भर्खरै :

हत्यारा नै भए पनि साउदी राजकुमारलाई ट्रम्पको समर्थन

वाशिङ्टन, १२ डिसेम्बर । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सलमान पत्रकार जमाल खासोस्गीको हत्यामा दोषी भए पनि आफू उनकै पक्षमा रहेको बताएका छन् । रोयटर्सलाई मङ्गलबार दिएको अन्तर्वार्तामा ट्रम्पले साउदी राजकुमारको खुलेर प्रशंसा गरे । उनले सलमानलाई ‘निकै शक्तिशाली मानिस’ भन्दै यतिबेला साउदी अरबको पक्षमा उभिनु भनेकै राजकुमारको पक्षमा उभिनुभएको बताए ।
तर संरा अमेरिकी सिनेटमा भने साउदी राजकुमारप्रति लक्षित भत्र्सना प्रस्ताव लाने तयारी भइरहेको छ । सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष बब कोर्करले मङ्गलबार सलमानको भत्र्सनामा संयुक्त प्रस्ताव लाने तयारी भइरहेको सञ्चारमाध्यमलाई बताएका छन् । सिनेटमा यस्तो प्रस्तावले जमालको हत्याका दोषी राजकुमार सलमानमाथि कडा कदम चाल्न ट्रम्प सरकार बाध्य हुने उनको भनाइ छ ।
रिपब्लिकन पार्टीका पुराना सिनेटर कोर्करले सिनेटमा बहुमत पक्षधर मिट्च मेकोनलको समर्थनमा भत्र्सना प्रस्ताव ‘भारी बहुमतका साथ’ पारित हुने विश्वास व्यक्त गरे ।
सिनेटमा यो प्रस्ताव पारित भए राष्ट्रपतिसमक्ष दुईवटा विकल्प हुनेछन्–कि उनले उक्त प्रस्तावमा सही गर्नुपर्नेछ अन्यथा उनले सो प्रस्तावविरुद्ध विशेषाधिकार (भिटो) प्रयोग गर्नुपर्नेछ ।
रियटर्ससँगको अन्तर्वार्तामा ट्रम्पले साउदीलाई हतियार बेच्न बन्द हुने उक्त भत्र्सना प्रस्तावमा सिनेटरहरूले हस्ताक्षर नगर्ने आशा व्यक्त गरे । तर उनले यमनमाथि साउदी नेतृत्वको हमलालाई संरा अमेरिकाले दिंदै आएको समर्थन बन्द गर्न आवश्यक कानुनको लागि भूमिका खेल्न सक्ने बताए ।

खसोग्गी


“यमनको विषयमा म खुला छु किनभने प्रष्टतः म यमनमा जे भइरहेको छ, त्यसप्रति घृणा गर्छु ।”, उनले भने ।
संरा अमेरिकाकै समाचार संस्था एनबीसी न्युजले मङ्गलबार सार्वजनिक गरेको एक अलग प्रतिवेदनमा केन्द्रीय अनुसन्धान विभाग (सीआईए) का निर्देशक जिना हस्पेलले बुधबार खासोस्गीको हत्याबारे अमेरिकी गुप्तचर निकायलाई भएको जानकारी संसदमा जानकारी दिने बताएकी छिन् ।
जिनाले डिसेम्बर ४ मा केही सिनेटरहरूलाई खासोस्गीको हत्याबारे जानकारी दिएकी थिइन् । उनीबाट प्राप्त जानकारीका आधारमा ट्रम्पका निकटवर्ती रिपब्लिकन सिनेटर लिन्से ग्राहामले समेत हत्यामा साउदी राजकुमारको संलग्नता कसैले अस्वीकार गर्न नसक्ने प्रतिक्रिया दिएका थिए ।
यसैबीच मङ्गलबार संरा अमेरिकाको टाइम्स पत्रिकाले हरेक वर्ष घोषणा गर्ने गरेको वर्ष पुरुषमध्ये साउदी पत्रकार खासोस्गीलाई पनि समावेश गरेको छ । निधन भइसकेको मानिसलाई टाइम्सले वर्ष पुरुष घोषणा गरेको खासोस्गी नै प्रथम व्यक्ति हुन् ।
गएको अक्टोबर २ मा आफ्नो पारपाचुकेसम्बन्धी सरकारी कागजात मिलाउने सिलसिलामा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र गएका खासोस्गीको साउदी राजकुमारकै निर्देशनमा निर्मम हत्या गरिएको थियो । उनको लास हालसम्म कहाँ छ, पत्ता लागेको छैन ।
संरा अमेरिकी काङ्ग्रेसले जमालको हत्याबारे विस्तृत अनुसन्धान गर्न र दोषीलाई कारबाही नगरे साउदी अरबमाथि नाकाबन्दी थोपर्न अथवा यमनमाथि साउदी हमलामा संरा अमेरिकी सैनिक सहयोग बन्द गर्न माग गरेका थिए । तर संरा अमेरिकी सरकार भने साउदी संस्थापनमाथि कुनै पनि खालको कारबाही गर्न अनकनाइरहेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *