भर्खरै :

चितवन महोत्सव पुस २५ देखि

चितवन, १० पुस  ः उद्योग वाणिज्य सङ्घ चितवनको अगुवाइमा हुने चितवन महोत्सव आगामी पुस २५ गतेबाट शुरु हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो ।
नारायणी नदी किनारमा १२ औँ संस्करणका रुपमा महोत्सव आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो । महोत्सव विसं २०५३ सालदेखि प्रत्येक दुई÷दुई वर्षमा हुँदै आएको छ ।
उद्योग वाणिज्य सङ्घ–चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुने चितवन महोत्सवमा छ विशेषसहित ५०० स्टल रहने छन् । महोत्सवमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित गोष्ठी आयोजना गरिनेछ । प्रधानका अनुसार सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पर्यटनलाई केन्द्रबिन्दुमा राखी विभिन्न क्रियाकलाप आयोजना गर्दैछ । चितवनभित्रका पर्यटकीय गन्तव्यको संक्षिप्त जानकारी तथा तस्वीर समावेश गरी पर्यटक पथप्रदर्शक किताब नेपाली र अङ्ग्रेजीमा प्रकाशन गरिने बताइएको छ ।
जिल्लाको पर्या पर्यटन झल्किने, राष्ट्रिय अन्तर्राष्ट्रिय जनावरको प्रतिमूर्ति समावेश गरिएको कृत्रिम चिडियाखाना महोत्सवमा रहनेछ । त्यस्तै कलात्मक प्रवेशद्वार साथै बालुवामा कुँदिएको २० फिट लम्बाइ १० फिट चौडाइको माछाको कलात्मक आकृति रहनेछ । विविध खेलकूद, जलयात्रा, स्वास्थ सेवा, आदिवासी जनजातिको वेषभूषा, कला संस्कृति समावेश गरिएको विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपज प्रदर्शनीको विविधताले यसपटकको महोत्सवमा निरन्तरता पाएको संयोजक प्रधानले बताउनुभयो ।
महोत्सवमा पोल्ट्री, अटो, सूचना तथा प्रविधि, विद्युत्, मेड इन नेपाल, बैंक तथा वित्तीय संस्था परिसर, रेष्टुराँ, जनजातिको रहनसहन झल्किने घर आदि रहनेछन् ।
हात्ती महोत्सवको तयारी पूरा 
पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ को तयारी पूरा भएको छ । बुधबारबाट सौराहाको बाघमारा चौरमा हुने आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार महोत्सव परिसर सिंगार्ने काम सम्पन्न भएको छ । महोत्सवमा सहभागी हुने हात्तीलाई तालीम दिइसकेको उहाँले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र महत्वबारे जानकारी दिनु, वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्नु र समाजमा जनचेतना अभिवृद्धि गराउनु यो महोत्सवको मुख्य उद्देश्य हो ।
महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिदै छ ।
महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रम आयोजना गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुन लागेको हो । अङ्ग्रेजी नयाँ वर्षको संघारमा हात्ती महोत्सवको आयोजना गरेसँगै स्वदेशी र विदेशी पर्यटकले होटलमा बुकिङ गर्ने क्रम शुरु भएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *