भर्खरै :

संरा अमेरिकी सङ्घीय कार्यालयहरूको आंशिक बन्द अझै केही दिन लम्बिने

वासिङटन, १२ पुस (एपी) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगरेका कारण सङ्घीय कार्यालयहरू अझै केही दिन आंशिक बन्द हुने सम्भावना देखिएको छ । अमेरिकी संसदले मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको पाँच अर्ब डलरबाहेकको बजेटमात्र पारित गर्ने जानकारी गराएसँगै राष्ट्रपति ट्रम्पले बजेट स्वीकृत नगर्ने अडान लिनुभएको छ ।
फेरि, सांसदहरू बजेट छलफल बीचमै छाडेर क्रिसमस र नयाँ वर्षको छुट्टी मनाउन वासिङटनबाट अन्यत्र हिँडिसकेका छन् । उनीहरूको भनाइमा मतदानका लागि वासिङटन फर्किन अरु २४ घण्टाको समय दिनुपर्दछ । अमेरिकी संसदको माथिल्लो सदन सिनेटको बैठक बिहीबार अपराह्नका लागि बोलाइएको छ, तर बैठकमा थोरै सङ्ख्यामा मात्र सिनेटरहरू उपस्थित हुने सम्भावना छ ।
सङ्घीय कर्मचारीहरू पनि सप्ताहान्त र दुईवटा सार्वजनिक बिदापछि बुधबारबाट काममा फर्किएका छन् । तर, कतिपय सङ्घीय कार्यालयका कर्मचारीहरू बजेट पारित नहुँदा नराम्रोसँग प्रभावित भएका छन् ।
राष्ट्रपति ट्रम्प आफ्नो मागप्रति अविचलित हुनुहुन्छ । इराक भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले संवाददाताहरूलाई सीमा सुरक्षाका निम्ति जस्तोसुकै कदम चाल्न आफू तत्पर रहेको बताउनुभएको छ । सङ्घीय सरकारी कार्यालयहरू खुलाउन आफूले सीमा पर्खालको बजेटमा पुनर्विचार गर्न लागेको भन्ने कुरामा सत्यता नरहेको पनि उहाँले जानकारी दिनुभयो ।
‘पर्खाल बनाउनुको कुनै विकल्प नै छैन, हामी सुरक्षित पनि त हुनुप¥यो नि,’ राष्ट्रपतिले भन्नुभयो । बजेट अभावमा नौ वटा मन्त्रालय मातहतका विभागहरू र दर्जनौं सङ्घीय निकायहरूका काममा कठिनाइ उत्पन्न भएको छ । करिब ४ लाख २० हजार कर्मचारीले विनातलब काम गरिरहेका छन् भने अरु ३ लाख ८० हजारलाई बेतलबी बिदा दिइएको छ ।
ह्वाइट हाउसले कङ्ग्रेसमा डेमोक्राट पार्टीका नेताहरूसँग वार्ता गरिरहेको छ तर आशावादी हुने सङ्केत अझै मिलेको छैन ।
वार्तामा सहभागी उत्तरी क्यारोलिना राज्यका रिपब्लिकन सांसद एवं राष्ट्रपति ट्रम्पका नजिकका व्यक्ति मार्क मिडोजले सीमा सुरक्षाका मामिलामा राष्ट्रपति ट्रम्प आफ्नो अडानमा यथावत रहनुभएको जानकारी दिनुभयो ।
सरकारी खर्चको विषयमा उत्पन्न विवाद गत साताबाटै सुरु भएको हो । सिनेटमा रिपब्लिकन र डेमोक्राटबीच फेबु्रअरीसम्मका लागि सरकारी खर्चलाई अनुमोदन गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतामा १ अर्ब ३० करोड डलर सीमा सुरक्षा परियोजनाका लागि उपलब्ध गराउने उल्लेख थियो तर सीमामा पर्खाल बनाउन बजेट छुट्याइएको थिएन ।
ट्रम्पको आग्रहमा तल्लो सदनले भने ५ अर्ब ७० करोड डलरको बजेट पारित गरेको थियो ।
तर, सिनेटबाट उक्त बजेट पारित गर्न रिपब्लिकन सांसदहरू पर्याप्त छैनन् । सिनेटबाट बजेट पारित हुन ६० सदस्य आवश्यक हुन्छ, जबकि सिनेटमा रिपब्लिकनको सदस्य सङ्ख्या ५१ मात्र छ । सिनेटमा डेमोक्राटहरूले पर्खाल निर्माणका लागि कुनै पनि परिस्थितिमा बजेट पारित नगर्ने अडान राखेका छन् ।
सिनेट र ह्वाइट हाउसबीच भएको वार्ताले निष्कर्ष निकाल्न नपाउँदै सरकारी कार्यालयहरू बन्द भइसकेका छन् ।
सरकारी बजेट अभाव भएसँगै त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । शेयर बजारमा आएको गिरावट अझै रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *