‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, १९ पुस । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ र ९ को नंखेल, सिपाडोल र महतगाउँमा निर्माण गरिने भनिएको ‘अन्तर्राष्ट्रियस्तरको रङ्गशाला’ बारे बुधबार युवा तथा खेलकुद मन्त्रालयमा भएको भनिएको ‘सहमति’ को प्रस्तावित रङ्गशाला पीडित सङ्घर्ष समितिले बिहीबार एक विज्ञप्ति जारी गरी विरोध गरेको छ ।
पीडित सङ्घर्ष समितिका अध्यक्ष हरिकृष्ण दनेगुलूको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा भनिएको छ –
“प्रस्तावित रङ्गशाला पीडित सङ्घर्ष समितिको तर्फबाट २०७५ कार्तिक २५ गते सूर्यविनायक नगरपालिका वडा नंं. ८ र ९ कार्यालय, जिल्ला प्रशासन कार्यालय, भक्तपुर, उपत्यका विकास प्राधिकरण र मंसिर २ गते सूर्यविनायक नगरपालिकाको कार्यालय, मंसिर ९ गते युवा तथा खेलकुद मन्त्रालय र मंसिर १६ गते मालपोत कार्यालय भक्तपुर, नापीशाखा भक्तपुरमा पीडित किसानहरूको हस्ताक्षरसहित प्रस्तावित अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको विरोधमा ज्ञापनपत्र बुझाइसकेको छ । स्थानीय जनता र किसानहरूको विरोधबीच अन्तर्राष्ट्रियस्तरको रङ्गशाला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ र ९ को नङ्खेल, सिपाडोल र महतगाउँमा निर्माण गर्न युवा तथा खेलकुद मन्त्रालयमा पुस १८ गते भएको भनिएको सहमतिको घोर भत्र्सना गर्दछौं । जनताको गाँस–बाससँग जोडिएको विषयलाई विनाछलफल सरकारमा पहुँचको दुरूपयोग गर्दै जनताको बास उजाड्ने दुस्प्रयासविरूद्ध हामी किसानहरू अन्तिम अवस्थासम्म सङ्घर्ष गर्न तयार छौँ ।”
अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणको विरोध गर्नुपर्नाको कारणबारे विज्ञप्तिमा भनिएको छ – “अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउन काठमाडौँ उपत्यकामा पर्याप्त खुला क्षेत्र छैन । देशको सन्तुलित विकासको लागि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला प्रदेश नं. ३ को प्रस्तावित राजधानी मकवानपुरमा बनाउन उपयुक्त हुन्छ । सम्पूर्ण स्थानीय किसान र जनताको आफ्नो घर–खेत नै उठीवास हुने गरी अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउन न्यायपूर्ण होइन । जनताको घर–खेत उठीवास हुने गरी कुनै पनि प्रकारको सहमति गर्र्नु निरङ्कुशता हो । काठमाडौँको दशरथ रङ्गशाला र देशभरिका अन्य रङ्गशालाहरूको मर्मतसम्भारमा सरकारको ध्यान जानु आवश्यक छ । आ.व. २०७५÷७६ को बजेटमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणस्थल सिफारिस गर्न रू. ५० लाख बजेट राखिएकोमा जनताको विरोध भएको र सो बजेट झ्वाम पार्न नै तीनजना ‘जनप्रतिनिधि’ र मन्त्रीबीच सहमति गरिएको त होइन ? तीन ‘जनप्रतिनिधि’ र मन्त्रीबीचको सहमति अविलम्ब खारेज गर्नुपर्दछ अन्यथा जनताको आन्दोलनले उक्त सहमतिलाई खारेज गर्नेछ ।”
वक्तव्यमा पुस २३ गते सोमबार, बिहान ९ बजे नन्दिकेशर महादेवस्थान, नङ्खेलमा हुने विरोध सभामा व्यापक सहभागी हुन पनि सम्पूर्णमा अनुरोध गरिएको उल्लेख छ ।
Leave a Reply