भर्खरै :

खाडी मुलुकमा महिला कामदार जान रोकिएन

ललितपुर, १ पुस । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि तथा अधिकारकर्मीलगायतले सरकारले खाडी मुलुकमा जान रोक लगाए पनि महिला कामदार जान नछाडेको बताएका छन् ।
वैदेशिक रोजगारीमा गएका महिलाको संस्था पैरवीले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना गरेको ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा उनीहरूले कानुनी रूपमा जान नपाउँदा महिला कामदारले थप समस्या भोग्नु परिरहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले खाडी मुलुकमा महिला कामदारलाई रोक लगाए पनि व्यावहारिक रूपमा नरोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘महिला कामदार भारत, श्रीलङ्कालगायतका देश हुँदै खाडी मुलुक जान रोकिएका छैनन् ।’’
भारत जाने महिला कामदारको तथ्याङ्क नभए पनि धेरै खालका समस्या रहेको उहाँले उल्लेख गर्नुभयो । पैरवी संस्थाका अध्यक्ष मञ्जु गुरूङले नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धिका आधारमा पनि महिला कामदारलाई कुनै पनि देशमा जान रोक लगाउन नहुने बताउनुभयो ।
खाडी मुलुकमा गएका महिलाले कठिन परिश्रम गर्नुपर्दा उनीहरूको स्वास्थ्य समस्या आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘महिला कामदारमा पाठेघर खस्ने र मिर्गौलाको समस्या बढी देखिएको छ ।’’ घरेलु श्रमिकको अन्तर्राष्ट्रिय संस्थाका एसिया प्रशान्त सदस्य ज्ञानु केसीले देशभित्रै र वैदेशिक रोजगारीमा गएका महिलाको विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *