भर्खरै :

पुरुष विदेशिएपछि सिंजामा महिलामात्र

– उपेन्द्र न्यौपाने
सिञ्जा, २ पुस । यतिबेला जुम्ला सिञ्जा क्षेत्रका पुरुष पैसा कमाउन भारत जाने गरेका छन् । पुरुष सबै भारततिर गएपछि गाउँ महिलामय भएको छ । जुम्लाका अधिकांश गाउँमा अहिले महिला तथा वृद्धवृद्वा मात्रै भेटिन्छन् । त्यसमध्येको एक प्रतिनिधि गाउँ हो यहाँको कोइरेली गाउँ । कोइरेली गाउँमा युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन् ।
कोइरेली गाउँका हरेक बस्तीमा अहिले पुरुष भेटाउन असम्भव छ । गाउँमा पुरुष नहुँदा कुनै अप्रिय घटना नघटोस् भनेर महिलाले पूरै गाउँको रातदिन रेखदेख गर्नुपर्ने स्थानीय जयलक्ष्मी बुढा बताउनुहुन्छ । गाउँका महिला दिनमा स्याउला, सोत्तर तथा दाउरा सङ्कलन गर्न वा अन्य कुनै काममा निस्किएको बेला घरमा भएका अन्य महिलाले सिङ्गो गाउँनै रेखदेख गर्ने गरेको रामलक्ष्मी रोकायाले बताउनुभयो ।
“पुरुष कालापहाड गएपछि गाउँ शून्य छ, कोही मर्दा मलामी जाने र आवश्यक पर्दा पछाडी हिँड्ने लोग्नेमान्छे छैन”, उहाँले भन्नुभयो, “जिल्लामा हिंसाका घटना बढिरहेका छन् । यो बेला हाम्रो गाउँमा कुनै अप्रिय घटना नघटोस् भनेर हामी आफै गाउँ कुर्न थालेका हौँ ।” महिलाकै अगुवाइमा कोइरेली गाउँ मानव अधिकारमैत्री बनेको छ भने छाउपडी, बालविवाह, मद्यपान र धूमपानमुक्त समाज घोषणा भइसकेको छ । सिञ्जा गाउँपालिका– २ मा पर्ने ३८ घरधुरी रहेको यो गाउँ जिल्ला सदरमुकाम भन्दा ४० कोष टाढा पर्छ । गरीबी र अशिक्षाका कारण धन कमाउन कालापहाड नै जानुपर्छ भन्ने सोचाइ यस गाउँका पुरुषमा छ ।
गाउँका पुरुषमध्ये एक युवक नेपाली सेनामा कार्यरत छन् भने अन्य सबै युवा बेरोजगार छन् । मंसिर लागेसँगै उनीहरू फुर्सदको समय धन कमाउन भन्दै कालापहाड निस्किएका हुन् । यसरी पुरुष एकमुष्ट कालापहाड निस्किने कोइरेली जिल्लाको प्रतिनिधि गाउँ मात्रै हो तर सिञ्जा क्षेत्रका अधिकांश गाउँमा यतिखेर पुरुषको शून्यता छ ।
सिञ्जा क्षेत्रसँगै जुम्लाका अधिकांश बेरोजगार पुरुष मंसिरदेखि चैत महिनासम्म धन कमाउन कालापहाड जाने गर्दछन् । यो समय जुम्लामा घरायसी कामसँगै विकासे गतिविधि पनि खासै नहुने भएकाले यहाँका युवादेखि वृद्धसम्म कालापहाड जान बाध्य छन् ।
हालसम्म जुम्लाबाट के कति पुरुष कालापहाड छिरे भन्ने कसैसँग यकिन तथ्याङ्क नभए पनि यो समयमा कम्तीमा पनि २० हजार पुरुष कालापहाड छिर्ने गरेको अनुमान छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *