भर्खरै :

नयाँ वर्षको अवसरमा सी र किमको शुभकामना

पेइचिङ, ३१ डिसेम्बर । चीनका राष्ट्रपति सी चिनफिङले नयाँ वर्ष सन् २०१९ को शुभकामना व्यक्त गर्दै नयाँ वर्षमा सिङ्गो चिनियाँ राष्ट्र ‘अपूर्व र महान लक्ष्य’ हासिल गर्न तत्पर रहन आह्वान गरेका छन् । सन् २०१९ जनगणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठ हो ।
उनले आत्मनिर्भर, परिश्रमी र उद्योगी चिनियाँ जनताले सारा संसारले स्वीकारेको चिनियाँ जादु गरेको बताए । उनले जनताप्रति विश्वास व्यक्त गर्दै पाइला पाइला गरी अझ अघि बढ्ने आशा व्यक्त गरे । “सन् २०१८ मा हाम्रा लागि सफल र लक्ष्यप्रति केन्द्रित वर्ष रह्यो ।” सन् २०१८ मा प्राप्त सफलताको सार निकाल्दै उनले भने । उनले सन् २०१८ मा चीनको अर्थतन्त्र ‘औचित्यपूर्ण दूरी’ भित्रै रहेको बताए ।
वायु, जल र माटो प्रदूषणको रोकथाम र नियन्त्रणमा चीनले उल्लेख्य सफलता हासिल गरेको चर्चा गर्दै सीले चिनियाँ जनताको जीवनस्तर राम्रो हुँदै गएको बताए ।
पेइचिङ–तेनचिन–हेपेई क्षेत्रको समन्वयात्मक विकास, याङ्जी आर्थिक क्षेत्रको विकास, क्वाङदोङ –हङकङ–मकाउ बृहत् तटीय क्षेत्र निर्माणको राष्ट्रिय रणनीति कार्यान्वयमा सफलता प्राप्त भएकोमा खुशी व्यक्त गरे ।
सीले सन् २०१८ मा १० लाख मानिसलाई गरिबीको रेखाभन्दा माथि उकासेको भन्दै आफूले सिचुआन, शानदोङ, लिओनिन र क्वाङदोङ प्रान्तहरूमा गरेको भ्रमणको सम्झना गरे । उनले सन् २०१८ मा चीनले सुधार र खुलापन नीति अङ्गालेको ४० औँ वर्ष पुगेको वर्षको रुपमा स्मरण गर्दै उनले चीनका सुधार र खुलापनको कार्यक्रम निरन्तर हुने बताए ।
सन् २०१८ मा चीनले एसियाको लािग बोआओ सम्मेलन, साङ्घाई समन्वय सङ्गठन, छिनताओ शिखर सम्मेलन र चीन–अफ्रिका सहकार्य पेइचिङ सम्मेलन आयोजना गरेकोलाई सीले चीनको सफलताको रुपमा चर्चा गरे । सीले आगामी वर्ष पनि बेल्ट एण्ड रोड कार्यक्रमलाई अझ व्यापकता दिंदै जाने प्रतिबद्धता व्यक्त गरे ।
संरा अमेरिकी राष्ट्रपतिसँग बस्न तयार छौँ – किम
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किम जङ उनले कोरियाली प्रायःद्विपलाई आणविक रुपमा निःशस्त्र बनाउने अभियानलाई जारी राख्ने र आफू कुनै पनि बेला संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न तयार रहेको बताएका छन् । “संरा अमेरिकी राष्ट्रपतिसँग म कुनै पनि बेला सँगै बस्न तयार छु । त्यस्तो बैठकबाट अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गर्ने परिणाम निकाल्न म व्यग्र छु ।” किमले भने ।
हरेक वर्षजस्तै प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले जनवरी १ का दिन दिएको शुभकामना मन्तव्यमा उनले संरा अमेरिकासँग नयाँ सम्बन्ध विकास गर्ने, कोरियाली प्रायःद्विपमा दिगो शान्ति स्थापना गर्ने र ‘पूर्ण निःशस्त्रीकरण’ गर्नेमा आफू प्रतिबद्ध रहेको बताए । त्यसको निम्ति संरा अमेरिकाले पनि आफ्नो तर्फबाट कर्तव्यको पालना गर्नुपर्ने उनको भनाइ छ ।
आफ्नो मन्तव्यमा किमले भने, “यदि संरा अमेरिकाले आफ्ना वचनबद्धता पूरा नगरे र हाम्रो धैर्यलाई गलत मूल्याड्ढन गरे र कुनै पनि निर्णय एकपक्षीय रुपमा गर्न खोजे तथा नाकाबन्दी र दबाबको सहारा लिन खोजे हामी अर्को विकल्प रोज्न बाध्य हुनेछौँ ।” उनले नयाँ वर्षमा सीमावर्ती केसोङ सहरमा अन्तरकोरियाली औद्योगिक पार्क पुनःसञ्चालन गर्ने र ‘बिना कुनै पूर्वशर्त’ माउन्ट कुमकाङदेखि पूर्वी तटसम्मको भ्रमण बाटो पुनः खोल्ने घोषणा पनि गरे  । औद्योगिक क्षेत्र र माउन्ट कुमकाङ पर्यटकीय क्षेत्र केही वर्षदेखि बन्द थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *