भर्खरै :

साढे चार वर्षमा मोदी शासनको कमाइ

बिगुल सम्पादक मण्डल
आफ्नो कार्यकाल पूरा गर्दै गर्दा मोदी शासनको मुखुण्डो पूरै खुल्दै छ । सबै जाँचबुझ आयोगहरू सरकारको खल्तीमा छन् । मिडियाको हैसियत पुँजीपतिहरू र उनीहरूको व्यवस्थापक समिति (अर्थात् सरकार) को ढोकामा बसिरहेको कुकुरभन्दा बढी छैन । यस्तो बेला साँचो कुरा धेरै दिनसम्म लुकाउन सकिन्छ । तर, दुर्गन्ध यति बढेको छ कि ध्यान भड्काउने तमाम हत्कण्डा र ढाकछोप गर्ने सारा चालबाजीपछि पनि दुर्गन्ध चारैतिर फैलन थालेको छ । रामनामी लेखेको दोसल्लामुनिबाट फोहरमैला बगेर बाहिर आउन थालेको छ ।
“न खान्छु, न खान दिन्छु” को नारा फलाकेर नथाक्ने मोदीको न्वारनदेखिको कोसिसपछि पनि राफेल घोटालाको यथार्थ लुक्न सकेन । एउटा झुट लुकाउने कोसिसमा सरकारले दसवटा झूट बोल्दै छ र एकएक गर्दै सबै कुरा उदाङ्गिदै छ । कुरैपिच्छे सदाचार र स्वच्छताको अर्ती दिने हिन्दूवादी फासिस्टहरू कुनै पनि मानेमा अरू पार्टीभन्दा कम भ्रष्ट हुँदैनन् भन्ने त पहिले पनि सावित भइसकेको छ । तर, मोदी सरकारले त घोटालाहरूको सबै कीर्तिमान तोडेको छ । राफेल घोटाला सुरक्षा सम्झौताहरूमा अहिलेसम्मकै सबैभन्दा ठूलो घोटाला त हो नै, मध्य प्रदेशमा व्यापम, बिहारमा सृजन, छत्तीसगढमा चामल घोटालासहित यसका राज्य सरकार पनि घोटालाको होडमा कोहीभन्दा कम छैनन् । यहाँ हामी घोटालाको सूची गन्न चाहन्नौँ । केन्द्रदेखि राज्यसम्म हरेक स्तरमा यति घोटाला भएका छन् कि नाम लेख्दालेख्दा पूरै पाना भरिनेछ । त्यसै पनि एउटै चोरीबाट चोरको नियत थाहा लाग्छ । जुन चौकीदारको नाकमुनिबाट एकपछि अर्को चोर नोटका बिटा बोकेर भाग्छ र विदेशमा बसेर कानुनलाई खिसी गरिन्छ उसलाई कसले घरको रेखदेखको अभिभारा सुम्पेला ? सारा सार्वजनिक प्रतिष्ठान (जसलाई जनताको हड्डी निचोरेर जम्मा गरेको सरकारी खजानाबाट स्थापित गरिएको हो) र जल, जङ्गल, जमिन, खनिजको भण्डार आदि प्राकृतिक सम्पदा कौडीको मोलमा पुँजीपतिहरूलाई बेच्नु पनि आफैमा एक भयङ्कर घोटाला हो । यसको राशि सबै घोटालाभन्दा बढी होला ।
यो गैरकानुनी लुट यतिबेला भइरहेको छ जतिबेला श्रम कानुनहरूमा भारी बदलावपछि मजदुरहरूको हड्डी निचोर्न पुँजीपतिहरूलाई फुक्का छोडिएको छ । उत्पादन स्थलमा आफ्नो हड्डी निचोर्ने गरी शोषण गराएपछि साधारण मानिसले आफ्नो ससानो बचत बैङ्गमा जम्मा गर्छ वा बीमामा पैसा लगाउँछ । यसलाई पुँजीपतिले लगानी गरेर एकको आठ कमाउँछ र साधारण मानिसले बैङ्गबाट ब्याजको रूपमा नगण्य राशि पाउँछ । मोदी सरकारका कुकृत्यहरूबाट अब यो राशि पनि डुब्ने खतरा मडारिरहेको देखा पर्दैछ ।
फर्जी आँकडा देखाएर विकासको ढोल जति पिटे पनि अब यो सरकारको दाबी दुनियाँभरि मजाकको विषय बनिसकेको छ । औद्योगिक उत्पादनमा लगातार गिरावट आइरहेको छ । कृषि क्षेत्र भयङ्कर सङ्कटमा छ । पेट्रोल डिजलको मूल्य आपसमा हानथाप गरिरहेका छन् । डलरको दाँजोमा रूपैयाँको मूल्य गिर्दै गएकोले आयात महंगो हुँदैछ । यसको सिधा असर महंगी बढिरहेको छ । बेरोजगारी यसरी बढिरहेको छ कि दुईचार नोकरीको लागि लाखौँ मानिस भिड्छन् । कारखाना इलाकामा बेरोजगार मजदुरहरू प्रशस्तै पाइन्छन् । जसले काम पाउँछ तिनीहरू पनि मालिकका मनोमानीपूर्ण सर्तमा काम गर्न बाध्य छन् । खाने पिउने, कोठाको बहाल, बिजुलीदेखि लिएर औषधिमुलो र बालबच्चाको पढाइ खर्चले मजदुरहरूको मात्र होइन, आम मध्यम वर्गको पनि कम्मर भाँचिदिन्छ । त्यसमाथि सरकारले उनीहरूको पेन्सन र बीमाको रकममा पनि लुटपाट मच्चाइरहन्छ ।
जनताले यस डकैतीको विरोधमा आवाज नउठाऊन् र जात धर्मको नाममा एकअर्काको खुन बगाउनमा पनि लागिरहून् भनेर यो सरकार र आर.एस.एस.का सारा सङ्गठनले समाजमा विष फैलाउनमा कुनै कसर छोडेका छैनन् । अब चुनाव मुखैमा आएपछि अरू कुनै मुद्दा नपाएर ठगहरूको यी गिरोह फेरि राम मन्दिरको राग अलाप्न जुटिरहेका छन् र ठाउँठाउँमा साम्प्रदायिक तनाव पैदा गर्न कुनै मौका छोडेका छैनन् । केरलामा सबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश गर्न दिनेबारे सर्वोच्च अदालतको आदेशलाई लिएर सङ्घ परिवारले त्यहाँ उत्पात मचाएको छ । काङ्ग्रेस पनि आफ्नो तुच्छ चुनावी स्वार्थका कारण त्यसमा हाम्फालेको छ । यसबाट सङ्घ परिवारलाई नै फाइदा पुग्नेछ । पूर्वोत्तर प्रदेशमा ठाउँठाउँमा ससाना घटनालाई साम्प्रदायिक रङ दिएर दङ्गा भड्काउने कोसिस गरिँदै छ । मध्य प्रदेश र राजस्थानदेखि लिएर बिहार, महाराष्ट्र र कतिपय अन्य राज्यबाट पनि यस्तै खबर आइरहेका छन् । सङ्घ, भाजपा, बजरङ्ग दल र विश्व हिन्दू परिषद् आदिसँग जोडिएका मानिस स्थानीय मनमुटाव र विवादलाई भड्काउने र धार्मिक रङ दिने काम गरिरहेका छन् । स्थानीय मानिसले आपसमा कुराकानी गरेर सुल्झाउन सक्ने विवादहरू जानिबुझिकन मानिसका भावना भड्काउन बढाइचढाइ गरिन्छ । ठूलो मात्रामा झूटा होहल्लाको सहारा लिइँदै छ र भाजपाको आइ.टी. समितिका मानिस कम्मरकसेर ह्वाट्सएप र फेसबुकबाट झूटा कुरा फैलाइरहेका छन् । सबैलाई थाहा भइसक्यो, २०१३ मा मुजफ्फरनगरको दङ्गामा भाजपाका नेता र तिनका आसेपासेहरूले धेरै वर्ष पुरानो पाकिस्तानको भिडियो देखाएर जनतालाई भड्काएका थिए । हैदरावादमा त बजरङ्गी दलका कार्यकर्ताहरू हिन्दू मन्दिरमा गाईको मासु फाल्दै गर्दा समातिएका थिए र कर्नाटकमा यसै सङ्गठनका कार्यकर्ताहरू पाकिस्तानको झण्डा फहराउँदै गर्दा रातै हात समातिएका थिए ।
सङ्घ परिवार अब ठूला दङ्गा भड्काउनुको सट्टा स्थानीय स्तरमा ससाना दङ्गा गराउने र साम्प्रदायिक तनाव सिर्जना गर्ने रणनीतिमा काम गरिरहेको छ । यसले गर्दा राष्ट्रिय स्तरमा अति हल्लाखल्ला मच्चिन्न र चुनावमा फसल काट्न लायक पुग्दो घृणा पनि फैलिन्छ ।
भनिन्छ, रावण आफ्ना दसओटा मुखले बोल्थ्यो । रावण आफ्ना हरेक मुखबाट एउटै कुरा बोल्थ्यो । तर, मोदी सरकार र उसको पछाडि उभिएको सङ्घ परिवारका अनेक मुख छन् र प्रत्येक मुखले बेग्लाबेग्लै कुरा एक साथ बोलिरहेछन् । जनताको ध्यान बाँड्न र तिनलाई आफ्नो उद्देश्यको बारेमा पूर्णतः भ्रममा राख्न यो उनीहरूको पुरानो चल्तीको चाल हो । चुनावअघिदेखि नै यो खेल जारी थियो र सत्तामा आएपछि यो खेल झन् बढी चतुराइँपूर्वक खेलिँदै छ । एकातिर नरेन्द्र मोदी मेलमिलाप र झगडा मेटाउने कुरा गर्छन् र आफूलाई उदारवादी र सबैलाई सँगै लिएर हिँड्ने मानिस देखाउने बहाना गर्छन् । अर्कोतिर उनकै सरकार र पार्टीका कार्यकर्ता साम्प्रदायिक विष फैलाउने र धार्मिक आधारमा ध्रुवीकरणका थरीथरी हत्कण्डामा लागेका छन् । इतिहास, शिक्षा र संस्कृतिको पूरै संरचना पहेँलाइएको छ । पुलिस, न्यायपालिका, चुनाव आयोग आदि संस्थामा मानिसलाई जसरी पहेँलो रङमा रङ्गाइएको छ त्यो सङ्घ परिवारको एजेण्डा अगाडि बढाउन काम लागिरहनेछ, चाहे ऊ आफू सत्तामा रहोस् वा नरहोस् ।
सहर र गाउँका मध्यवर्गीय र सम्पन्न जनतामा आधार बढाउँदै आर.एस.एस.का नेता कार्यकर्ता अति व्यवस्थित ढङ्गले सहरका मजदुर बस्तीमा पनि फैलिँदै छन् । उनीहरूलाई थाहा छ, आउँदा दिनमा मजदुर वर्ग नै उनीहरूविरुद्ध सबैभन्दा द¥हो गरी उभिनेछ । त्यसैले उनीहरू अहिलेदेखि नै मजदुरहरूबीच आफ्नो विषालु प्रचार–प्रसारमा लागिपरेका छन् । किसानी पृष्ठभूमिबाट उजाडिएर आएका निराश र बेहाल असङ्गठित युवा मजदुर र लम्पट सर्वहाराहरूको सामाजिक तहमा फासीवादीहरू सधैँ नयाँ कार्यकर्ता भर्ती गर्न सफल हुन्छन् र यहीँ काम उनीहरू हामीकहाँ पनि गर्दैछन् । सहरमा बेरोजगार युवाहरूको जमात पनि उनीहरूको झूटो प्रचारको शिकार बनिरहेको छ ।
मजदुर र श्रमजीवी जनतालाई सम्झाउनुपर्छ, साम्प्रदायिक फासीवादले पुँजीपति वर्गको सेवा गर्छ । साम्प्रदायिक फासीवादको राजनीतिले झूटो प्रचार वा दुष्प्रचार गरेर सबैभन्दा पहिले एउटा नक्कली दुश्मन उभ्याउँछ अनि मजदुर र श्रमजीवी जनताको शोषण गर्ने सक्कली शत्रु अर्थात् पँुजीपति वर्गलाई जनताको आक्रोशबाट जोगाउँछ । यी मानिस मजदुर वर्गका शत्रुमात्र होइनन् यी सम्पूर्ण समाजकै शत्रु हुन् । यिनको सामना गर्न मजदुर वर्गले आफ्नो वर्ग हितको रक्षाको निम्ति एकजुट भएर पुँजीपति वर्गविरुद्ध सुनियोजित लामो लडाइँको तयारी गर्नुपर्छ । साथमा महँगी, बेरोजगारी, महिला समानता तथा जाति र धर्मको कट्टरताविरुद्ध पनि जनतालाई जागरुक गर्दै आफ्ना प्रजातान्त्रिक हकअधिकारको लडाइँको निम्ति सङ्गठित हुनुपर्छ ।
(स्रोत ः मजदुर बिगुलको पछिल्लो अङ्क)

Leave a Reply

Your email address will not be published. Required fields are marked *