नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
आर.आर.क्षेत्री
कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ३ कुसुम पनि एक सीमा क्षेत्र हो । यो भजनी नगरपालिकाको दक्षिण पूर्वी भाग हो । यो ठाउँमा भारतीय पक्षबाट सीमा मिचिएको छ । यस ठाउँमा नेपालको १०९ नं. को र भारतको ७०७ नं. को जङ्गेपिलर अवस्थित छ । यो जङ्गेपिलरको नेपालतिर १०९, ७०७ नेपालीमा र भारततिर ७०७, १०९ अङ्ग्रेजी अङ्कमा लेखिएको छ । यस पिलरको केही दक्षिण पश्चिम भागमा सहायक पिलर पनि हालेको र सीमा विवादका कारण फुटाइएको छ । यही पिलर सार्दा नेपाली भूमि मिचिएको छ । यो पिलर झण्डै ६० फिट नेपालतिर सारिएको छ । भजनी नगरपालिका वडा नं. ३ का स्थानीयवासी ७२ वर्षका धनसिहं कुमाल निर्धक्क भन्नुहुन्छ, “म २०२४ सालबाटै यो ठाउँमा बस्दै आएको हुँ । अहिलेको मोहना नदी बगेको दक्षिण–पूर्वी भागमा करिब ४÷५ सय घरपरिवार बस्थे । १०९ नं. पिलरको दायाँपट्टिको पिलर नदीले बगाएकोले सीमास्तम्भ कहाँनेर हो भनी छुट्याउन गा¥हो भयो । भारतीय पक्षले नदीलाई सीमास्तम्भ भन्न थाले । हामी बसेको ठाउँमा भारतीय पक्षबाट दुःख दिन थालेकाले बस्न नसकी मोहना नदीबाट वारि कुसुमघाटमा सरेको हो ।” २०२५ सालपछाडि भारतीय पक्षबाट पटक–पटक सीमास्तम्भ सारिएको छ । उहाँका अनुसार ३०÷३२ सालमा यही खेतमा मोहनाको पानी कुलो ल्याएर मैले नै खेत रोपेको हँु । त्यतिखेर भारतीय सुरक्षा बलले आफ्नो छातीमा गोली हान्न लागेको सन्दर्भमा उहाँले दुखेसो पोख्नुभयो । कोही कसैले बोल्न पाउँदैनन् । एकतर्फी भारतीय पक्षले दबाब दिइरहेको भुक्तभोगी हामी छौँ भनी उहाँले स्पष्ट पार्नुभयो । जब हामी सीमा मिचियो भनी सरकारलाई जानकारी गराउँछौँ सरकारले खासै चासो नदेखाएको पाउँछौँ । सरकारले आफ्नो भूमि र जनताको सुरक्षा दिन सक्नुपर्ने हो । तर, त्यसो हुन नसकेको उहाँ भन्नुहुन्छ ।
१०९ नं. जङ्गेपिलरबाट केही दक्षिण पश्चिमको खेत धनसिँह कुमालको हो । यसै खेतमा एउटा सहायक पिलर भारतीय पक्षबाट हालिएको हो । जुन पिलर पहिलेको स्थानबाट उत्तरतिर नेपाली भूमिमा झण्डै ६० फिट सारिएको हो । उहाँ भन्नुहुन्छ, “पुरानो पिलर यो दसगजाभन्दा दक्षिण किनारमा थियो । यो दशगजासँगै ३० फिट जति बाटो (सडक) छ । त्यसभन्दा यता नेपाली भूमितिर ३० फिटमा पिलर गाडेको छ । यसै स्थानबाट गुगल म्याप हेर्दा यसै पिलरलाई आधार मानी म्याप तयार भएको छ । यसैबाट स्पस्ट हुन्छ बिघौं बिगाहा जमिन हाम्रो भारततिर गएको छ । यसलाई सीमा मिचिएको नभनेर के भन्ने ?”
नेपाल सरकारले सीमा विवादलाई तत्काल भारतीय सरकारसँग कूटनैतिक पहल गरी नेपालका सीमाविद्हरूलाई राखी हाम्रो सीमा कायम गर्नुपर्ने माग स्थानीयवासीको छ । हामीले पौंठेजोरी गरेर हुँदैन । यसको जिम्मा नेपाल सरकारले लिनुपर्दछ । नेपालको क्षेत्रफल घट्दै गएको छ । यो थाहा हुँदाहुँदै पनि सरकार र सरकारी पक्षको ध्यान नजानु दुःखको कुरा भएको बताउँछन् सीमावासी दाजुभाइ दिदीबहिनीहरू । पहिला पनि दुईपक्षीय टोली आउँदा भारतले भने ठाउँबाट नापनक्सा गर्न खोज्दा सीमा मिचियो भनी स्थानीयवासी नमानेको बताउँछन् । यो २०६४ सालतिरको कुरा हो । त्यसभन्दा पछि सरकारको खासै चासो (उपस्थिति) छैन । तर, भारतका सीमा सुरक्षा बल दिनको एकपटक आएर अवलोकन गरेर जान्छन् । नेपालको तर्फबाट त्यसो हुँदैन ।
भजनी नगरपालिकाका उपप्रमुख, वडा नं. ३ का वडा अध्यक्ष, प्रदेश सभा र डीआइजीको टोली आएको थियो । स्थानीयवासीबीच टोलीका डीआइजीले कहाँ सीमा सारिएको छ भन्दा स्थानीयवासीहरूले विभिन्न लेख, पत्रपत्रिकामार्फत सीमा सारिएको भनेका छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठको नक्सा देखाउँदा डीआइजीले बुद्धिनारायण श्रेष्ठले भनेको मिल्दैन भने । उल्टा–उल्टा कुरा गरेर सीमा विवाद चर्काएको र पहिला वीरगञ्जमा सीमा विवाद हुँदा गोली हानेर मान्छे मरेकोले उनको कुरामा लाग्नुभन्दा अब ३÷४ दिनमै यहाँ दुई देशको टोली आउँछ, दुवै पक्षबीच सम्झौता हुन्छ र सीमा कायम हुन्छ भन्ने पाइयो । यतातिर भने कसैको विश्वास थिएन । किनकि यस्ता कुरा धेरैपटक भए तर समाधान कहिल्यै भएन ।
यसैगरी स्थानीय ७० वर्षका बुद्धिसिंह कडायत र ६९ वर्षीय वीरबहादुर बोहराले थप्नुभयो, “सीमाका दुःख भन्ने हो भने कति छन् कति । पहिला यहाँ जङ्गल थियो । भारतीय पक्षबाट घाँसपात गर्दा दुःख पाइयो । उनीहरूकै कारण घर पारि सारेका हौँ । पहिला राङ्गा, भैंसी, बाख्रासमेत चोरी हुन्थ्यो । महिलाको इज्जत लुटिन्थ्यो । हाम्रो कथा कसैले बुझेका छैनन् । फेरि पनि दुःख पाइँदैन भन्ने विश्वास के ?”
अर्का स्थानीयवासी नवदुर्गा माविका २७ वर्षीय शिक्षक रमेश बोहरा भन्नुहुन्छ, “सरकारको उपस्थिति विवादको बेलामात्रै हो । हाम्रो प्रहरी चौकी टाढा छ । आउँदासम्म धेरै समय लाग्छ । केही घटना भएर सीमा पार गरिसकेपछि मात्रै थाहा हुन्छ । सीमा भारतीय पक्षबाट पटकपटक मिचिएकै छ ।”
हाम्रा अग्रजहरूले भन्नुभयो, “दिनमा नभए रातमा पनि सीमास्तम्भ सार्ने काम हुन्छ । यसैले दुई देशबीचको सीमा विवाद समाधान गर्नु नै उचित हुन्छ । अनिमात्रै सीमा क्षेत्रका सबैले सुरक्षित भएको महसुस गर्नेछन् । यही हो सीमाको यथार्थता ।”
Leave a Reply