भर्खरै :

पुण्य कमाउने नाममा महीनावारी नहुँदै विवाह

डोटी, १९ पुस  ः सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका ग्रामीण क्षेत्रमा बालविवाहले विकराल रुप लिँदै आएको छ । सानै उमेरमा छोरीको विवाह गरे छोरीको भविष्य बिग्रिन्छ भन्ने जान्दाजान्दै पनि यहाँका स्थानीयवासी बालविवाह रोक्नुको साटो झन् फैलाउन लागिपरेका छन् ।
सानै उमेर अर्थात् महीनावारी नहुँदै छोरीको विवाह (कन्यादान) गरे पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँका स्थानीयवासी सानै उमेरमा छोरीको विवाह गराउने गरेको केआइसिंह गाउँपालिका–५ जमलकटियाका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “महीनावारी नहुँदै छोरीको कन्यादान गरे ठूलै पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासले बालविवाह बढ्दै गयो, रोक्न सकिएको छैन ।”
यहाँका गामीण क्षेत्रमा हुने बालविवाह रोक्नका लागि विभिन्न सङ्घसंस्थाहरु लागिपरे पनि रोक्न सकिएको छैन । स्थानीयवासीले छोरीको उमेर बढाएर भए पनि बालविवाह गर्न थालेका छन् । कुनै बेला यहाँका गाउँघरमा छोरीका नाममा धन खाने अर्थात् छोरीको विवाह गरे रकम लिने चलन भए पनि अहिले त्यो चलन हटेर पुण्य कमाउने भन्दै बालविवाह गर्ने चलन रहेको वासुदेवीका स्थानीयवासी करण ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “धन खाने चलन त हट्यो, बालविवाह गर्ने चलन हटाउन सकिएन ।” पछिल्लो समय जिल्ला प्रहरी कार्यालय डोटीमा बालविवाह र बहुविवाहका मुद्दा दर्ता गराउन आउनेको सङ्ख्या पनि बढिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्कअनुसार सानै उमेरमा बालविवाह गरेकाले नै पछि गएर अर्को विवाह गर्ने गरेका कारण बहुविवाहको मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको हो ।
डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले मुलुकी संहिता ऐन २०७४ अनुसार बालविवाह गरेकालाई नागरिकता नदिने भन्ने उल्लेख भएकाले जिल्ला प्रशासनमा सानै उमेरमा विवाह गरेकाले नागरिकताका लागि नआउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “२० वर्ष उमेर नपुगी विवाह गरेकालाई नागरिकता नदिने भन्ने कानूनमा प्रस्ट उल्लेख छ, हामीकहाँ उमेर नपुगी विवाह गरेका नागरिकता लिन आउँदैनन् र गाउँपालिकाबाट पनि सिफारिश हुँदैन ।”
बालविवाहले डोटीमा निकै असर पार्ने गरेको भन्दै बालविवाह गर्दा महिलाले झेल्नुपर्ने समस्या लगायतका विषयमा जानकारी दिँदै बालविवाह न्यूनीकरणको अभियानका लागि भूमिराज मावि सलेना विद्यार्थीहरु पछिल्लो समय सक्रिय हुन थालेको सो विद्यालयका शिक्षक जगतबहादुर बलायरले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूले सडक नाटक लगायतका जनचेतनामूलक कार्यक्रम गरेर बालविवाह न्यूनीकरणको अभियानमा लागेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *