भर्खरै :

नेकां नेताहरूको ‘घोडाको मिलन’

२०४६ सालपछि देशमा सबभन्दा लामो समय शासन सत्ता सञ्चालन गरेको राजनीतिक दल नेपाली काङ्ग्रेसको शनिबारबाट महासमिति बैठक सुरू भयो । हुन त एउटा प्रजातान्त्रिक साङ्गठनिक पद्धति अङ्गीकार गरेको राजनीतिक दलको महासमिति बैठक त्यत्ति ठूलो चर्चा हुनुपर्ने विषय थिएन । प्रजातान्त्रिक प्रणाली अँगालेको राजनीतिक दलको लागि त्यस्ता बैठक नियमित रुपमा हुने आवधिक गतिविधि हो । त्यसलाई ठूलो हल्लाखल्लाको विषय बनाउन आवश्यक थिएन । तथापि प्रजातन्त्रवादी दाबी गर्दा पनि अप्रजातान्त्रिक रुपमा सञ्चालन हुने नेकाँले यदाकदा गर्ने यस्ता कर्मकाण्डले आवश्यकताभन्दा बढी चर्चा पाउने गरेको छ ।
शनिबारको उद्घाटन कार्यक्रममा पार्टीका दुई नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलले आपसमा हात मिलाउँदा सहभागी कार्यकर्ता आल्हादित बने । पार्टीभित्रको आन्तरिक विभाजनको कारण गत चुनावमा नराम्रो परिणाम भोग्नुपरेको पीडा र सत्ता बाहिर कम्तीमा पाँच वर्षसम्म बस्नुपर्दाको असुविधा त्यहाँ अभिव्यक्त भएको हुनुपर्दछ ।
नेकांभित्र मूल समस्या केही नेताहरूबीचको वैमनस्यताभन्दा पनि पार्टीको सिद्धान्तहीनता हो । प्रजातन्त्र र समाजवादको आदर्शलाई बोकेको नेकांका आजसम्मका सरकारले सिद्धान्तका सबै पार्टपुर्जा एक–एक गर्दै सिध्याइसकेका छन् । न नेपाली काङ्ग्रेसका कुनै पनि सरकार प्रजातान्त्रिक बन्न सक्यो न समाजवादका कुनै आदर्श व्यवहारमा उतार्न सक्यो । सत्तालाई देशको ढुकुटीमाथि रजाइँ गर्ने माध्यमको रुपमा मात्र नेकाले प्रयोग ग¥यो । पार्टी स्थापनाको आदर्श केही दिवसमा भाषण गर्ने शब्दमा मात्र सीमित राखियो । राजनीतिक मर्यादा र नैतिकता बोकेका नेता–कार्यकर्ता नेकांभित्र म्याद नाघेका लोसेहरूमा परिणत भए । प्रजातन्त्र र समाजवादको आदर्शलाई राज्यशक्तिको दुरुपयोग गरी लुटपाट गर्ने मानिसले कोटमा सिउरिने नक्कली प्लास्टिकको फूलमा सीमित राखियो । यसले नेकांलाई सिद्धान्तहीन भीडमा परिणत ग¥यो ।
नेकांले समाजवादको नारा लगाउँदै नवउदार अर्थव्यवस्थाको पक्षपोषण गरिरह्यो । राज्यको स्वामित्वमा रहेका उद्योग कलकारखाना सबै निजी क्षेत्रलाई नाफा कमाउने औजारमा परिणत गरिदियो । सत्ता राजनीतिको दलदलमा फस्दै देशका प्राकृतिक स्रोत साधन भारतीय शासक वर्गको पाउमा चढाउने एकपछि अर्को गल्ती गरिरह्यो । पार्टी कार्यकर्तालाई विचार र सिद्धान्तले भन्दा सत्ताको सुविधा र पैसाले काङ्ग्रेस बनाइरह्यो । नीतिको नेतालाई भन्दा आफूलाई खर्च दिनसक्ने नेता ठूलो मानिन थाले कार्यकर्ताले । नेता हुन विचार र नेतृत्व क्षमताभन्दा पैसा र मुढेबल आवश्यक मानिनथाल्यो । पार्टीभित्रका र बाहिरका चुनावमा लड्न उम्मेदवारको क्षमता र दृष्टिकोणभन्दा पनि पैसा र सम्पत्तिको हिसाबकिताब गर्ने विकृतिलाई नेतृत्व तहले नै प्रश्रय दिइरह्यो । पुँजीवादी प्रजातन्त्रको विचार अबको नेपाली समाजले स्वीकार्ने छैन भन्ने यथार्थबोध नेकांका नेताले बुझ्न चाहेनन् ।
देशको आजको अवस्थाको लागि लामो समय देशको सत्ता सञ्चालन गरेको शासक दलको यस्तो अवस्था पनि जिम्मेवार छ । तेल के हेर्नु, तेलको धारा हेर्नु–देश के हेर्नु देश चलाउने शासक दल हेर्नु भनेजस्तै नेकांभित्र स्याउँस्याउँती फैलिएको विकृतिको प्रभाव देशले पनि भोग्नुपरेको छ । त्यसकारण केही नेताहरूले हात मिलाउँदैमा नेकांभित्र मौलाएको सिद्धान्तहीनताको विषवृक्ष नास गर्न सहज छैन । नेताहरूको ‘घोडाको मिलन’ मा कार्यकर्ता आल्हादित भए अन्ततः कार्यकर्ताको भागमा फेरि पनि निराशा नै पर्नेछ ।
नेकांको दाँजोमा अहिले सरकार चलाइरहेको नेकपामा नामको मात्र भिन्नता हो । तिनमा खास कुनै अन्तर छैन । नेकांभित्रका सबै विकृति सरुवा रोग बनी नेकपालाई पनि सिध्याइरहेको यथार्थ अहिलेको देशको अवस्थाले पनि देखाइसकेको छ । भिन्नता–कसैले बोल्दा उखान टुक्काको प्रयोग बढी हुने त कसैले बोलेकै नबुझ्नेमात्र हो । तर तिनले गर्ने मूल कुरामा कुनै भिन्नता छैन । सिद्धान्तहीनताको रोगबाट आज दुवै पीडित देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *