भर्खरै :

जैविक विविधता संरक्षण र प्रजनन शिक्षा सँगसँगै

काठमाडौँ, २६ मङ्सिर  : जैविक विविधता संरक्षण र यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रम एक साथ सञ्चालनले ती दुवै क्षेत्रमा उल्लेखनीय परिवर्तन देखाएको छ ।

फिनल्याण्ड सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा जनसङ्ख्या, स्वास्थ्य र वातावरण परियोजना चितवन, रुपन्देही, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वनमा आएका थिए ।

यहाँस्थित विश्व संरक्षण सङ्घ र नेपाल परिवार नियोजन सङ्घले कार्यान्वयनमा ल्याएका तीनवर्षे कार्यक्रमको समीक्षा गर्न आज यहाँ आयोजित कार्यक्रममा जैविक संरक्षणका विविध आयामबारे समुदायलाई सचेतना ल्याउनेक्रममा यौन तथा प्रजनन स्वास्थ्यका जानकारीले समुदायमा सकारात्मक प्रभाव परेको जानकारी दियो ।

कार्यक्रमका अवधिमा ती जिल्लाका तीन लाख १६ हजार ६०९ जना लाभान्वित हुन पुगेका थिए । विशेष गरी राष्ट्रिय निकुञ्ज क्षेत्रका मध्यवर्तीमा बसोबास गर्ने समुदायलाई नै वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणका सहभागी आय आर्जन बढाउने तथा उनीहरुको समग्र स्वास्थ्य स्थितिमा सुधार ल्याउन नेपालमा पहिलोपटक सो कार्यक्रम सञ्चालन गरिएको थियो ।

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा आफ्नै घर आँगनमा क्लिनिक स्थापना गरी प्रदान गरिएको थियो । कार्यक्रममा यहाँस्थित फिनल्याण्डका राजदूत पेर्ति आन्तिनेतले जनसङ्ख्या, स्वास्थ्य तथा वातावरण परियोजनाले समुदायमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।

नेपाल परिवार नियोजन सङ्घका कार्यकारी निर्देशक कृष्णप्रसाद विष्टले समुदाय स्वास्थ्य भएमात्र जैविक विविधता संरक्षणमा योगदान दिनसक्ने कुरालाई ध्यानमा राखी जैविक विविधता संरक्षण र यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रम एकसाथ सञ्चालनमा आएको बताउनुभयो ।

विश्व संरक्षण सङ्घका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले जैविक संरक्षणका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा आवश्यक पर्दाेरहेछ भन्ने विषय परियोजनको उपलब्धिले देखाएको छ भन्नुभयो । नवलपरासी कावासोती नगपालिकाका उपप्रमुख प्रेमशङ्कर करडियाले आफ्नो नगरपालिकाले जैविक संरक्षक र यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा लगानी बढाएको जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *