भर्खरै :

स्थानीय सरकार र शैक्षिक अग्रसरता

सुनिल प्रजापति
सस्तो र गुणस्तरीय शिक्षा दिने उद्देश्यले आजभन्दा १९ वर्षअघि स्थापना भएको ख्वप मावि र त्यही जगमा उभेर ख्वप कलेज, ख्वप इञ्जिनियरिङ कलेजलगायत सात शैक्षिक संस्थाहरूले दशभरका जनताको सेवा गरिरहेका छन् । देशका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गरेर भक्तपुर नपाले देशकै निम्ति महत्वपूर्ण योगदान गर्दै आएको छ । यो हामी सबैका लागि गौरवको विषय हो ।
गरिब तथा जेहेनदार विद्यार्थीको लागि नगरपालिकाअन्तर्गत सञ्चालित कलजहरूले वर्षको करोडौं बढी रुपैयाँ बराबरका छात्रवृत्ति वितरण गर्दै आएका छन् । पुस ३ गतेमात्रै ख्वप ई. कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङमा ८७ जना विद्यार्थीको लागि ६३ लाख १३ हजार रकम छात्रवृत्ति वितरण ग¥यौं । छात्रवृत्तिमा अध्ययनरत प्रायः सबैजसो विद्यार्थीहरूले परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा हामी अत्यन्त खुसी छौं ।
हामीले नगरपालिकाअन्तर्गत सञ्चालित कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि अध्ययनसँगै अनुशासनमा पनि जोड दिंदैछौं । प्रत्येक विद्यार्थीलाई आ–आफ्नो क्षेत्रमा दक्ष बनाउनुको साथै अनुशासित नागरिक तयार गर्ने हामीले आफ्नो कर्तव्य ठानेका छौं ।
नेपालको संविधानले मावि तहसम्मको शिक्षा निःशुल्क भनेको छ । संविधानअनुसार सरकारले आवश्यक कानून र आर्थिक व्यवस्था गर्न नसक्दा अहिले पनि हामी शुल्क लिएर पढाउन बाध्य छौं । सङ्घ सरकारले आवश्यक बजेट विनियाजन गरिदिए भक्तपुर नपाले मावि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नेछ । हामी उच्च शिक्षासम्मै निःशुल्क गर्न चाहन्छौं ।
भक्तपुर नपाले शैक्षिक क्षेत्रमा गरिरहेको प्रगतिलाई देखेर देशका विभिन्न महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र जनप्रतिनिधिहरू आएर हाम्रा अनुभव बुझ्दै हुनुहुन्छ । हामीले कलेज सञ्चालन गर्दाका तीता अनुभवहरू पनि उहाँहरूसँग साट्ने गरेका छौं । हामीले कुनै पनि शैक्षिक संस्थाको स्वीकृति सहजै प्राप्त गरेका थिएनौं । करिब दुई दशकपछि भक्तपुर नगरपालिकाले शिक्षामा देशभरकै अगुवाको भूमिका खेलिरहेको छ । यो नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूबाट मात्रै कदापि सम्भव थिएन र छैन । यहाँका स्थानीय जनताको निरन्तरको सहयोग र नेपाल मजदुर किसान पार्टीका निर्देशनबाट यो सम्भव भएको हो । राजनीतिक कार्यकर्ताहरू देश र जनतामा समर्पित हुनुपर्छ र त्यसले मात्रै समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने सानो उदाहरण भक्तपुरले दिइरहेको छ ।
अहिले दैनिक हजारौँको सङ्ख्यामा शिक्षित युवाहरू विदेशिने गरेका छन् । विश्वविद्यालयबाट प्राप्त शैक्षिक प्रमाणपत्र दराजमा थन्काएर ती युवाहरू खाडी, मलेसियालगायतका देशमा गएर दुःख कष्ट गर्दैछन् । तिनीहरूमध्ये धेरैजसोलाई म्यानपावर कम्पनीले ठगेका छन् । यसबारे हरेक विद्यार्थी सचेत हुनुपर्छ । ख्वप कलेजमा अध्ययन गर्न विद्यार्थीहरूले आफूले प्राप्त गरेका ज्ञान र सीप नेपाल र नेपाली जनताकै निम्ति लगाउन जोड दिदैँछौं ।
हामीसँग अध्ययन–अनुसन्धानका धेरै विषयहरू छन् । विभिन्न देशका गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्थाहरूले अनुसन्धानको नाउँमा करोडौँ रकम खर्च गरिरहेका छन् । तर, अझै त्यसले उपलब्धि दिन सकिरहेको छैन । फाहोरमैला व्यवस्थापन त्यसको उदाहरण हुनसक्छ । फोहोर मैला व्यवस्थापन हामी सबैको चुनौती बनिरहेको छ । ख्वप कलेजमा वातावरण विज्ञान पढ्ने भाई–बहिनीहरूले यहाँका शिक्षकहरूका सहयोगमा फोहर मैला व्यवस्थापनको स्थायी समाधानका उपायहरू निकाल्न सक्छन् । स्वीडेन र नर्वेजस्ता देशहरूले फोहोर रिसाइक्लिङ गरेर ऊर्जा उत्पादन गर्ने र हजारौंलाई रोजगारीसमेत दिइरहेका छन् भने हामीले त्यसको प्रयास किन नगर्ने ? के त्यो हाम्रो लागि असम्भव छ र ? भक्तपुर नपाले कुहिन र नकुहिने फोहर अलग–अलग सङ्कलन गर्ने काम सुरु गरेको छ । कुहिने वस्तुको कम्पोष्ट मल बनाई बिक्री वितरण गर्दै आएका छौं । सरसफाइको लागि मात्रै नगरपालिकाको वर्षका ६ करोड ५० लाखभन्दा बढी बजेट खर्च हुन्छ । त्यसमा न्यूनीकरण गर्ने प्रयास गर्दैछौं । हनुमन्ते खोलालाई सुधार गरेर सफा पानी बग्ने जीवित खोला किन बनाउन सक्दैनौं, उद्योगबाट उत्पादित प्रदूषणलाई कम गर्न के गर्न सकिन्छ ? हाम्रो वरिपरिको वातावरण कसरी स्वच्छ र सफा बनाउन सकिन्छ ? यसबारे वातावरण विज्ञानका शिक्षकहरू र अध्ययनरत भाइबहिनीहरूले ध्यान दिनुभए भक्तपुरको लागि मात्र होइन देशकै लागि महत्वपूर्ण योगदान हुनेछ ।
यहाँ पढ्ने बीबीएस र एमबीएसका विद्यार्थीहरूलाई भक्तपुर नपा र त्यसअन्तर्गतका कलेजहरूमा इन्टर्नसीप गर्ने व्यवस्था मिलाएका छौं भने कति विद्यार्थीहरूलाई जनस्वास्थ्य केन्द्रहरूमा प्रयोगात्मक अभ्यास गराइरहेका छौं ।
(ख्वप माविको १९ औं, ख्वप कलेजका १७ आंै र शारदा माविका २८ औं वार्षिक उत्सव समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *