‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
राष्ट्रपतिबाट सोमबार सिन्धुपाल्चोकको मनोरम गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन भयो । जलवायु परिवर्तन विश्वका सबै मानिसको चासो र चिन्ताको विषय हो । यसबाट मानिससँगै संसारका चराचर जगतमा प्रत्यक्ष वा परोक्ष प्रभाव पर्दछ । जलवायु परिवर्तनको प्रभाव कुनै एउटा देश वा क्षेत्रमा मात्र पर्ने गर्दैन । यसको प्रभाव सर्वव्यापी हुन्छ । जलवायु परिवर्तनको प्रभावको प्रत्यक्ष र तत्कालै प्रभाव पार्ने देशमध्ये नेपाल पनि पर्दछ । विश्वको तापमान वृद्धिसँगै हिमालमा हिउँ पग्ले सिङ्गो नेपालको जनजीवन, पर्यावरण र संस्कृतिमा प्रत्यक्ष प्रभाव पार्नेछ ।
नेपालमा जलवायु परिवर्तनप्रतिको चासो विकसित देशले वायुमण्डलमा पारेको दुष्प्रभावको क्षतिपूर्ति रकम दाबी गर्नमात्र पक्कै होइन । नेपालको पर्य–पर्यावरणको संवद्र्धन नेपाल र नेपाली स्वयम्को दायित्व हो । प्राकृतिक सम्पदाको संरक्षण र विस्तार पृथ्वीको बासिन्दा हुनुको नाताले नेपालीको पनि कर्तव्य हो । कुनै पनि भौतिक निर्माण गर्दा पर्यावरणीय र वातावरणीय क्षति हुन नदिने र स्थानीय संस्कृतिमा असर नगर्ने तरिकाले मात्र विकास निर्माण गर्ने नीति राज्यको हुनुपर्दछ । तर देशमा केन्द्रदेखि स्थानीय तहसम्मले गरिरहेका विकास निर्माणका गतिविधि हेर्दा राज्य त्यसप्रति उदासीन देखिन्छ । विकासको नाममा पहाड फोड्दै जथाभावी बाटो खन्ने, प्राकृतिक सम्पदामा हुने क्षति र स्थानीय आदिवासी संस्कृतिको कुनै वास्ता नगरी ‘विकास र समृद्धि’ को नाममा ‘कन्क्रिटको जङ्गल’ विस्तार गर्ने काम भइरहेको छ । डोजर र भ्याकु चलाउन सक्ने मानिस नै सबभन्दा बढी विकासप्रेमी बनिरहेको छ ।
खेतीयोग्य जमिनको संरक्षण पर्यावरणीय संरक्षणको अर्को पाटो हो । तर, काठमाडाँै उपत्यकाको खेतीयोग्य जमिन आज विकासको नाममा सिध्याइँदै छ । ठूलठूला भौतिक निर्माणका कारण खेतीयोग्य जमिन नासिंदा यहाँको वातावरणमात्र बिग्रेको छैन, स्थानीय संस्कृतिसमेत लोप हुँदै गएका छन् । उद्योग कलकारखानालाई अब वातावरणमैत्री प्रविधिको प्रयोगमा उत्साहित गरिन जरुरी छ । आधुनिक कृषि प्रविधिको प्रयोगले कृषि उत्पादन बढ्ने, कृषि उत्पादनमा परनिर्भरता घट्नेमात्र होइन, वातारणीय संवद्र्धनमा समेत टेवा पुग्नेछ ।
सरकारले राजधानीको प्रदूषण घटाउन प्रयोगका लागि भनी केही विद्युत्तीय गाडी ल्याएको थियो । प्रधानमन्त्रीले विद्युतीय गाडी उद्घाटन गरे । तर, ती विद्युतीय गाडी लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका, तोकिएको मापदण्डभन्दा गुणस्तर निकै कमसल भएको र चिनियाँ भनी ल्याइएका गाडी भारतीय भएको समाचार प्रकाशमा आयो । सरकारको यस्तो लोकाचारी र सस्तो लोकप्रियताको भोको प्रवृत्तिका कारण जलवायु परिवर्तनको प्रतिरोधमा हामी कमजोर हुनेछौँ । जलवायु परिवर्तनलाई पनि सरकार र सरकार वरपरका लोभीपापीले कमाई खाने भाँडो बनाइरहेका छन् ।
काठमाडाँै उपत्यकाको प्रदूषणको मात्राले नेपालको सन्दर्भमा यो मुद्दा अझै पनि विकसित देशबाट अनुदान र आर्थिक सहायता कुम्ल्याउने बहानामा मात्र सीमित रहेको देखिन्छ । सरकार वास्तवमै यो मुद्दामा गम्भीर हो भने कम्तीमा काठमाडाँै उपत्यकालाई स्वच्छ र वातावरणमैत्री सहरको रूपमा विकास गर्न हतार भइसकेको छ । जनसङ्ख्या केन्द्रीकरण प्रदुषणको प्रमुख कारणमध्ये पर्दछ । कुनै निश्चित स्थानमा मात्र अत्यधिक सङ्ख्यामा मानिस थुपर्दाले त्यसले वातावरण र जनजीवनमा प्रतिकूल असर गर्दछ । काठमाडौँ उपत्यका यसको सबभन्दा उपयुक्त उदाहरण हो । राज्यले स–साना व्यवस्थित सहरको विकासमा ध्यान दिन जरुरी छ । काठमाडाँै उपत्यकाबाट जनसङ्ख्या विकेन्द्रीकरण गर्न सन्तुलित विकासलाई ध्यान दिनुपर्दछ ।
जलवायु परिवर्तन सम्मेलनलाई औपचारिकता र देखाउने दाँतमात्र गरे अन्ततः पृथ्वीवासीका नाताले सबैलाई नै नकारात्मक असर पर्नेछ ।
Leave a Reply