भर्खरै :

चेपाङ बस्तीमा सडक

– सुरेन कुँवर
रत्ननगर, १७ पुस । केही वर्षअघि चितवनको चेपाङ बस्ती पुग्न गोरेटो बाटो हिँड्नुपर्ने हुन्थ्यो तर अहिले अवस्था त्यस्तो छैन । स्थानीय तहको निर्वाचन भएसँगै यहाँको पूर्वाधार विकासले गति लिएको छ । चेपाङ बस्ती जोड्ने साँघुरा, गोरेटा बाटो अहिले ६ देखि ८ मिटरसम्म ग्राबेल भएका छन् ।
चेपाङको बाहुल्य रहेको कालीकानगरपालिका–११ मा वडा तहको अधिकांश बजेट सडक निर्माणमा लगानी भएको छ । यसले कोराक, सिद्धिलगायतका बस्तीका सडकसँग सहज तरिकाले जोडिन सहयोग पुग्छ । क्रयाइलिङदेखि मजवाङसम्म करीब तीन दशमलव २ किमि सडकमा ८ मिटरको ट्रयाक खोल्ने काम भएको छ । रु. ३० लाख खर्चेर सो बाटो निर्माण हुँदैछ । रन्तेसदेखि गामीडुङसम्मको करीब दुई किमि ट्रयाक खोल्ने काम भएको छ । यो सडकमा रु. २० लाख खर्च भएको छ ।
यस्तै दौतेसदेखि गिरेक भञ्ज्याङसम्म करीब तीन किमि सडक बनेको छ । यो सडक बनाउन रु. १० लाख खर्च भएको छ । त्यस्तै छ मिटरको ट्रयाक खोलिएको जाम्वालिङ सडकमा रु. २० लाख खर्च भएको छ । वडाले लालीवाङदेखि रन्तेससम्मको करीब ४ किमि नालासहितको सडक बाटो निर्माण गर्दैछ । यस्तै मजवाङदेखि गोरखलिङसम्मको दुई किमि सडकमा रु. ११ लाख खर्च हुनेछ । सैपाम्पदेखि बाँसघारीसम्म करीब ४ किमी सडक बन्दैछ ।
वडाले चालू आर्थिक वर्षका लागि कुल रु. १ करोड ३४ लाख विकास बजेट विनियोजन गरेको छ । वडाध्यक्ष कृष्णबहादुर प्रजाले सडक निर्माण पहिलो प्राथमिकतामा पारेको बताउनुभयो । “सहजरूपमा ओहरदोहर गर्न मिल्ने बाटो बनाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “सडक सञ्जालले सबै बस्ती छुनेछ ।” उहाँले हरेक सडकलाई मोटरबाटोका रूपमा विकास गर्न बजेट माग भइरहेको जानकारी दिनुभयो । पहाड काटेर ट्रयाक खोल्ने काम चलिरहेको छ उहाँले भन्नुभयो, “सडक नहुँदा सास्ती खेपेका स्थानीयवासीमा अहिले खुशी छाएको छ ।”
लालीवाङदेखि रन्तेससम्मको गोरेटो बाटो हाल ८ मिटरको बनाउने काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो वडामा ३२० घरधुरी छन् । जसमध्ये करीब २० घर तामाङ समुदायको रहे पनि अन्य सबै चेपाङ हुन् । वडाध्यक्ष प्रजाले वडा नं ११ विकासमा निकै पछि परेकाले नगरपालिकाले समेत बजेट विनियोजन गर्दा प्राथमिकतामा पारेको बताउनुहुन्छ ।
बनेका बाटोमा सजिलै एम्बुलेन्स चल्न मिल्ने बनाउने धोको छ । उहाँले भन्नुभयो, “ट्रयाक खोल्ने काम लगभग अन्तिम चरणमा पुग्यो, अब कालोपत्रे गर्न बजेट आवश्यक छ ।” अगुवा युवा दिनेश प्रजा सडक बन्न थालेपछि ठूला व्यावसायिक फार्म खुल्ने क्रम बढेको बताउनुहुन्छ । “दुई ठूला ह्याचरी फार्म खुलेका छन्, अन्य कैयन् व्यवसायीले प्रशस्तै जग्गा खरिद गरेको अवस्था छ”, उहाँले भन्नुभयो ।
स्थानीय मानबहादुर प्रजा जग्गाको मूल्य ह्वात्तै बढेको बताउनुहुन्छ । हावापानी अनुकूल भएरै होला, ठूला रिसोर्ट तथा ह्याचरी खोल्न जग्गा लिनेको होडबाजी नै चलेको छन् । उहाँले भन्नुभयो, “५ वर्ष पहिले रु. ५ हजार कठ्ठामा पाइने जग्गाको मूल्य रु. ५ लाखसम्म पुगेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *