भक्तपुर, १७ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कला, संस्कृति र सम्पदाले भरिएको भक्तपुर नगरलाई इटालीको रोमजस्तै मानिन थालेको बताउनुभयो । भनपा ९ वडा नंंस्थित वाकुपतिनारायण मन्दिर परिसरमा गएको शनिबार आयोजित एक कार्यक्रममा प्रमुख प्रजापतिले पुर्खाले सिर्जेका सम्पदाहरू संरक्षणमात्र गर्नसके नेपाललाई संसारसामु चिनाउने महत्वपूर्ण क्षेत्र भक्तपुर बन्ने विश्वास व्यक्त गर्नुभयो ।
चतुर्मास कथा वाचन कार्यक्रमको समापनमा उहाँले भन्नुभयो, “अग्रज पुस्ताको अनुभव र नयाँपुस्ताको ऊर्जाको संयोजनले कठिन कार्य पनि सफलतापूर्वक टुङ्गिन्छ ।”
उहाँले सम्पदा संरक्षणमा अग्रज पुस्ताले गरेको मेहनत र त्यागको भावना नयाँ पुस्तामा पनि हस्तान्तरण गर्नसके समाज अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले भक्तपुरमा जनस्तरबाटै सम्पदा संरक्षणका कार्यहरू तीव्रताका साथ भइरहेको उल्लेख गर्दै उपभोक्ता समितिमार्फत कार्य हुँदा दिगो, बलियो र आत्मीय हुने चर्चा गर्नुभयो ।
भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ हेम्बा र भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले वाकुपतिनारायण मन्दिरमा सुनको छाना छाउने कार्य प्रशंसनीय भएको चर्चा गर्नुभयो ।
संस्कृतिविद् ओम धौभडेलले वाकुपतिनारायण मन्दिरको ऐतिहासिक तथा सांस्कृतिक पक्षबारे जानकारी दिंदै धर्मको नाममा विदेशीहरूले चलखेल गरिरहेकोमा सचेत रहन आग्रह गर्नुभयो ।
उपभोक्ता समितिका अध्यक्ष आशाकाजी प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कथावाचक जीवनराज राजोपाध्याय, लक्ष्मीप्रसाद प्रजापति र रवीन्द्रप्रसाद कुसीले पनि बोल्नुभयो ।
२०७२ सालको विनासकारी भूकम्पले क्षति पुगेको सो मन्दिरमा झिङ्गटीको छानामा हाल तामाको छाना छाइसकेको छ । सुनको छाना छाउन उपभोक्ता समितिमार्फत सर्वसाधारणहरूमा आर्थिक सहयोग लिने क्रम जारी छ । हालसम्म नगद रु. ५५ लाख र तामाको छानाबापत रु. ७ लाख गरी कूल ६२ लाख रुपैयाँ जनस्तरबाट आर्थिक सहयोग प्राप्त भइसकेको र छाना छाउन अझै पनि सहयोगको आवश्यकता रहेको समितिका सचिव कुसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *