भर्खरै :

कस्ता राष्ट्रपति खोज्ने ?

वाइडबडी विमान खरिदमा नीतिगत र आर्थिक भ्रष्टाचारको आशड्ढा बाक्लो बन्दै गइरहेको अवस्थामा सरकारले भीभीआईपीका लागि भनी १ अर्ब ५० करोड रूपैयाँ मूल्यको हेलिकप्टर खरिद गरेको छ । प्रचलित खरिद ऐनलाई बेवास्ता गरी सेनाले विनाप्रतिस्पर्धा हेलिकप्टर खरिद गर्नुले वाइडबडीमा जस्तै नीतिगत र आर्थिक भ्रष्टाचारको आशड्ढा गरिएको छ । वाइडबडी खरीदसँग जोडिएर उठेका प्रश्नको सरकारले प्रस्ट जवाफ अझै दिन नसकेको अवस्थामा प्रतिक्रिया मिचेर हेलिकप्टर खरीद गर्नुले सरकारप्रतिको विश्वसनीयता घट्दै गएको छ ।
राष्ट्रपतिको ‘सवारी’ को लागि रु.१४ करोड लागतको सुविधासम्पन्न गाडी खरिदलाई जनताले निको मानेका छैनन् । हिजोका राजाहरूले जनताका कहरको वास्ता नगरी आफ्नै सुविधाका लागि राज्यकोष ब्रह्मलुट गर्थे । राजाहरू सोध्थे, “के प्रजाले दूध र भात पनि खान पाएनन् ?” जनताका दुःख दरबारका अग्ला अग्ला पर्खालले छेकेको हुन्थ्यो । राजाका सामु प्रजाले ‘महाराजको लुगा’ को मुक्तकण्ठले प्रशंसा गर्थे । तर, मन–मनमा प्रजा सोच्थे, “राजा त नाङ्गै ¤” राजतन्त्र त्यसै कारण खोक्रो बन्दै गयो । खोक्रो रूख ढल्न धेरै समय लागेन । जनआन्दोलनको हुरीले राजतन्त्र ढल्यो र गणतन्त्र आयो ।
राजाले ओगटेको राष्ट्रप्रमुखको ठाउँ राष्ट्रपतिले लिए । तर, राष्ट्रपति राजा होइनन् । राजा नै बन्न खोज्दा इतिहासमा धेरै शासकले भुइँ चाट्नु परेको छ । राजाको अत्याचार र स्वेच्छाचारिताको विरोधमा राजतन्त्र मिल्काएका जनताले राष्ट्रपतिबाट पनि उस्तै व्यवहार हुँदा तिनलाई मिल्काएका मनग्य ऐतिहासिक दृष्टान्त छन् । राष्ट्रपतिबाट जनताले अपेक्षा गर्ने भनेको जनताका दुःख देख्न राजालाई जस्तै राष्ट्रपतिलाई दरबारका पर्खालले नछेकून् भन्ने हो । राष्ट्रपतिको छाला पनि जनताको छालाजस्तै घामले डढेको होस् भन्ने हो । हात किसानका जस्ता रूखो होऊन् भन्ने हो । तर, यतिबेला राष्ट्रपतिका नाममा भइरहेका गतिविधिले राष्ट्रपति राजा (महारानी) बन्न खोज्दै छिन् भन्ने भान सर्वत्र भइरहेको छ ।
नेपालको संविधानले राष्ट्रपतिलाई संवैधानिक राष्ट्रप्रमुखको स्थान दिएको छ । राष्ट्रपतिले शासन गर्छ तर राजनीति गर्दैन । राष्ट्रपति सबै देशवासीका एकतालाई प्रतिनिधित्व गर्ने राजनीतिक पद हो । राष्ट्रपति जनताजस्तै बानेश्वर चोकमा सवारी जाममा आफ्नो पालो कुरेर बसेको, असन बजारमा जनतासँग हिंडेको, चिसोले पिरोलिएका चेपाङ परिवारसँग न्यानो साट्दै हिंडेको, छायाँमा परेका पर्यटकीय स्थलको प्रवद्र्धनको लागि भ्रमण गरेको, दुर्गम गाउँका महिला समस्याबारे सरकारको ध्यानाकर्षण गरेको, कुनै सरकारी विद्यालय वा क्याम्पसका विद्यार्थीलाई उत्प्रेरणा दिइरहेको, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी र कलाकारलाई उत्साहित गरिरहेका राष्ट्रप्रमुख नेपाली जनताले चाहेका राष्ट्रपति हुन् ।
सडकका दुवै लेन बन्द गरेर सवारी हुने, करोडौं राज्यकोष खर्च गरेर सुविधासम्पन्न गाडी चढ्ने, अर्बांैको हेलिकप्टर चढ्ने, धार्मिक धाम चहार्दै हिंड्ने राष्ट्रपति नेपाली जनताले खोजेका होइनन् । नेपाली जनताले भोगिरहेका अनेकन सामाजिक समस्याबारे राष्ट्रपतिले आजसम्म कुन विषयमा ध्यानाकर्षण गरिन् ? कुन विषय समाधानको लागि सरकारसमक्ष आग्रह गरिन् ?
राष्ट्रपति ‘सेतो हात्ती’ बन्नु हुन्न । जनताले राष्ट्रपतिलाई बोझ ठान्ने परिस्थिति आउनु हुन्न । आफूले खाइपाई आएको सुविधासमेत जनताको हितमा खर्च गर्ने उदारता देखाउनुपर्ने राष्ट्रपतिले आफ्नो हितलाई मात्र प्राथमिकतामा राखेर राज्यकोषको प्रयोग गर्नुले राष्ट्रपति आलोच्य बनिरहनेछन् । राजतन्त्रको समयदेखि दिने गरेको, हुने गरेको जस्ता तर्क गरी राष्ट्रपतिलाई पनि त्यही सुविधा उपभोग गर्न उत्साहित गर्नुले राजतन्त्रजस्तै राष्ट्रपतिलाई बद्नाम गर्नेछ । राज्यकोषको अपव्यय गरेका राष्ट्रपति इतिहासमा कहिल्यै जनप्रिय बनेका उदाहरण छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *