भर्खरै :

श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री विक्रमासिङ्गे पुनर्बहाली

कोलम्बो, १ पुस (एएफपी) । श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्गे प्रधानमन्त्रीमा पुनर्बहाली हुनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्गेलाई पुनर्बहाली गर्नुभएको छ । सिरिसेनाले गत अक्टोबर २६ का दिन विक्रमासिङ्गेलाई प्रधानमन्त्रीबाट हटाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
विक्रमासिङ्गेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको सपथ पनि गराउनुभएको एक सांसदले जानकारी दिएका छन् ।
विक्रमासिङ्गेलाई अपदस्त गरेर प्रधानमन्त्रीमा नियुक्त गरिएका महिन्दा राजापाक्षेले शनिबार राजीनामा दिएपछि आफैंले बर्खास्त गरेका विक्रमासिङ्गेलाई पुनर्बहाली गर्न सिरिसेना बाध्य हुनुभएको हो ।
राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षेलाई संसद र अदालतले अवैध भन्दै काम गर्न नदिएपछि उहाँले शनिबार राजीनामा दिनुभएको थियो ।
संसद र अदालत दुवैले संसदबाट बहुमत प्राप्त भएकाले विक्रमासिङ्गेलाई नै प्रधानमन्त्रीका रुपमा काम गर्न दिनुपर्ने आदेश दिएपछि सिरिसेनाले उहाँलाई नै फेरि नियुक्त गर्न बाध्य हुनुभएको हो ।
विक्रमासिङ्गेको पार्टी युनाइटेड नेसनल पार्टीले ट्वीटमार्फत राष्ट्रपतिको अवैधानिक कदमलाई परास्त गर्न र विधिको शासन स्थापित गर्न लड्नु भएका सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।
विक्रमासिङ्गेका एकजना प्रवक्ताले उहाँले चाँडै नै मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । नयाँ वर्ष सन् २०१९ का लागि वार्षिक बजेट बनाउने विषयमा पनि उहाँले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *