भर्खरै :

विश्वव्यापी पहलकदमीबिना पुरस्कार अर्थहीन ः नोवेल पुरस्कार विजेताद्वय

ओस्लो, (एजेन्सी) । यस वर्षको नोवेल शान्ति पुरस्कार विजेताहरू डा. डेनिस मुक्वेगे र नादिया मुरादले विश्वका नेताहरूलाई यौनिक हिंसा अन्त्यका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
नर्वेको राजधानी ओस्लोमा नोवेल पुरस्कार लिनु एक दिनअगाडि पत्रकारहरूसित कुराकानी गर्दै मुक्वेगे र मुरादले विश्वव्यापी पहलकदमीबिना नोवेल पुरस्कारलगायत कुनै पनि पुरस्कार अर्थहीन भएको बताए ।
“यो पुरस्कार, एउटै पुरस्कारले सबैखाले हिंसा र महिला, बालबालिका सबैमाथि हुने यौनिक आक्रमण र हिंसा हटाउन सक्दैन र पीडितहरूलाई न्याय पनि दिनसक्दैन ।” याजिदी महिलाहरूको अधिकारका वकालतकर्ता मुरादले भनिन् ।
मुराद स्वयं पनि कुट्टरपन्थी इस्लामिक स्टेट समूहको कैदबाट बल्लतल्ल भाग्न सफल भएकी थिइन् । जहाँ महिलाहरूलाई याजिदी (दासी) बनाएर कैद गरिराखिन्थ्यो र निरन्तररुपमा बलात्कार गरिन्थ्यो । इस्लामिक स्टेटलगायत कट्टरपन्थी मुस्लिम सशस्त्र समूह नियन्त्रित क्षेत्रमा अझै पनि त्यस्ता याजिदी कैदखाना रहेका छन् ।
मुराद सन् २०१४ मा २१ वर्षकी थिइन् जतिबेला तिनको इराकी गाउँमा इस्लामिक स्टेटले आक्रमण ग¥यो र तिनलाई बन्दी बनाएर लगी इस्लामिक स्टेटभित्रको दास बजारमा यौनबकार्यका लागि पटक–पटक बेचियो ।
अन्तमा मोसुल सहरस्थित एक सुन्नी परिवारको सहयोगमा तिनी त्यस कैदी अवस्थाबाट भाग्न सफल भइन् र आफ्नो समुदायका महिलाहरूको अधिकारका लागि विश्वव्यापी वकालतकर्ता बनिन् ।
डा. मुक्वेगे प्रजातान्त्रिक गणतन्त्र कङ्गोका एक स्त्रीरोग विशेषज्ञ हुन् । उनले निरन्तर रुपमा यौन हिंसामा परेका महिलाहरूको उपचार र अधिकारका लागि वकालत गर्दै आएका छन् र ५० हजारभन्दा बढी पीडितको उपचार गरिसकेका छन् ।
नोवेल शान्ति पुरस्कार विजेता डा. मुक्वेगे महिलामाथिको हिंसा र बलात्कारविरुद्ध हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछन् । “केही मानिसहरूले हाम्रो मानवता ध्वंश पार्न लागेको अवस्थामा हामी अल्छी बनेर उभिरहन सक्दैनौँ ।”–डा. मुक्वेगे भन्छन् ।
ती दुवै नोवेल शान्ति पुरस्कार विजेताले आफूहरूले पुरस्कारलाई ‘विजय’ को रुपमा नलिएको बरु नयाँ सङ्घर्षको थालनीको रुपमा लिएको बताए । जुन सङ्घर्षले विद्यमान न्यायिक प्रणाली जीर्णाेद्धार गर्ने ढोकाहरू खुल्नेछन् । दोषीहरूलाई न्यायको कठघरामा उभ्याइनेछ र विश्वव्यापी हिंसाको समाधान दिनेछ ।
जतिबेला प्रतिष्ठित नोवेल पुरस्कार उनले जितेको समाचार पुग्यो, मुक्वेगे एक बिरामीको शल्यक्रिया गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *