भर्खरै :

छालाजन्य वस्तुका ७० प्रतिशत कच्चा पदार्थ आयात

–सिवी अधिकारी/शर्मिला पाठक 
काठमाडौँ, १९ पुस  ः पछिल्लो समय स्वदेशी उत्पादनप्रति नेपाली उपभोक्ताको आकर्षण बढ्दो छ ।
यसको पछिल्लो उदाहरण हो जुत्ता तथा छालाजन्य वस्तुको उत्पादन र उपभोेग । जुत्ता, चप्पल तथा छालाजन्य वस्तुमा नेपाल क्रमशः आत्मनिर्भर बन्दै गएको छ । ‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’का अनुसार अहिले जुत्तामा नेपाल ६० प्रतिशत आत्मनिर्भर भइसकेको छ ।
विसं २०५८ को जनगणनाअनुसार एक जना व्यक्तिले वर्षमा दुई दशमलव ६६ जोर जुत्ता प्रयोग गर्छ । यसरी हेर्दा वार्षिक आठ देखि १० करोड जोर जुत्ता आवश्यक पर्छ । गत वर्ष झण्डै साढे चार करोड जुत्ता आयात भएको थियो भने नेपालमा उत्पादित एक करोड २८ जोर जुत्ता निर्यात भएको थियो । यो सङ्ख्यालाई हेर्ने हो भने लगभग पाँच करोड जोर जुत्ता नेपालमा उत्पादन भएको छ । यसले मागको झण्डै ६० प्रतिशत नेपाली उत्पादनले ओगटेको जनाउँछ ।
एशोसिएसनका अध्यक्ष कृष्णकुमार फुँयालले नेपालमा उत्पादित जुत्ता आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यावसायिकरुपमा लागिपरेको बताउनुभयो । “हाम्रो पछिल्लो उत्पादन र उपभोगलाई हेर्दा क्रमशः आत्मनिर्भर बन्दै गएका छौँ, मागको ६० प्रतिशत धान्न सक्ने भएका छौ, यसले के सन्देश दिन्छ भने नेपाल जुत्तामा आत्मनिर्भर बन्दैछ ।”
उपभोक्ता, सरकार र सञ्चारमाध्यमको सहयोगले नै आफूहरुको सफलता मिलेको उहाँको भनाइ छ । उत्पादित जुत्तामध्ये कच्चा पदार्थको आयात र चुनौती बन्दै गएको छ । आधुनिक निर्माण सामग्री, आवश्यक दक्ष जनशक्ति र कच्चा पदार्थको अभावमा जुत्ता चप्पल व्यवसायले अपेक्षित प्रगति गर्न नसकेको उहाँले बताउनुभयो ।
अध्यक्ष फुयाँलका अनुसार उत्पादनमा दक्ष जनशक्तिको अभावसँगै कच्चा पदार्थको अभावमा धेरैमात्रामा पूँजी खर्चनुपर्ने बाध्यता छ । अहिले ६५ देखि ७० प्रतिशत कच्चा पदार्थ आयात गरिरहेका छौँ ।
देशमा सबैभन्दा धेरै रोजगारी प्रदान गर्ने सम्भावनाको क्षेत्र भए पनि यसमा उचित लगानी र जनशक्तिको अभाव छ । नेपालमा अहिले जुत्ता, चप्पलसम्बन्धी एक हजार ५०० भन्दाबढी उद्योग सञ्चालनमा छन् । जुत्ता चप्पलको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन सक्ने सम्भावना बोकेको क्षेत्र भएकाले हामी त्यसतर्फ केन्द्रित भएको अध्यक्ष फुँयालको भनाइ छ ।
उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य आम नेपालीको खुट्टामा स्वदेशी उत्पादन पु¥याउने हो ।” विगतमा थोरै उद्योग भएकाले उत्पादित कच्चा पदार्थ खपत गर्ने अवस्था नभएको तर अहिले उद्योग पर्याप्त भइसकेकाले आवश्यक कच्चा पदार्थका उद्योग खोलेर कच्चा पदार्थ आयातलाई निरुत्साहित गर्न सकिए मुलुक जुत्ता चप्पलमा पूर्णरुपमा आत्मनिर्भर बन्ने सम्बन्धित व्यवसायीको भनाइ छ । नेपालमा उत्पादित जुत्तामध्ये अधिकांश भारत निर्यात हुने गरेको छ ।
अहिले गोलस्टार, शिखर सुज, रोयललगायत स्थापित ‘ब्राण्ड’ का जुत्ता चप्पल उपभोक्ताले बढी रुचाएका छन् । करीब ३५ अर्ब लगानी भएको जुत्ता, चप्पल व्यवसायमा वार्षिक सोही रकम बराबरको कारोवार हुने गरेको छ ।
नेपाली छालाजन्य वस्तुको उत्पादनबारे जानकारी गराउने उद्देश्यले यही पुस १३ देखि १९ गतेसम्म जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी गरिएको छ ।
भृकुटीमण्डपको प्रदर्शनी कक्षमा आयोजित सो प्रदर्शनीमा एक लाख ५० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।
मेलाको अवलोकन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हालकै अवस्थाबाट अघि बढ्ने हो भने आगामी तीन वर्षभित्रमा नेपाल छालाजन्य वस्तुमा आत्मनिर्भर हुने बताउँदै यस व्यवसायसँग सम्बन्धित व्यवसायीलाई उल्लासकासाथ लगानी अभिवृद्धि गर्न आग्रह गर्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गर्नुभएको उक्त प्रदर्शनीको आज उद्योगसचिव चन्द्रकुमार घिमिरेले समापन गर्नुभएको हो ।
मेलाका संयोजक नवराज गौतमले आर्थिक उपार्जनभन्दा पनि छालाजन्य नेपाली उत्पादनबारे प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो ।
एशोसिएसनको आयोजनामा भएको प्रदर्शनीमा विशेषगरी छालाको जुत्ता, चप्पल, स्पोर्टस् जुत्ता, स्कूल र कलेजका जुत्ता तथा विभिन्न खानाका परिकारसहित १४० कक्ष राखिएका थिए । ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नाराका साथ शुरु भएको मेलामा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *