भर्खरै :

पोखरामा नेपाल साहित्य महोत्सव

पोखरा, ७ पुस । पोखरामा नेपाल लिटरेचर फेस्टिभल २०१८ सुरु भएको छ । पीएन क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोन र एलियम्मा जोनले शनिबार कार्यक्रम उद्घाटन गरेका छन् । केरलामा जन्मिएका जोनले कालान्तरमा काठमाडांैँ हुँदै पोखरा आएर यहाँको शिक्षाको क्षेत्रमा काम गरेको विषय एवम् उनका योगदानबारे कार्यक्रममा चर्चा भयो । उनका विषयमा साहित्यकार सरुभक्त श्रेष्ठले बोलेका थिए ।
सो अवसरमा नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्कीले ‘अन्यायमा महिला’ विषयमा विद्वत्प्रवचन दिएकी थिइन् । त्यसअघि पत्रकार एवम् लेखक हरिबहादुर थापाले कार्कीका विषयमा बोलेका थिए । प्रधानन्यायाधीश हुने बेला धेरैले ‘जस्केलाबाट छिरेको व्यक्ति’का रुपमा चित्रण गरेको र पछि कार्कीले गरेको न्यायसम्पादनले उनलाई एउटा सफल नायक बनाएको थापाले बताए ।
विद्वत्प्रवचन दिँदै कार्कीले हिंसामा परेका महिलाको विषयमा न्यायालयले समेत उचित न्याय दिन नसक्ने अवस्था रहेको धारणा राखिन् । सही न्यायाधीश भएको अवस्थामा मात्र पीडित महिलाले न्याय पाउने उनको भनाइ छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या एवम् ललितपुरमा भएको सामूहिक बलात्कारको विषयमा समेत प्रहरीले सही निर्णय गर्न नसकेकोमा उनले चिन्ता प्रकट गरेकी छिन् । त्यसैले प्रहरीले गरेको निर्णयमा चित्त नबुझे न्यायालयले त्यसलाई पुनः अनुसन्धान गर्न दिन सक्ने निर्णय गर्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रमको दोस्रो सेसनमा बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ सार्वजनिक गरियो । तेस्रो सेसनमा ‘अझै रमिता छ’ शीर्षकमा मञ्जुश्री थापा र कृष्ण धरावासीसँग केदार शर्माले संवाद गरेका थिए ।
चौथो सेसनमा निकाला स्ट्रिनसँग कञ्चन बुढाथोकीले ‘द आर्ट अफ दि ग्राफिक मेम्वायर’ बारे संवाद गरेकी थिइन् । साथै सोही समयमा ‘अन्सर्टेन जर्निज’ बुक विमोचन भएको थियो । पुस्तक विमोचनसँगै एज पनिरसल्भान, जनकराज सापकोटा र सब्रिना तोप्पासँग रम्यता लिम्बूले संवाद गरिन् ।
पाँचौं सेसनमा कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्ले र चर्चित स्तम्भकार खगेन्द्र संग्रौलाले ‘सम्पादक र स्तम्भकार’ शीर्षकमा अन्तरसंवाद गरे ।
महोत्सव पुस १० गतेसम्म चालु रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *