नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
– मेरिना शाक्य
नेपाली जनतामा कम्युनिष्ट पार्टीको प्रभाव बढ्दै जानु सकारात्मक पाटो हो । बहुमत जनताको विश्वास पनि कम्युनिष्टप्रति नै छ । कम्युनिष्ट पार्टीप्रति बढ्दै गएको विश्वास टुटाउन देशका प्रतिक्रियावादी, शोषक, सामन्त, पुँजीपति, जालिफटाहा र कमिसनखोरहरूले अनेक षड्यन्त्र गर्छन्, त्यस षड्यन्त्रमा फस्न र फसाउन अनेक जाल बुन्छन्, लोभलालच देखाउँछन् । कम्युनिष्टहरू प्रतिक्रियावादी र षड्यन्त्रकारीहरूको लोभमा फसे, फसेर अघि बढे नेपालको कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनमा असर पर्नु स्वाभाविक हो । ओलीको नेतृत्वमा रहेको नेकपाको सरकारले कम्युनिष्ट सिद्धान्त र विचारअनुसार काम गर्न नसक्नुको महत्वपूर्ण कारण सिद्धान्त र विचारबाट विचलित हुनु हो, नेकपाले सिद्धान्त र विचार त्याग्नु हो ।
क्रान्तिकारी बाटो छोडेर क्रान्ति सम्भव छैन । विनाक्रान्ति देशमा कसरी परिवर्तन हुन्छ ? क्रान्ति गर्न क्रान्तिकारी पार्टी जरुरी छ । सरकारको नेतृत्व गरिरहेको नेकपामा त्यस्तो क्रान्तिकारी गुण देखिंदैन । सरकारमा रहँदा र नरहँदा नेकपाले कम्युनिष्टको आचरणअनुसार के काम गरेको छ ? यसमा नेकपाको नेतृत्व पक्ष चुकेको देखिन्छ । देशमा कम्युनिष्टको प्रभाव बढ्ला र आफूहरूमाथि शासन गर्ला भनेर सामन्ती र पुँजीवादी पार्टीहरू चिन्ता लिइरहेको बेला कम्युनिष्ट भनिने दल र सरकार नै पुँजीवादी बाटोमा लागेपछि कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन कसरी बलियो हुन्छ ? कम्युनिष्टको सिद्धान्त र विचारअनुसार कुनै काम नगर्ने नेकपाको सरकारले नेकपाको शक्तिशाली सरकार छ भनेर धाक लगाउनु व्यर्थ छ ।
हालको संविधान कम्युनिष्टहरूप्रति लक्षित छैन । यस संविधानले बहुमत जनताको प्रतिनिधित्व गरेको छैन । पुँजीवादी बन्दोबस्त र पुँजीवादी संविधानमा टेकेर सरकारले शोषित पीडित जनताको सेवा गर्दैन, गरिरहेको छैन । पुँजीवादी सिंहासनमा बसेर पुँजीवादी नीति तथा कार्यक्रमलाई आन्मसात गरेर समाजवादउन्मुख काम गरिरहेको भन्नु के द्वैधचरित्र होइन ? द्वैधचरित्रका नेताहरूले देश र दललाई कसरी दिशाबोध गर्छन् ? दलको सिद्धान्त, विचार र दृष्टिकोणमा नै खिया लागेपछि मुलुक कसरी समृद्ध बन्छ ?
Leave a Reply