भर्खरै :

लाटोकोसेरो महोत्सव माघ १८ मा

खोटाङ, २१ पुस  ः आगामी माघ तेस्रो साता खोटाङमा आठौँ लाटोकोसेरो तथा हुचिल महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो दिवसको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गर्न लागिएको हो ।
लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउने उद्देश्यले प्रकृतिका साथीहरु नामक संस्था र वडा कार्यालय जालपाको सहकार्यमा माघ १८ र १९ गते उत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं वडाध्यक्ष विकास राईले बताउनुभयो । उत्सवको पहिलो दिन लाटोकोसेरोसम्बन्धी लघु म्युजियम प्रदर्शनी, विभिन्न प्रजातिको चरा अवलोकन, प्रकृतिको तस्वीर खिच्ने, घिर गाडे, झुलो चकमक र लाथ्रोलगायत लोपोन्मुख खेल प्रदर्शनी गरिने शुक्रबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने उत्सवको दोस्रो दिन वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षणसम्बन्धी नृत्य, स्थानीय तामाङ समुदायको डम्फु र सेलो, शेर्पाको सेब्रु, किरात राईको साकेला र मारुनी, हिन्दू महिलाको सङ्गिनी नाच, गुरुङ जातिको सालैज्यू, बालन, सडक नाटक, हाक्पारे गीत, मुर्चुङ्गा तथा बिनायो, पीपीरी, यलम्बर, मादल, बाँसुरीलगायतका स्थानीय बाजा प्रदर्शनी गरिने छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट, लाटोकोसेरोसम्बन्धी जानकारी दिने सूचना, चित्र तथा फोटो, त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान सङ्ग्रहालयको लाटोकोसेरोको नमूना, गहुँको छवाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरोसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
उत्सवको अवसरमा विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, निबन्ध, कथा तथा कविता प्रतियोगितासमेतको आयोजना र प्रदर्शनी गरिने जनाइएको छ ।
धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु र दोलखापछि यस वर्ष खोटाङको जालपामा उत्सव गर्ने तयारी गरिएको प्रकृतिका साथीहरु नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *