भर्खरै :

पल्र्स सहकारी अनुगमनबारे तालिम

भक्तपुर, १० पुस । भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार सहकारी संस्थाहरूको अनुगमनको लागि पल्र्स (PEARLS) सम्बन्धी तालिम भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय जनतालाई दिएको अधिकार बलियो भए प्रजातन्त्र बलियो हुने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाभित्र दर्ता भएका सहकारी संस्थाको अनुगमन तथा निरीक्षण व्यवस्थापन गर्न तालिमको आवश्यकता औँल्याउनुहुँदै प्रमुख प्रजापतिले भन्नुभयो, “कानुनले स्थानीय तहलाई शिक्षा, स्वास्थ्य, सहकारीलगायत विभिन्न क्षेत्रमा अधिकार सम्पन्न बनाएको छ । सहकारी ऐनले नगरभित्रका बहुसङ्ख्यक सहकारी संस्थाको हित र विकासमा काम गर्नु आवश्यक छ ।”
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण, घरघरमा नर्सिङ सेवालगायतका घोषणापत्रमा उल्लिखित कार्यलाई अगाडि बढाइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले हरेक क्षेत्रमा आर्थिक अनुशासन महत्वपूर्ण हुने बताउनुभयो ।
पल्र्ससम्बन्धी तालिमका प्रशिक्षक कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाको समयमा अनुगमन नहुँदा समस्या हुने बताउदै बचत तथा ऋण सहकारीलाई अनुशासनमा राख्न तालिमको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले तालिमको औचित्यताबारे प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, नपाका विभिन्न शाखा प्रमुखहरूले तालिममा सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *