूको देश हो कि भन्ने जिज्ञासा मेटाइदिएको अनुभव छ । तिनीहरूका महत्वपूर्ण चाडमा स्प्रिड, लान तान, ट्वोम्ब स्वीपिङ्, ड्रायगन बोट, चिनियाँ भ्यालेन्टाइन डे, मिड अटोमन र डबल नाइन्थ आदि छन् । यसका साथै ड्रागन डान्स र लाइन डान्स, सिल्क बाका पनि आकर्षक चाडहरू हुन् ।
सन् २०१५ को जनगणनाअनुसार सो¥ह हजार चारसय दस वर्ग किलोमिटर क्षेत्रफल भएको राजधानी पेइचिङमा मात्र ३० करोड जनसङ्ख्या बसोबास गर्ने गरेको तथ्याङ्क छ । तिनीहरूकै शब्दमा चीन सरकार र चिनियाँ जनता अत्यन्त परिश्रमी छन् भने तिनीहरूको संस्कार उच्च कोटिको छ । सो कुरा त्यहाँको आर्थिक विकास र बन्दोबस्तले प्रस्ट पार्दछ । ३४ विभिन्न प्रान्तीय प्रशासनमा विभाजित, ५ स्वशासित क्षेत्र र ४ नगरपालिकाहरू रहेको मुलुकमा सम्पूर्ण प्रान्तहरू र नगरपालिकाहरू केन्द्रीय सरकारको नीति निर्देशनमा चल्दा रहेछन् । विकेन्द्रीकरणको उत्कृष्ट नमुना पनि सो देशमा रहेको बुझ्न सकिन्छ । नेपालमा विभिन्न जिल्ला र क्षेत्रमा फरक–फरक भाषाहरू भएझैं चिनियाँ समाजमा पनि फरक फरक भाषा बोल्नेहरू रहेछन् । राजधानी बेइजिङकै भाषा पनि अन्य कतिपय ठाउँहरूभन्दा फरक रहने गरेको तिनीहरूको कथन थियो । नम्रता, मित्रवत् व्यवहार, मनोरञ्जन, आफ्नो संस्कृतिप्रतिको गर्व, आर्थिक सन्तुष्टि नै तिनीहरूको परिचय भएको स्वयम्सेवक शिक्षकहरू बताउँछन् ।
छिमेकी मुलुक चीन सरकार दक्षिण एसिया र अझ संसारका थुप्रै विकासोन्मुख र अति कमविकसित मुलुकहरूको विकास र प्रगतिमा योगदान दिन तयार रहनु र दिंदै गरेका थुप्रै उदाहरणले चीन वास्तविक अर्थमा छिमेकी र अन्य देशका लागि मित्र देशको रुपमा पाउनु नेपालको लागि ठूलो अवसर हो । समाजवादी गणतन्त्रलाई सफलतापूर्वक व्यवहारमा उतारेको चीनको समृद्धि सिद्धान्तप्रतिको दृढ अडान र नेतृत्वप्रतिको सम्मान र बलियो आस्था हो भन्ने कुरा तिनीहरू स्विकार्छन् । व्यवस्थामा आउने परिवर्तन सँगसँगै संस्कार र संस्कृतिमा परिवर्तन आएमा मात्र व्यवस्था दिगो हुन्छ भन्ने अनुपम उदाहरण चीन सरकारले प्रस्ट पारिदिएको अनुभव सहभागी शिक्षकहरूले गरेका छन् ।
Leave a Reply