भर्खरै :

हाजिरीजवाफ प्रतियोगितामा चाँगुनारायण मावि प्रथम

भक्तपुर, २१ मंसिर । सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिको वार्षिक कार्यतालिकाअनुसार वागीश्वरी माविको आयोजनामा विज्ञान हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा संयुक्त परीक्षा समितिका अध्यक्ष एवं वासु माविकी प्रअ अम्बिका न्याइच्याईले विद्यार्थीको चौतर्फी विकासको लागि सबै पक्षमा सबल हुनुपर्ने आवश्यकता औंल्याउनुहुँदै संयुक्त परीक्षा समितिले विद्यार्थीको बौद्धिक, सांस्कृतिक र खेलकुदलगायतका अतिरिक्त क्रियाकलापहरू गर्दै आएको जानकारी दिनुभयो ।
प्रतियोगितामा चाँगुनारायण माविका अञ्जु तामाङ र गणेश रावलको समूह प्रथम, बासु माविका रशिला आचार्य र रोशन परियारको समूह द्वितीय, तारा माविका विवेक अधिकारी र मुस्कान चौगुठीको समूह तृतीय र ज्योति माविका विमल खुलीमुली र श्रीजाता खुलीमुलीको समूह सान्त्वना भएका थिए ।
पुरस्कृत विद्यार्थीहरूलाई अध्यक्ष न्याइच्याईले प्रमाणपत्रसहित पुरस्कार वितरण गर्नुभएको थियो ।
आयोजक विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा शारदा माविका प्रअ रोशनराज तुईतुई, आदर्श माविका प्रअ श्रीकृष्ण किसी, विद्यालयका सहायक प्रअ ज्ञानसागर प्रजापति, शिक्षक उकेश सुवाल र शिक्षक विश्वेश्वर मानन्धरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *