भर्खरै :

यमन शान्ति वार्ता सफल, होडाडी बन्दरगाहमा दुवै पक्षको युद्धविराम

स्टकहोम, १३ डिसेम्बर । बिहीबार स्वीडेनमा मध्यपूर्वी देश यमनमा लामो समयदेखि चालू युद्ध अन्त्य गर्न शान्ति सम्झौता भएको छ ।
यमन युद्धमा सम्बद्ध पक्षहरूबीच भएको शान्ति वार्ताको अन्तिम दिन सहभागी बनेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ ग्युटेरेसले जोहान्सवर्ग क्यासलमा आयोजित पत्रकार भेटघाटमा शान्ति सम्झौताबारे जानकारी दिंदै युद्धग्रस्त होडाडी बन्दरगाहमा आंशिक युद्धविराम गर्न यमन सरकार र हुथी विद्रोही लडाकू सहमत भएका छन् ।
“बिहीबारको वार्ताले यमनी समूह यमनी जनताको अवस्थाप्रति गम्भीर भएको र आफ्नो देशको अवस्था थप जर्जर बनाउने पक्षमा नरहेको देखाएको छ ।”, उनले भने ।
उक्त सहमतिले सो क्षेत्रमा मानवीय सहायकता पु¥याउन मार्गप्रशस्त भएको महासचिव ग्युटेरेसले भने ।
“मानवीय सहायकता लिन सक्ने अवस्थाले पनि लाखौं लाख यमनी जनताको जीवनस्तर उकासिनेछ ।”, उनले भने ।
उनले वार्तामा बसेका दुवै पक्षप्रति आभार व्यक्त गर्दै अझै पनि सुल्झाइन बाँकी थुप्रै प्रश्न बाँकी नै रहेको बताए । दुवै पक्षबीच अर्को बैठक आगामी सन् २०१९ को जनवरीमा बस्ने सहमति भएको छ ।
पत्रकार भेटघाटमा स्वीडेनका विदेशमन्त्री मार्गोट वालस्ट्रमले दुई पक्षबीचको वार्ता ‘रचनात्मक’ भएको र द्वन्द्वरत पक्षलाई आपसी विश्वासमा ल्याएको बताइन् ।
“आजको दिन यमनको लागि विशेष दिन हो । साथै संरा सङ्घ र स्वीडेनको लागि पनि विशेष दिन बनेको छ ।”, उनले भनिन् ।
संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा यमन सरकार र हुथी विद्रोहीबीच शान्ति वार्ता भएको थियो ।
संरा अमेरिका र इरानले यमन शान्ति सम्झौताको स्वागत गरेका छन् ।
ट्वीटरमा उक्त सम्झौताको स्वागत गर्दै संरा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले साउदी सरकारको समर्थनप्राप्त राष्ट्रपति अब्द–रब्बु मानसोर हादी सरकार र इरानको समर्थनप्राप्त हुथी विद्रोहीबीचको युद्धविराम ‘उत्साहप्रद’ भएको बताए ।
“अगाडिको बाटो त्यत्ति सजिलो पक्कै छैन । तर हामीले धेरै असम्भव जस्ता लाग्ने कुरा पनि हुँदै गरेको देखेका छौं ।”, पोम्पेओले भने, “शान्ति सम्भव छ ।”
इरानका विदेशमन्त्रालयका प्रवक्ता बहरेम घासेमीले बिहीबारको सहमतिलाई ‘प्रतिबद्ध’ भएको भन्दै आगामी जनवरीमा हुने भनिएको वार्ता हुनेमा आशा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *