भर्खरै :

कञ्चनपुरबाट नेपाल पस्ने विदेशी पर्यटक बढे

कञ्चनपुर, २१ पुस । पश्चिमी सिमानाका गडाचौकी हँुदै भित्रिने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
वनवसा पुल खुल्ने समयावधी बढेपछि तेस्रो मुलुकका पर्यटकको आगमनमा वृद्धि भएको हो । अध्यागमन कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार सन् २०१८ को डिसेम्बर महिनासम्म सीमा नाका भएर दुई हजार ९३० विदेशी पर्यटक भित्रिएका छन् ।
सोही नाका भएर सोही अवधिमा दुई हजार ७२४ पर्यटक बाहिरिएका छन् । जुन गत वर्षको तुलनामा बढी हो । गत वर्ष सन् २०१७ को यसै अवधिमा दुई हजार ७४५ पर्यटक भित्रिएका थिए भने एक हजार ७८९ पर्यटक बाहिरिएका थिए ।
सन् २०१६ को डिसेम्बरसम्म दुई हजार ५८२ पर्यटक भित्रिएका थिए भने एक हजार ५५९ पर्यटक बाहिरिएका थिए । अमेरिका, अष्ट्रेलिया, जापान, स्पेन, इजरायल, चीनलगायत क्षेत्रका पर्यटक भारतका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनपछि यहाँ आइपुग्ने गरेको अध्यागमन कार्यालयका निमित्त कार्यालय प्रमुख पदमराज भट्टले बताउनुभयो ।
नेपालका हिमालयको सौन्दर्यता नियाल्न, पदयात्रामा निस्कन, परम्परागत कला र संस्कृतिको अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ । पर्यटक प्रवेश आज्ञाबापत अध्यागमन कार्यालयले पर्यटकबाट १५ दिनको लागि २५ अमेरिकी डलर, ३० दिनका लागि ४० अमेरिकी डलर र ९० दिनका लागि नेपाल घुम्ने पर्यटकको लागि १०० अमेरिकी डलर लिने गरेको छ ।
सुदूरपश्चिम क्षेत्रमा पर्यटकीय सम्भावना भएका धेरै पर्यटकीयस्थल भएपछि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा थोरै पर्यटकले यहाँ घुम्ने गरेका छन् । यसैगरी, अध्यागमन कार्यालयले चालू आर्थिक वर्षको कार्तिकसम्म रू. ३१ लाख ३४ हजार २९ राजस्व सङ्कलन गरेको छ ।
आव २०७४÷७५ को असार मसान्तसम्म रू. ९० लाख ८३ हजार २७२ राजस्व सङ्कलन गरेको थियो । आव २०७३÷७४ मा कार्यालयले रू. ७५ लाख २२ हजार ५० राजस्व सङ्कलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *