भर्खरै :

जिल्ला–जिल्लामा स्तालिन र माओ जन्म दिवस मनाइयो

दैलेख, ९ पुस । नेपाल मजदुुर किसान पार्टी र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ आठबीस नगर समितिको आयोजनामा जे भी स्तालिनको १३९ औँ जन्म दिवसको अवसरमा आमसभा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य बजिरसिं विकले स्तालिनको योगदानबारे चर्चा गर्नुहुँदै नेपालका कम्युनिष्ट भनिएका पुँजीवादी पार्टीले व्यापक गरिब र निमुखा जनताको सेवा गर्ने काम गर्न नसकेको बताउनुभयो ।
उहाँले सत्तासीन नेकपाको सरकार संशोधनवादी बर्नस्टिन र कार्ल काउत्स्कीको बाटोमा अघि बढेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिका सदस्य कलबहादुर सिजापतिले सिद्धान्तहीन राजनीतिक दलले कहिल्यै पनि समाज परिवर्तनमा नेतृत्व गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रम स्थानीय आठविस नगरपालिका वडा नं. ९ का वडाध्यक्ष धनबहादुर सिजापति, नेपाल मजदुर किसान पार्टी आठबिस नगरपालिकाका अध्यक्ष मानबहादुर सिजापति, नेक्राविसङ्घका केन्द्रीय सदस्य तुलसी कठायत, नेमकिपा वडा नं. ७ का रामबहादुर कठायत, नेक्राविसङ्घका टिकाराम कठायत, नेक्राकिसङ्घ जिल्ला समिति दैलेखका सदस्य रत्नबहादुर कठायत, नेक्रायुसङ्घ जिल्ला समिति दैलखका सदस्य कटक सिजापति, नेक्राशिसङ्घका सदस्य लोमनकुमार बडुवाललगायतले बोल्नुभएको थियो । रामबहादुर बडुवालको सभापतित्वमा भएको कार्यक्रममा नेक्राविसङ्घका बसन्त सिजापति र स्वागत डबल सुनारले पनि बोल्नुभएको थियो ।
कैलाली
१३९ औँ स्तालिन दिवस र १२५ औँ माओ त्सेतुङ दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा एक प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले स्तालिन र माओको जन्म दिवस मनाउनुको अर्थ उहाँहरूले आफ्नो जीवनमा गर्नुभएको सङ्घर्ष र योगदानबाट सिक्नु भएको बताउनुहुँदै कम्युनिष्ट नेताहरूको प्रेरणाबाट संसारका जनताले समाजवादी आन्दोलनको झण्डा उँचो राख्ने गरेको बताउनुभयो ।
पुँजीवादी प्रचारमाध्यमले कम्युनिष्ट नेताहरूकाबारे अनेकन भ्रम र झूट प्रचार गर्ने गरेको भन्दै त्यस्ता गलत प्रचारविरुद्ध कम्युनिष्ट कार्यकर्ताले जनताको घर घरमा गएर वास्तविकता बुझाउन जरुरी भएकोमा जोड दिनुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले उत्पादनका साधनको सामाजिकीकरण, निःशुल्क र अनिवार्य शिक्षा तथा स्वास्थ्य सेवा, व्यक्तित्व विकासमा समान अवसरजस्ता विशेषता भएका राजनीतिक बन्दोबस्त नै समाजवादी व्यवस्थाका आधार भएको चर्चा गर्नुहुँदै स्तालिन र माओले संसारलाई समाजवाद व्यवस्था अपराजयी भएको देखाएको बताउनुभयो ।
नेक्राविसङ्घ केन्द्रीय सदस्य ईश्वर शाहीले काम गरी खाने वर्ग र बसीखाने वर्गबीचको द्वन्द्वलाई समाप्त गरी समाजवादी व्यवस्था सञ्चालन गर्नका निम्ति मजदुर किसान सचेत र सङ्गठित भई सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
नेक्राकिसङ्घ जिल्ला अध्यक्ष गजबहादुर दर्लामीले जबसम्म समाजवादी प्रजातन्त्र स्थापना नभएसम्म कामदार जनताका सुखका दिन नआउने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समिति कैलालीका सदस्य धनबहादुर थापामगर, गगनबहादुर थापामगरलगायतले बोल्नुभएको थियो ।
चितवन
स्तालिन र माओ त्सेतुङ जन्म दिवसको अवसरमा राप्ती नपा–१०, चिप्लेटीमा गाउँस्तरीय युवाहरूको भेला भयो । कार्यक्रममा नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठले युवा समाज परिवर्तनको बाहक हो भन्नुभयो ।
नेक्राविसङ्घका जिल्ला सचिव अर्जुन चेपाङले आर्थिक समस्या, पढ्नको लागि घण्टांै हिँड्नु पर्नाले चेपाङ र तामाङको छोराछोरीले बीचमै पढाई छोड्नुपरेको छ भन्नुभयो ।
कार्यक्रममानेक्रायुसङ्घ राप्ती नपा–१० का अध्यक्ष कृष्ण तामाङ, प्रकाश चेपाङ, रामबाबु चेपाङले पनि बोल्नुभएको सो भेलाले कुमार तामाङको अध्यक्षतामा राप्ती–१० चिप्लेटी गाउँ एकाइ समिति गठन गरियो ।
काठमाडौं
नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिको आयोजनामा स्तालिन र माओ त्सेतुङको जन्म दिवसको अवसरमा एक कार्यक्रम गरियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले स्तालिन र माओ दिवस मनाएर उहाँहरूको जीवनबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँले स्तालिन र माओको अनुशासन र वर्ग सङ्घर्षबाट सिकेर नेपालको वस्तुस्थितिअनुसार समाजवादी क्रान्तिको लागि तयार हुनुपर्ने औँल्याउनुभयो ।
नेमकिपाका काठमाडौं जिल्ला सचिव राजवीर डंगोलले स्तालिन र माओको योगदानलाई स्मरण गर्दै देश र जनताको हितमा सधैँ समर्पित रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले स्तालिन र माओ त्सेतुङ्गको दर्शन विचारलाई गहन ढङ्गले अध्ययन गरी नेपालको परिवेशअनुसार सङ्घर्षको लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेमकिपा चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य जितबहादुर महर्जनले पनि बोल्नुभएको थियो ।
त्यसैगरी चन्द्रागिरी नपा वडा नं. २ मा पनि स्तालिन र माओको जन्म दिवस मङ्गलबार मनाइयो । कार्यक्रममा नेमकिपाका काठमाडौँ जिल्लाका सचिव राजवीर डंगोलले सर्वहारा वर्गका महान गुरुहरु स्तालिन र माओको शिक्षा योगदानबारे ज्ञान लिँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायण बहादुर दुवालले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा गहिरो अध्ययन गरी समाज परिवर्तनको लागि लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका विष्णु खत्रीको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *