भर्खरै :

श्रमिक महिला दिवस बुझेर मनाऔं

यस वर्ष पनि फागुन २५ गते अर्थात् मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको तयारी सुरू भएको छ। दिवसकै सन्दर्भमा महिला भेला तथा गोष्ठी हुन थालेको छ। महिला हकहितका बारे ब्यापक बहस हुनु सकारात्मक कुरा हो। महिला दिवसको मर्म नबुझी मनाइने दिवसको अर्थ पनि हुन्न।
आर्थिक, सामाजिक र राजनीतिक रूपमा श्रमिक महिलाहरूको अधिकारको लडाइँको रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै आएको छ।
८ मार्चका धेरै ऐतिहासिक महत्त्वहरू छन् र ८ मार्च मजदुर–किसान तथा शारीरिक श्रम गर्ने र बौद्धिक काम गर्ने सर्वहाराको लागि सम्झनयोग्य दिन पनि हो। १९१७ को फेब्रुअरी क्रान्ति मार्च ८ को दिन रूसको पिटर्सवर्गका श्रमिक महिलाहरूको अगुवाइबाट सुरू भएको थियो र जारशाहीको विरोधमा श्रमिक महिलाहरू लामबद्ध भएर उठेका थिए।
सन् १९०९ फेब्रुअरी २८ मा अमेरिकी समाजवादी श्रमिक महिलाहरूले राजनीतिक अधिकारको लागि विशाल प्रदर्शन र सभा गरेका थिए। जसमा मुख्यतयाः मतदानको अधिकार महिलाले पाउनुपर्ने माग थियो। सन् १९१० मा कोपनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनमा क्लारा जेट्किन (जर्मन कम्युनिष्ट नेतृ) ले अमेरिकी श्रमिक महिलाहरूको सङ्घर्षलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुपर्ने प्रस्ताव राख्नुभयो। यसबाट पनि कम्युनिष्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् भन्ने प्रमाणित हुन्छ। त्यही सम्मेलनले नै सबै मुलुकमा हरेक वर्ष एकै दिन श्रमिक महिला दिवस मनाउने निर्णयका साथ नारा पनि तय गरेको थियो –’महिलाहरूलाई मतदानको अधिकारले समाजवादी सङ्घर्ष थप बलियो हुनेछ।’
पहिलो विश्वयुद्ध अघि धेरै पूँजीवादी देशहरूमा महिलाहरूलाई मतदानको अधिकार थिएन। त्यस समय संसदलाई प्रजातान्त्रिकीकरण गर्ने सवाल महिलालाई मतदानको मुद्दासँग जोडिएको थियो। महिलाहरूलाई उद्योगधन्दा र कलकारखानामा, ज्यासलमा श्रमिक वा नोकरको रूपमा मात्र राखिन्थ्यो र देशको अर्थतन्त्र धान्न प्रयोग गरिन्थ्यो। तर मतदानको अधिकार थिएन। युद्धसँगै आएको भोकमरी र महँगीले सारा श्रमिक महिला र गृहिणीहरूलाई राजनीतिक अधिकारको निम्ति र पूँजीवादी अर्थतन्त्रको विरोधमा तयार गर्‍यो। यो अवस्था विशेषतः अष्ट्रिया, इङ्गल्याण्ड, फ्रान्स, जर्मनीमा देखियो। जुलुस र प्रदर्शनले मात्र राजनीतिक परिवर्तन नहुने वा महँगी कम नहुने देखिएपछि राजनीतिक अधिकार प्राप्त गर्न मताधिकार चाहिने र श्रमिक महिलालाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमार्फत समाजवादको झण्डामुनि एकताबद्ध गर्ने बाटो अगाडि बढाइयो। फलस्वरूप पहिलो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सन् १९११ मार्च १९ को बैठकले मनाउने निर्णय गरेको थियो।
इतिहासको स्मरण गर्दै श्रमजीवी जनतालाई हक अधिकार दिलाउन समाजवादको रातो झण्डामुनि गोलबद्ध हुन आह्वान गर्दै मनाउन आवश्यक छ किनभने मार्च ८ समाजवादी आन्दोलनको एक हिस्सा हो।
मजदुर दैनिकको सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *