लुलाको जीतलाई विश्व नेताहरूले भने “ऐतिहासिक”
- कार्तिक १०, २०८३
भक्तपुर, २० पुस । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले सार्वजनिक र सरकारी जग्गा संरक्षण, संस्कृति र सम्पदा संरक्षण, सरसफाई आदि कार्य स्थानीय जनताको अगुवाइमा मात्र सफल हुने बताउनुभएको छ ।
भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षणार्थ पर्खाल निर्माणको शिलान्यास कार्यक्रममा सांसद सुवालले भक्तपुर नगरपालिकाको आर्थिक अनुशासन र जनताको इमानदारीपूर्वक सेवा गर्ने गतिविधिलाई कदर गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनलले सदाचारको टापूले विभूषित गरेको र भक्तपुरका जनताले सम्पदा संरक्षण र सरसफाइमा गरेको योगदानको कदर गरी युनेस्कोले भनपालाई पुरस्कार प्रदान गरेको चर्चा गर्नुभयो । ‘‘भक्तपुरका जनताप्रतिको यो सम्मानलाई कायम राख्नु हामी सबैको कर्तव्य हो ।’’ उहाँले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, ‘‘तत्कालीन राजा वीरेन्द्रले भक्तपुरका जनताको यो जग्गा सस्तोमा खरिद गरेका थिए । गणतन्त्रको स्थापनासँगै नेपाल सरकारअन्तर्गत ट्रष्टको नाममा रहेको यो जग्गा भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयअन्तर्गत मेडिकल सञ्चालनको लागि नेपाल सरकारसँग माग गर्दैछ । हामीलाई विश्वास छ – यो जग्गा भक्तपुर नगरपालिकालाई प्रदान गर्नेछ ।’’
उहाँले अगाडि भन्नुभयो, ‘‘ट्रष्टको ऐनमा पनि ट्रष्टको सम्पत्ति शिक्षा, स्वास्थ्य र पर्यटनमा उपयोग गर्ने उल्लेख भएकोले भक्तपुुर नगरपालिकाले ख्वप विश्वविद्यालयअन्तर्गत मेडिकल कलेजलाई माग गरेको ऐनसम्मत छ ।’’
सार्वजनिक जग्गा समयमै संरक्षण नहुँदा भक्तपुरकै विभिन्न स्थानमा पर्ती जग्गा अतिक्रमित र व्यक्तिको नाउँमा दर्ता भइरहेको उल्लेख गर्दै उहाँले भनपाले थालेको पर्ती जग्गा संरक्षण कार्य उपयुक्त, राम्रो र महत्वपूर्ण पाइला भएको आँैल्याउनुभयो । पर्ती जग्गा अतिक्रमण गर्न नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “पर्ती जग्गा कसैले खाए जीवनभर पोल्छ, निद्रा लाग्दैन र मर्न पनि सजिलो हुँदैन ।”
हरियो वन नेपालको धन विनास भइरहेकोमा चिन्ता व्यक्त गर्दै अतिथि सांसद सुवालले सडकको दायाँ बायाँ घर निर्माणसँगै पर्ती जग्गा पनि अतिक्रमण भइरहेको हुँदा पर्ती जग्गा संरक्षण अभियानमा सरकार अघि बढ्नुपर्छ भन्नुभयो ।
पर्खाल निर्माण कार्य इमानदारीपूर्वक हुने उल्लेख गर्दै उहाँले लागेको खर्च पारदर्शी हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा आयोजित सो शिलान्यास कार्यक्रममा सभापतिको आसनबाट बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको सन्तुलित विकासको निम्ति भइरहेको महत्वपूर्ण काममा यो पर्ती जग्गा संरक्षण पनि एक हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाले गरिरहेको विकास निर्माणको काममा जनताको सेवा गर्नेबाहेक अरू कुनै स्वार्थ नरहेको स्पष्ट पार्दै नगर प्रमुख प्रजापतिले जनताकै साथ र सहयोगमा पर्ती जग्गा संरक्षण गर्दै जाने विचार व्यक्त गर्नुभयो ।
“भारतले नेपाली भूमि मिचेजस्तै यहाँ पनि नियमविपरीत मिच्ने या अतिक्रमण गर्ने हुँदा नपा पर्ती जग्गा संरक्षणमा लागेको हो । यो स्थानीय सरकारको दायित्व हो ।” उहाँले भन्नुभयो ।
ख्वप विश्वविद्यालयको विधेयक संसदमा दर्ता भए पनि छलफलमा नल्याएर ढिलासुस्ती भइरहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सरकारी सम्पति, सम्पदा, जग्गाको संरक्षण संवद्र्धनमा नपाले खेलेको भूमिकाको सराहना गर्दै भक्तपुर नगरलाई उदाहरणीय बनाएर सबैको अध्ययन गर्ने थलोको रूपमा विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अतिक्रमण रोक्न या पर्ती जग्गाको संरक्षण गर्नुपर्ने आवश्यकता केलाउँदै प्रजिअ भट्टले सो जग्गालाई संरक्षणमात्र होइन सफा र सुन्दरीकरण गर्न पनि आग्रह गर्नुभयो ।
देशभरिकै नपाले सिक्ने आभास दिलाउन भनपा अघि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले पर्ती जग्गा संरक्षण गर्ने नपाको काममा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
शिलान्यास कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष एवम् पूर्ववडाध्यक्ष लक्ष्मीनारायण खत्रीले पारदर्शी र स्वच्छ ढङ्गले निर्माण कार्य गर्ने विचार व्यक्त गर्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पर्ती जग्गा संरक्षणको आवश्यकताबारे चर्चा गर्नुभयो भने प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले राज्यको सम्पति संरक्षण गर्न र अन्य रचनात्मक काममा साथ र सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, प्राचार्य, शिक्षकशिक्षिका, व्यापारी व्यवसायी, समाजसेवी, महिला सुरक्षाकर्मी, विद्यार्थी तथा स्थानीय जनताको व्यापक सहभागिता थियो ।
Leave a Reply