भर्खरै :

खेलकुदलाई मौलिक हक बनाउने प्रयास शासक दलद्वारा विफल

भक्तपुर, २० पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रभात इङ्गलिस सेकेण्डरी स्कूलको आयोजनामा भएको प्रथम उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता तथा भक्तपुर जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगिताको शुक्रबार उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष बिजुक्छेंले खेलकुद स्वास्थ्य, अनुशासन र मित्रताको लागि हुनुपर्नेमा जोड दिनुभयो ।
सन् १९५९–६० मा आफू चीनमा जाँदा चिनियाँ खेलाडीहरूले आँखामा कपडा बाँधेर आवाजको भरमा टेबुलटेनिस खेल खेलेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘‘चीन र रुसबीचको टेबुलटेनिस प्रतियोगितामा चिनियाँ खेलाडीहरूले अङ्क प्राप्त गर्दा ताली बजाएर रुसका अतिथि खेलाडीहरूलाई निरुत्साहित गर्ने काम नगरेको सकारात्मक लाग्यो ।’’
उहाँले भन्नुभयो, ‘‘टेबुलटेनिस खेल तुलनात्मक रुपले सस्तो भएकोले सर्वसाधारण खेलाडीलाई पनि खेल्न सजिलो हुन्छ ।’’
प्रभात सार्वजनिक शैक्षिक गुठीका अध्यक्ष एवं सांसद प्रेम सुवालले विद्यार्थीहरूलाई शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विद्यालयले काठमाडाँै उपत्यकाव्यापी टेबुलटेनिस प्रतियोगिता र भक्तपुर जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पढाइसँगै खेलकुद, साहित्य, सङ्गीत, हाजिरीजवाफ, चित्रकला आदिमा पनि विद्यार्थीहरू अब्बल हुनु आवश्यक छ ।’’
‘‘हामीले संविधानको मौलिक हकमा खेलकुद पनि राख्नुपर्नेमा जोड दिएका थियौँ । तर, सरकारमा गएका पार्टीहरू नमानेको हुँदा खेलकुद संविधानको मौलिक हकमा समावेश हुनसकेन’’, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘सरकारले विद्यालयहरूमा खेलकुदको लागि आवश्यक पूर्वाधार बनाइदिनुपर्छ । यो जिम्मेवारबाट सरकार भाग्नु हुँदैन ।’’
विद्यालयका प्रिन्सिपल के.बी. प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा प्रभात शैक्षिक गुठीका सदस्य गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।
पुस २० गतेदेखि २२ गतेसम्म हुने उक्त प्रतियोगितामा पुरूष खुला, महिला खुला, क्रमशः १६, १२, १० वर्षमुनिका छात्र÷छात्राहरूबीच खेल हुनुका साथै टीम इभेन्टको पनि प्रतिस्पर्धा भइरहेको छ ।
त्यस्तै प्रभात इङ्गलिस स्कूलकै आयोजनामा शुक्रबार वक्तृत्वकला पनि सम्पन्न भयो ।
प्रतियोगितामा हिमालयन ग्लोरी स्कूलका रितिष्णा दुवाल पहिलो, ख्वप्रिङ एकेडेमीका अनुष्का प्रजापति दोस्रो, ब्राइटस्टार स्कूलका रञ्जु जोशी तेस्रो र पारागन एकेडेमीका करिता कार्की सान्त्वना हुन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *