भर्खरै :

पहेंलो भेस्ट आन्दोलन चालू

पेरिस, १५ डिसेम्बर । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले केही सहुलियतको घोषणा गरे पनि फ्रान्समा चालू पहेंलो भेस्ट आन्दोलन रोकिएको छैन । इन्धनको मूल्यवृद्धि र महँगीको विरोधमा सुरू भएको आन्दोलनमा पछिल्लो समय जनजीवनका अन्य माग पनि समावेश हुँदै गएका छन् । म्याक्रोंको घोषणाले आफ्ना माग पूरा नगरेको भन्दै आन्दोलनकारीले आन्दोलन जारी राखेका छन् ।
गएको शनिबार स्थानीय समयअनुसार बेलुकी छ बजे ६६ हजार मानिसले सरकारविरोधी प्रदर्शन गरेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।
आन्दोलनकारीहरूले जताततैबाट आँखा पर्ने पहेंलो रङ्गको भेस्ट लगाएर प्रदर्शनमा भाग लिने गरेकाले आन्दोलनको नाम नै पहेंलो भेस्ट आन्दोलन बनेको छ । उनीहरूले यसरी सडकमा प्रदर्शन गरिरहेको पाँचौ साता पुगेको छ । फ्रान्सबाट सुरू भएको आन्दोलन युरोपका अन्य देशका साथै मध्यपूर्वी इजरायलमा समेत फैलिसकेको छ । सबै देशका आन्दोलनले आर्थिक विभेद र सामाजिक न्यायका मुद्दालाई आफ्ना मुद्दा बनाएका छन् ।
फ्रान्समा राष्ट्रपतिको घोषणासँग आन्दोलनमा सहभागी केही घटे पनि आन्दोलनको राप भने नसेलाएको बताइएको छ । अत्यन्त चिसो मौसममा पनि पेरिसवासी र फ्रान्सका अन्य देशका जनता लगातार आन्दोलनमा कस्सिएका छन् । फ्रान्सेली प्रहरीको चर्को दमनबीच सरकारको रवैयाविरुद्ध उनीहरूको प्रदर्शनलाई नवउदारवादले निम्त्याएको आर्थिक विषमताको परिणामको रुपमा लिइएको छ ।
युरोपेली समाजमा चालू आर्थिक र सामाजिक विभेदको जगमा त्यो आन्दोलन उठेको विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *