भर्खरै :

मेघालयदेखि चितवनसम्मको जीवन यात्रा

–हरिप्रसाद दुवाल
सन् १९८७ मा अचानक खसिया जातिको आन्दोलन सुरु भयो । ‘डखार भाग’, (Go Back Nepal) लगायत नारा लगाउँदै नेपालीलाई धपाउन खसिया जातिले आन्दोलन थालेको थियो । त्यसपछि सबै नेपाली आ–आफ्नो ज्यान बचाउन भागा–भाग गर्नुपर्ने अवस्था आयो । नेपालीले नै चलाएको स्कूलमा शरणार्थी भएर दुई महिना बस्नुपर्यो । त्यसबेला पानी परेर गाईवस्तु पनि धेरै मरे । त्यस खसिया जातिको आन्दोलनको कारण प्रायः नेपाली नेपाल फर्किन बाध्य भए ।
यो घटना हिन्दुस्तानको मेघालय प्रान्तको राजधानी सिलोङमा घटेको हो । जहाँ नेपालीको बाक्लो बस्ती अझै पनि छ । खसिया जातिको आन्दोलनले पीडित भएका नेपालीमध्ये ठाकुरप्रसाद शर्मा पौडेल पनि एक हुनुहुन्छ । उन्नाइस वटा गाई पालेर आफ्नो परिवार पाल्दै बस्नुभएका शर्मालाई खसिया जातिको आन्दोलनले आफ्नो मातृभूमि नेपाल फर्कन बाध्य बनाइदियो ।
पर्वत जिल्लाको तत्कालीन शिवालय गाउँ पञ्चायतस्थित खरेहा गाउँमा जन्मनुभएका ठाकुरप्रसाद शर्मा अठार वर्षको उमेरमा कामको खोजीमा सिलोङ जानुभएको थियो । सिलोङमा बाहुन दाइमार्फत गाई पाल्न सुरु गर्नुभयो । गाई पाल्न सुरु गरेर उन्नाइस वटासम्म पु¥याउँदा अठ्ठाइस वसन्त पार भएकोे पत्तो नै नपाएको उहाँ सुनाउनुहुन्छ । पाँच छोरी र चार छोरा सिलोङमै पाउनुभयो भने एक छोरा चितवन आएर पाउनुभयो । यसरी दश सन्तानका धनी बाबु बन्न सफल हुनुभयो ।
उहाँले सन् १९८१ मा खसिया जातिको आन्दोलन प्रत्यक्ष हेर्ने मौका पाउनुभयो । बङ्गाली जातिलाई धपाउन खसिया जातिले आन्दोलन गरेको थियो । त्यही खसिया जातिले एक दिन नेपालीलाई धपाउन आन्दोलन गर्लान् भनेर कल्पना नै नगरेको उहाँ बताउनुहुन्छ तर सन् १९८७ मा खसिया जातिले नेपाली धपाउ आन्दोलन सुरु गरेपछि बाध्य भएर नेपाल फर्किनुभयो । तीन छोरीको सिलोङमै बिहेबारी भइसकेकोले छ सन्तानसहित नेपाल फर्केर उहाँले रत्ननगरको टाँडीस्थित कमर्श क्याम्पस (हालको सहिद स्मृति क्याम्पस) अगाडि चिया पसल सञ्चालन गर्न थाल्नुभयो । उन्नाइस वटागाई पालेर रमाउन व्यस्त भइसकेका उहाँ रत्ननगर आएर चिया पसलमा सीमित हुनुपर्दा दुःख लागेको सम्झनुहुन्छ । ‘ज्यानभन्दा ठूलो केही होइन, ज्यान बचाएर चितवन आइयो’ उहाँ भन्नुहुन्छ । चिया पसल सुरु गर्नुभएको वि.सं. २०४४ को कुरा हो । वि.सं. २०४५ मा यताउताबाट जोरजाम गरेर रत्ननगरकै मोहनामा घडेरी किनेर बसोबास सुरक्षित गर्नुभयो । अहिले त्यही ठाउँमा कान्छो छोरासँगै बस्दै आउनुभएको छ ।
वि.सं. १९९८ साउन १४ गतेका दिन आमा मतिदेवी र बुबा लक्ष्मीदत्त उपाध्यायको कोखबाट पहिलो सन्तानको रुपमा जन्मनुभएका उहाँले औपचारिक शिक्षा लिन पाउनुभएन । तैपनि बाहुन जातिको किसान परिवारमा जन्मिनुभएकाले उहाँले घरमै वेद अध्ययन गर्ने र सिक्ने अवसर पाउनुभयो । त्यसैले आफ्ना सन्तानहरूलाई पढाउनुपर्छ भन्ने चेतना आफूसँग भएको उहाँ बताउनुहुन्छ ।
अहिले बाहुन जातिमा पनि विकृति बढेको सन्दर्भमा उहाँले भन्नुहुन्छ–बाहुनको नियम तोड्ने काम बढेको छ । दिउँसै रक्सी र बियर पिउने बढेका छन् । नयाँ पुस्तामा यो राम्रो लक्षण होइन ।
दुईतिहाइको सरकार चलाउन पार्टीले चुनावमा दिएका आश्वासन केही पनि पूरा गर्न सकेको छैन, प्रयास पनि भएको छैन । ज्येष्ठ नागरिकहरूको मत पाउन सरकारमा गएपछि पाँच हजार भत्ता दिने आश्वासन दिएको थियो । सरकारले केही गर्न सकेको छैन । बलात्कारका घट्नाहरू बढेका छन् । निर्मला पन्तको बलात्कार घट्ना र हत्याको वास्तविक दोषीहरूलाई समातेर कारबाही गर्ने हिम्मत सरकारले गर्न सकेको छैन । ठाकुरप्रसाद शर्मा पनि दुईतिहाइको सरकार आएपछि केही फरक अनुभव भएको बताउँदै चुनावमा ज्येष्ठ नागरिकलाई सरकारमा गएपछि पाँच हजार दिने भनेको पनि सबै बकवास भएको भन्नुहुन्छ ।
सरकारले नेपालमै रोजगारीको व्यवस्था गरेको छैन । त्यैसैले बाध्य भएर युवा पुस्ता विदेश पलायन भएका छन् । नेपालका जग्गा जमिन बाँझो हुन थालेको छ । जग्गाको किनमेलमात्र बढेको छ । जहाँ पनि कमिसनको मात्र चलखेल बढेको छ । युवा पुस्तालाई म्यान पावर कम्पनीमार्फत विदेशमा बेचेको प्रति ठाकुर प्रसादशर्मा दुःखी हुनुहुन्छ । वास्तवमा कोही पनि खुसी छैनन् युवा पुस्ता विदेश पलायन भएकोमा ।
स्थानीय र सङ्घीय चुनावपछि बनेको कथित कम्युनिष्ट सरकारले शिक्षा निःशुल्क र अनिवार्य तथा स्वास्थ्य निःशुल्क गर्नेमा चासो नै दिएको छैन । सरकारको चरित्र सबै पँुजीवादी ढङ्गकै छ । सरकारले स्वास्थ्य बीमाको व्यवस्था गरे पनि सोअनुसार उपचार गर्न पाएका छैनन् बिरामीहरूले । ठाकुरप्रसाद शर्मा पनि दमको बिमारी हुनुहुन्छ । उहाँले केही वर्षदेखि अक्सिजन प्रायः चौबीसै घण्टा लाउनुपर्छ । त्यसको व्यवस्था घरमै छोराहरूले गरेका छन् । उपचार गर्न सरकारी अस्पताल जाँदाआई सीयूमा ठाउँ नपाएर प्रात्ेटमा बाध्य भएर उपचार गर्नुपरेको तीतो अनुभव उहाँ सुनाउनुहुन्छ । वि.सं. २०४९ देखि दमको लक्षण देखिए पनि उहाँले वि.सं. २०५१ देखि निरन्तर दमको औषधि सेवन गर्दै आउनुभएको छ ।
आफूले जस्तै दुःख र सङ्घर्ष छोराछोरीहरूले गर्न नपरुन् भन्ने इच्छा हरेक आमाबुबालाई हुन्छ । ठाकुरप्रसाद शर्मा पनि त्यसबाट अछुतो रहनुभएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *