भर्खरै :

अमेरिकाको सिरिया र अफगानिस्तानबाट बहिर्गमन, समर्थन र आलोचना

दिलीप शर्मा
सन् २०११ मा सुरू भएको सिरिया गृहयुद्धमा विपक्षीलाई सहयोग गर्दै आएको अमेरिकी सेनाले सिरियाली जनताका माग सम्बोधन नगराई आफ्नो सेनालाई फर्काउने विषयले यो साता निकै स्थान पाएको छ ।
आठ वर्षको समयमा पाँच लाखभन्दा बढी सिरियालीले ज्यान गुमाएका छन् । एक करोड ८३ लाख जनसङ्ख्या रहेको सिरियामा झण्डै आधा जनसङ्ख्या आन्तरिक तथा बाह्यरूपमा विस्थापित भए । सिरियाको प्रायः क्षेत्रका प्राचीन एवम् सांस्कृतिक महत्वका संरचना ध्वस्त बनेका छन् । हजारौंको सङ्ख्यामा नागरिकको अङ्गभङ्ग भएको छ ।
यसैबीच, सिरियाली आन्दोलनमा विद्रोहीलाई सघाउँदै आएको अमेरिकाले सिरियाबाट आफ्नो सेनालाई फर्काउने सङ्केत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साता ट्वीटर सन्देशमा वासिङ्टनले सिरियाबाट सेना फिर्ता गर्न लागेको जानकारी दिनुभयो । यसबारे पक्ष विपक्षमा धारणा आउन थालेका छन् ।
सिरिया र अफगानिस्तानमा भएको अमेरिकी लगानी प्रत्युत्पादक बनेको ट्रम्पको बुझाइ छ । जसलाई कुनै न कुनै बहानामा रोक्न ट्रम्प प्रशासन चाहन्छ भने केही अमेरिकी नेताले सिरियाबाट तत्काल फर्किनुले अमेरिका सिरियाली युद्धमा हारेको सन्देश जाने भएकाले सेनालाई निस्क्रियरूपमा राखे पनि नफर्काउनु बुद्धिमानी हुने बताउँछन् ।
बेलायतले सिरियाबाट अमेरिकी सेना फर्किहाल्ने अवस्था नभएको भन्दै यसबारे पुनःविचार गर्न आग्रह गरेको छ । रूसले ट्रम्पको सेना फिर्ता गर्ने कदमलाई सही निर्णय भनेको छ भने अमेरिकी राष्ट्रपतिको दल रिपब्लिकन पार्टीकै कतिपय नेताले यसलाई गम्भीर भूल हुने भनेका छन् ।
राष्ट्रपतिको निर्णयसँग बाझिने गरी अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सिरियामा आइएस विद्रोहीविरुद्धको कारवाही अभियानको अर्को चरणबारे तयारी गरिरहेको बताएको छ । तर उसले नयाँ चरणबारे केही बताएको छैन । राष्ट्रपति ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको र अब सिरियामा अमेरिकी फौज रहिरहनुको औचित्य समाप्त भएको घोषणा गरेको भोलिपल्ट गत बिहीबार रक्षामन्त्री म्याटिसले राजीनामा दिएका छन् । राष्ट्रपतिका निकै विश्वस्त पात्र मानिएका रक्षामन्त्री जेम्स म्याटिस र ट्रम्पबीच यस पहिले कुनै विवाद रहेका सूचना सार्वजनिक भएका छैनन् । यसरी हेर्दा राष्ट्रपतिले सिरिया र अफगानिस्तानबाट सेनालाई फिर्ता गर्ने निर्णय नै रक्षामन्त्रीको राजिनामाको मुख्य कारण हो भन्नसक्ने अवस्था देखिएको छ । म्याटिसका आलोचकले राष्ट्रपति ट्रम्पका कैयौं आक्रामक कदमलाई कार्यान्वयनमा लैजान म्याटिसले ढिलाइ गर्नुभएको बताएका छन् ।
सिरियाको उत्तर–पूर्वी क्षेत्रमा स्थानीय सैनिकलाई आइएसविरुद्धको सङ्घर्षमा सहयोग गर्न दुई हजारको हाराहारीमा अमेरिकी स्थल सेना तैनाथ छन् । आइएस पराजित भएको निष्कर्षमा पुगे पनि फेरि उसले आफ्ना गतिविधि विस्तार नगरोस् भन्नका लागि सीमित अमेरिकी सैनिक सिरियामा रहनुपर्ने भन्ने धारणा कतिपय अमेरिकासँग सैनिक सहकार्यमा रहेका विश्व समुदायको बुझाइ छ ।
अमेरिकाले आफ्ना सेना फिर्ता लैजानुको अर्थ सिरियामा रुस तथा इरानको प्रभाव बढ्ने माध्यम बनाउने मार्ग पनि बन्न सक्ने चिन्ता यूरोपेली सङ्घ, यसमा आबद्ध केही प्रभावशाली राष्ट्रहरू, बेलायत र अमेरिकी गठबन्धनमा रहेका अन्य मुलुकहरूको रहेको छ ।
जनरल म्याटिसको राजीनामाबारे फ्लोरिडाका निकै प्रभावशाली रिपब्लिकन पार्टी सिनेटर मार्को रुबियोले ट्वीट गर्दै शुक्रबार भने, “हाम्रो नीति गम्भीर भूलतर्फ उन्मुख रहेको यसले सङ्केत गरेको छ । यसले हाम्रो मुलुकलाई जोखिममा पार्नेछ, हाम्रा गठबन्धनलाई नोक्सानमा पार्नेछ, र हाम्रा शत्रुहरूलाई सशक्तीकृत गर्न मद्दत गर्नेछ ।”
सिरियामा आश्रयस्थल बनाएको इराक र लेभेन्टको आइएसको शक्तिलाई त्यहाँबाट हटाउने बिषयमा अमेरिकालाई पूर्ण सफलता मिलेको अमेरिकी बुझाई छ । सिरियाली गृहयुद्ध चलेकै समय आफ्नो सेनालाई स्वदेश फर्काएर सिरियाली गृहयुद्धका कारण भएको भौतिक संरचनाको पुनर्निर्माणको जिम्मा रूसलाई नै छोडिदिनु राष्ट्रपति ट्रम्पको चलाखीपूर्ण निर्णय भएको राजनीतिक विश्लेषक बताउँछन् ।
पेन्टागन तथा राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा अमेरिकी स्थल सेना फिर्ताको प्रक्रिया सुरु भइसकेको उल्लेख छ । तर विस्तृत विवरण भने दिइएको छैन ।
अर्को, सिरियामा अमेरिकी सेनाले गरेका हवाई आक्रमणमा धेरै सर्वसाधारणले ज्यान गुमाएपछि मानवअधिकारवादी समूहले पनि अमेरिकी भूमिकालाई आलोचना गरेका छन् । गत जुनमा अमेरिकी हवाई आक्रमणमा अधिकांश बालबालिकासहित सर्वसाधारणको मृत्यु भएका घटनाले सिरियास्थित अमेरिकी सेनाको विश्वभर निकै आलोचना हुने गरेको छ । ट्रम्पले सेना फिर्ता गर्न यसलाई पनि एउटा बहाना बनाएका बुझिन्छ ।
ट्रम्प प्रशासनमा निकै सम्मानित विदेश नीति अधिकारीका रुपमा लिइएका म्याटिसले फेब्रुअरीको अन्त्यबाट पद त्याग्नु हुनेछ । राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा म्याटिसले उल्लेख गर्नुभएको छ, “आफ्नो विचारसँग निकट व्यक्तिलाई रक्षामन्त्रीमा चुन्न सक्ने अधिकार तपाईं (राष्ट्रपति) सँग छ ।”
म्याटिसको राजीनामाले ह्वाइट हाउसभित्र गम्भीर सङ्कट देखिन थालेको भन्दै आलोचना हुन थालेको छ । ट्रम्पका सहयोगीले समेत म्याटिसको राजीनामा अस्वाभाविक रहेको बताएका छन् ।
अमेरिकाले सन् २०१९ को मध्यसम्ममा अफगानिस्तानबाट झण्डै आधा अर्थात् करिब १४ हजार अमेरिकी सैनिक फिर्ता गर्नेगरी तयारी थालेको अमेरिकी अधिकारीले बताएका छन् । यसबारेमा औपचारिक निर्णय भने सार्वजनिक भएको छैन । राष्ट्रपतिमा नियुक्त भएपछि नेता ट्रम्पले दिएको अभिव्यक्ति कार्यान्वयन भएको भए अफगानिस्तानबाट यतिबेलासम्म सबै सेना फिर्ता भैसकेको हुनुपथ्र्यो ।
राष्ट्रपति ट्रम्पले नयाँ रक्षामन्त्रीको चयन चाँडै हुने बताएका छन् । “राष्ट्रपतिको राष्ट्रिय सुरक्षा टोलीको कार्य नै राष्ट्रपतिलाई सुझाव दिनु हो र निर्णयकर्ता राष्ट्रपति हो,” ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले बताउनुभयो ।
कसरी सुरू भएको थियोे अफगानिस्तान र सिरियामा अमेरिकी सेनाको प्रवेश
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी वल्र्ड ट्रेड सेन्टरका दुई अग्ला भवन र अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनमा इस्लामिक आतङ्कवादी समूह अल कायदाले गरेकोे दाबी अमेरिकाको छ । उक्त आक्रमणमा दुई हजार ९९६ जनाको मृत्यु भएको थियो भने करिब छ हजार व्यक्ति घाइते भएका थिए ।
आक्रमणबाट क्षणभरमै दश अर्ब अमेरिकी डलर बराबरको भौतिक संरचना तथा सम्पत्तिमा क्षति पुगेको थियो । प्रभावित थप केही व्यक्ति उक्त आक्रमणपछि क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोगका कारण ज्यान गुमाएका थिए ।
आक्रमणका मुख्य योजनाकार ओसामा विन लादेनले अफगानिस्तानमा बसी आतङ्कवादी गतिविधि सञ्चालन गरेको दावी गर्दै उनलाई पक्राउ गरी अमेरिकालाई बुझाउन तत्कालीन सरकारलाई आग्रह गरिएको थियो ।
तर अफगानी तालिवान समूहले लादेनले आक्रमण गरेको प्रष्ट प्रमाण नपाएसम्म उनलाई पक्राउ गरी अमेरिकालाई बुझाउन असहमत बनेपछि अमेरिकाले ठूलो मात्रामा अफगानिस्तानमा आफ्नो सेना पठाएको थियो । त्यही शक्ति अहिलेसम्म अफगानिस्तानमा निरन्तर रहँदै आएको छ ।
त्यस्तै अमेरिकाले सिरियामा प्रवेश गर्नुको मुख्य योजना सिरियाली राष्ट्रपति बसर अल अस्साद अपदस्थ गरी सिरियामा पश्चिमा शैलीका प्रजातन्त्रवादी समूहको सरकार स्थापना गर्नुरहेको छ ।
अमेरिकाले सहयोग गरेका सिरियाली विद्रोही समूहहरूको एउटै लक्ष्य छैन । बसर अल–असदलाई सत्ताबाट हटाई सिरियामा प्रजातन्त्रको स्थापना गर्ने उद्देश्य राखेको ‘फ्रि सिरियन आर्मी’ लाई खाद्यान्न र आर्थिक सहयोग दिएर सुरू भएको सहयोग अभियानलाई अमेरिकाले अहिले विद्रोहीलाई सीमित तर उच्च कमाण्डरलाई सैन्य तालिम, आर्थिक तथा गुप्तचर सहयोगसहित सघाउँदै आएकोमा उद्देश्य प्राप्त हुने नदेखिएपछि यसलाई पछिल्लो समय (सन् २०१७ को मध्यबाट) रोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *