भर्खरै :

भुजु पाटी शिलान्यास

भक्तपुर, १७ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार भक्तपुर नगरपालिका वडा नं. ३ बाराहीस्थानस्थित भुजु पाटी पुनःनिर्माणको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा प्रमुख प्रजापतिले सम्पदा संरक्षण र लोप भएका सम्पदाहरूको उत्खनन गर्ने कार्यमा नपा लागिरहेको बताउनुभयो । सम्पदा पुनःनिर्माण कार्य गुणस्तरीय हुनुपर्ने भएकोले सो कार्य ठेक्कापट्टाभन्दा जनश्रमदान र अमानतबाट गरिनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले सार्वजनिक ठाउँ संरक्षणको लागि सामूहिक भावना विकास गर्नुपर्ने र नगरपालिका साझा संस्था भएकोले उपभोक्ता समितिमार्पmत यस्ता कार्य गर्दा जनता लाभान्वित हुने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले पुर्खाले सिर्जना गरेका सम्पदाहरू संरक्षण गरे अन्य नगरपालिकाका जनप्रतिनिधिहरूको लागि भक्तपुर उदाहरणीय बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा–३ का वडाध्यक्ष राजकृष्ण गोराले पुर्खाको सम्पत्ति जगेर्ना गर्ने कार्य नपाले गरिरहेको बताउनुभयो । भक्तपुर नगरलाई पर्यटकीय आकर्षणको केन्द्रविन्दु बनाउन र समग्र आर्थिक प्रगतिका लागि वडावासीको सहयोग र जनश्रमदानको महत्वपूर्ण योगदान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले सम्पदा संरक्षणमा अग्रज पुस्ताले गरेको मेहनत र त्यागको भावना नयाँ पुस्तामा पनि हस्तान्तरण गर्न सके समाज अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरकार्यपालिका सदस्य सुनिता अवाल र उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर खाताखोले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *