भर्खरै :

विर्षमान सरको आरोह–अवरोह

–हरिप्रसाद, भरतपुर
विगत अठ्ठाइस वर्षदेखि व्हिलचेयरको सहारामा आफ्नो जीवन बिताउँदै आउनुभएका बिर्षमान गुरुङ भरतपुर महानगरपालिका–२ स्थित रामकृष्ण टोलका स्थायी बासिन्दा हुनुहुन्छ । जीवन सङ्गीनी यशोदा प्रधानको निरन्तर साथले पनि उहाँको जीवन यहाँसम्म आई पुग्न अझ सजिलो भएको हो । पहाड घर गोरखा जिल्लाको तत्कालीन जौबारी गाविसको बल्याखु गाउँमा पिता चन्दसिं गुरुङ र माता मन्सुरी गुरुङको कोखबाट जन्मेका ६ सन्तानमध्ये जेठो सन्तानको रुपमा वि.सं. २००९ भाद्र २९ गते यो संसारमा पाइला टेक्नुभयो । उहाँवि.सं. २०४७ माघ २ देखि मेरुदण्डको पक्षघात वा स्पाइनल कर्ड ईन्जरी (क्उष्लब िऋयचम क्ष्लवगचथ) वा सुषुम्ना नाडी घाइतेबाट पीडित हुनुहुन्छ ।
यातायातको दुर्घटनामा परेर होस् वा पहाडबाट खसेर होस् वा घरमा लडेर होस् वा अन्य कारणबाट मेरुदण्डको कुनै न कुनै भागमा समस्या परेमा वा बिग्रेमा शरीरका अन्य भागहरूमा समस्या देखा पर्दछ । चेतनाविहीन हुन जान्छ । दिमागसँग सम्बन्ध बिच्छेद हुन्छ । काम गर्न छोड्छ । जसले गर्दा मान्छे अपाङ्ग बन्न बाध्य हुन्छ । कोहीकोहीको मेरुदण्डमा क्यान्सर भएमा वा क्षयरोग भएमा पनि मेरुदण्डको कुनै न कुनै खण्ड (Cervical, Thoracic, Lumber or Sacral) मा समस्या परेर वा बिग्रेर शरीरका अन्तगहरूमा चेतनाविहीन हुन जान्छ र काम गर्न छोड्छ । कोहीकोहीको जन्मजात नै मेरुडण्डमा समस्या पर्न सक्छ । तर प्रायः दुर्घटनाको कारण मेरुदण्डमा समस्या परेर शरीरका अन्य भागहरूमा चेतनाविहीन हुने गर्दछ । दिमागसँगको सम्बन्ध तुत्छ । काम गर्न सक्दैन । अन्ततः मेरुदण्डको पक्षघातबाट पीडित हुनुपर्ने हुन्छ ।
पहिले टी.भी. हेर्न घरको छटमा एन्टेना राख्ने चलन थियो । त्यही एन्टेना मिलाउन जानु हुँदा छिमेकीको छटबाट अचानक खस्नु भई स्पाइनल कर्ड ईन्जरीबाट पीडित हुनुभयो । उहाँको स्पाइनल कर्डको थोरासिक(त्जयचबअष्अ) खण्डको १० देखि १२ सम्ममा समस्या वा बिग्रेर कम्मर मुनिदेखिको कुनै पनि भागले चेतना थाहा पाउँदैन । दिमागसँग सम्बन्ध देखाउँदैन । काम गर्न छोडेको छ । तसर्थ व्हिलचेयर नै उहाँको अनन्य मित्र बनेको छ ।
दुर्घटना पश्चात्त तत्काल उहाँको भरतपुरस्थित भरतपुर अस्पतालमा पु¥याई प्राथमिक उपचार भयो । सघन उपचारको लागि रातारात काठमाडौंस्थित वीर अस्पताल पु¥याइनुभयो । स्व.डा.उपेन्द्र देवकोटामार्फत उपचार गराउँदै उहाँ तीन महिना अस्पताल बस्नुभयो । ढाडलाई सिधा बनाउन स्टील राख्नुप¥यो । सामान्य अवस्थामा नआएपछि घरमै बेड रेष्ट गर्छु र मरे आफ्नै घरमा मर्छु भनेर अस्पतालबाट फर्किनुभयो । बेड रेष्टले पुरै जिउ जामभएर लचकपन नै हुन छाडेपछि झन् समस्या बढ्यो । त्यतिबेला नेपालमा फिजियोथेरापी र पुनःस्थापना केन्द्रको व्यवस्था थिएन ।
तीन महिना वीर अस्पतालमा उपचार गर्दा पनि सामान्य अवस्थामा नआएपछि उहाँमा बाँच्ने रहर कम भयो । आत्महत्या गर्नेसम्मको सोच पनि उहाँमा नआएको होइन । बोझ भएर बाँच्नुभन्दा मर्नु नै जाती हुनेसम्मको चिन्तनले डेरा जमाएको अवस्थामा वि.सं. २०५० मा ढिलै भएपनि हिन्दुस्तानको मद्रासको भेलरमा रहेको मेडिकल कलेजमा उपचार गर्ने अवसर पाउनुभयो । बेड रेष्टले गर्दा पिसाब थैलीमा भएको पत्थरको अप्रेशन पनि भयो । अस्पतालमा पाँच महिनाको उपचार र पुनःस्थापना केन्द्रमा एक महिना फिजियोथेरापी गर्नु भएपछि व्हिलचेयरमा बस्न सक्ने हुनुभयो । बल्ल उहाँमा आँट र आत्मविश्वास बढ्यो । आफूभन्दा पनि गम्भीर र पीडित बिरामीहरू डाक्टर र लेखक भएर बाँचेको देख्नु भएपछि त झन् सङ्घर्षमय जीवन बाँच्नुपर्छ र आफ्नो क्षमता र योग्यताअनुसार काम गर्नुपर्छ भने आत्मविश्वास उहाँमा बढ्यो । उहाँको उपचार आफ्नै जम्मा गरेको रकमको साथै साथीभाइको साथ र सहयोगबाट भयो । उहाँ स्वास्थ्य मन्त्रालयमार्फत आर्थिक सहयोग पाउन कुनै पार्टीको झण्डा समात्नतिर लाग्नु भएन । तत्कालीन भरतपुर नगरपालिकाका मेयर मुक्तिलाल चुकेमार्फत एउटा व्हिलचेयर पाउनुभएको उहाँले बिर्सनुभएको छैन ।
एक छोरा र दुई छोरीका पिता बिर्षमान गुरुङले इतिहास विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नु भएको छ । कल्याणपुरस्थित विश्वप्रकाश माविबाट शिक्षण सुरु गर्नु भई दुर्घटनामा पर्नु अघिसम्म उहाँनारायणगढस्थित बालकुमारी माविको अस्थाई शिक्षक हुनुहुन्थ्यो । बीचमा दुई तीन वर्ष शिक्षण छोडेर बर्दिया जिल्लाको इन्धन संस्थानको कर्मचारी भएर काम गरेको पनि अनुभव उहाँसँग ताजै छ । व्हिलचेयरमा बस्न सक्ने भई मद्रासबाट फर्किनु भएपछि उहाँ चुपलागेर बस्नु भएन । छोराछोरीलाई शिक्षा दिलाउन र घर–व्यवहार चलाउन दुई वर्ष बिहान र बेलुका डेरामै कक्षा नौ र दसका साथै अन्य विद्यार्थीहरूलाई ट्युशन पढाउन पनि पछि पर्नु भएन । वि.सं. २०५०÷०५१ मा आफ्नै नामको शिक्षक कोटा आएपछि बालकुमारी माविमा सम्पर्कमा जानुभयो तर दुःखको कुरा त्यहाँ उहाँले अवसर पाउनु भएन । निराशन भइकनलगतै आदिकवि भानुभक्त माविमा सम्पर्क गर्दा आफ्नो कोटा विद्यालयकै अर्को शिक्षकलाई दिनुपर्ने शर्तमा निजी स्रोतमा अवसर दिने प्रस्ताव आयो । सोहीअनुसार निजी स्रोतकै शिक्षकमा आफूलाई अभ्यस्त बनाउनुभयो । तर वि.सं. २०५८ मा निजी स्रोतका शिक्षक हटाउने अभियानमा परेर आदिकविभानुभक्त माविबाट बिदाइमा पर्नुभयो ।
शिक्षण पेशाबाट हातधुनु परे पनि उहाँ फुर्सदमा बस्नु भएन । उहाँवडा कार्यालयमार्फत कम्प्युटर तालिम लिनेबित्तिकै वि.सं.२०५८÷०५९ मा घरमै साइबर सञ्चालन गर्न थाल्नुभयो । साइबर सञ्चालनमा छोरी र छोराको साथ पाउनुभएपछि आफैले कम्प्युटर तालिम दिने र टाइप गर्ने काममा पनि अघि सर्नुभयो । बढ्दो लोडसेडिङ र मोबाइलमै इन्टरनेटको सुविधा आएपछि साइबर पहिलेजस्तै नचल्नु स्वाभाविक हो । त्यसकारण उहाँले साइबर बन्द गर्नुभयो ।
साइबर सञ्चालनबाट बिदा लिई सकेर पनि उहाँ फुर्सदमा बस्न सक्नु भएन । वि.सं.२०६८ सालमा स्पाइनल कर्ड ईन्जरीबाट पीडितहरूको भेलाको पहल गर्नु भई सुषुम्ना नाडी घाइते मैत्रीय समाज, चितवन गठन गर्न सफल हुनुभयो । उहाँ संस्थापक सचिव भएर दुई वर्ष सेवा गर्नु भएपछि चार वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्न पनि पछि पर्नु भएन । उहाँका अनुसार देशभरमा स्पाइनल कर्ड ईन्जरीबाट पीडित नेपालीहरू अनुमानित दस हजार छन् । यस अघि पनि उहाँकै पहलमा वि.सं.२०५०÷२०५१ मा अपाङ्ग समाज, चितवन गठन भएको थियो र संस्थापक अध्यक्ष भई निरन्तर छ वर्ष अध्यक्षको जिम्मेवारी पूरा गर्नुभयो ।
तत्कालीन नारायणी रात्री मावि (हालःनारायणी मावि, भरतपुर) मा अध्ययन गर्ने क्रममा कम्युनिष्ट विद्यार्थीहरूको प्रभाव परेर प्रगतिशील विचारले प्रेरित हुनुभयो । उहाँले वि.सं.२०३६ फागुन १२ गते गुरुङ र नेवार (प्रधान) बीच अन्तर जातीय प्रेम विवाह गर्नुभयो । बिहे गर्नुभन्दा पहिले दुवैलेसँगै स्नातक उत्तीर्ण गर्नुभयो । जीवन सङ्गीनी यशोदा प्रधान पनि बालकुमारी माविमा स्थायी शिक्षण गर्नुहुन्थ्यो ।
राजनीतिक रुपमा सचेत व्यक्ति भएकोले समसामयिक परिस्थितिबारे चासो र चिन्तन हुनु स्वाभाविक हो । उहाँले स्थानीय र सङ्घीय चुनावपछि कुनै रुपान्तरण भएको देख्नुभएको छैन । सरकारमा गएका दलहरू माओवादी र एमाले (नेकपा) ले चुनावी घोषणा पत्रअनुसार काम नगरेकोले उहाँ सन्तुष्ट हुनुहुन्न । माओवादी र एमालेको एकता सिद्धान्तमा आधारित नभएकोले भागबण्डा र गुटबन्दीमा फस्दा देशमा अन्यौलता बढेको उहाँको भनाइ छ  ।
युवा पुस्ता विदेश पलायन हुनुमा हिजोदेखि वर्तमानसम्मका सरकार जिम्मेवार भएको उहाँको ठम्याइ छ । सत्ता टिकाउने नाममा राणाहरूले ब्रिटिश आर्मीको नाममा नेपालीलाई बेचेको र पञ्चायतले खाडी मुलुकमा युवा पुस्ता बेचेको उहाँले बिर्सनुभएको छैन । बहुदल आएपछि कानुनी रुपमै म्यानपावर कम्पनीमार्फत युवा पुस्ताविदेशमा बेचेको उहाँको आरोप छ । त्यसैले विदेश पठाउने प्रावधान नै गलत भएको उहाँको मत छ ।
अहिले घर खर्च उहाँको जीवन सङ्गीनी यशोदा प्रधानको पेन्सन र घर भाडाबाट सामान्य रुपमा चलिरहेको देख्न सकिन्छ । छोरा–बुहारी र छोरी–ज्वाईंहरू विदेशतिरै छन् । उहाँको सङ्घर्षमय जीवन निरन्तर चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *