भर्खरै :

साढे चार वर्षमा मोदी शासनको कमाइ–२

बिगुल सम्पादक मण्डल
उनीहरूले बुझ्नुपर्छ, औद्योगिक कर्पोरेट घराना र वित्तीय क्षेत्रका गोही नवउदारवादी नीतिहरू बुलेट टे«नको तीव्रगतिमा लागू गर्न चाहन्छन् । यसको लागि एक निरङ्कुश सत्ता आवश्यक हुन्छ । त्यसैले शासक वर्गले नरेन्द्र मोदीलाई सत्तामा ल्याएका हुन् । नरेन्द्र मोदीको नेतृत्वमा उकासिएको हिन्दूवादी फासीवादको आधुनिक संस्करणका जराहरू विद्यमान पुँजीवादी व्यवस्थाको असाध्य ढाँचागत सङ्कटमा छन् । यस पुँजीवादी सङ्कटको एउटा क्रान्तिकारी समाधान हुनसक्छ र त्यो हो पुँजीवादी उत्पादन एवं विनिमय र शासन प्रणालीलाई नै जरैबाट फेर्ने । यो समाधानतिर समाज अघि लम्केन भने पुँजीवादी सङ्कटको फासीवादी समाधान अघि आउनेछ । यसको अर्थ हो, प्रजातान्त्रिक प्रतिरोधको हरेक सीमित सम्भावना पनि समाप्त गरेर श्रमजीवी जनतामाथि पुँजीको नाङ्गो र निरङ्कुश तानाशाही लाद्ने र अहिले यही बाटो भारतीय पुँजीपति वर्गले लिएको छ ।
पुँजीवादी सङ्कटको क्रान्तिकारी समाधान निकालिएन भने त्यसको फासीवादी समाधान सामुन्ने आउनेछ । क्रान्तिको लागि मजदुर वर्ग सङ्गठित भएन भने जनता फासीवादी बर्बरताको पीडा भोग्न अभिशप्त हुनेछन् ।
जहाँसम्म संसदीय सुँगुर गोठमा दसकौंसम्म खुरी खेल्ने चुनावी वामपन्थीहरूको कुरा छ, उनीहरूको अवस्था सर्वाधिक हास्यास्पद छ । उनीहरू आर.एस.एस. र भाजपालाई हिन्दूवादी फासीवादी भन्छन् । तैपनि गैरकाङ्ग्रेस र गैरभाजपा विकल्प बनाउने कोसिसमा जुन दलसँग साम्प्रदायिकताविरोधी सम्मेलन गर्ने र मोर्चा बनाउने आँटिरहन्छन् तीमध्ये अधिकांश दलले कुनै न कुनै बेला सत्ताको कुर्सीमा भाजपासँग रात बिताएका छन् । जब उनीहरूले भाउ पाउँदैनन् त्यसबेला तीन प्रमुख संशोधनवादी पार्टीहरू भाकपा, माकपा, भाकपा (माले लिवरेशन) आपसमै मोर्चा बनाएर तिनको तरबारले फासीवादीहरूको सामना गर्ने रणनीति बनाउन थाल्छन् । यी चुनावी वामपन्थीहरूसँग सोध्नुपर्छ फासीवादविरोधी रणनीतिको विषयमा बीसौँ शताब्दीको इतिहास र माक्र्सवादका शिक्षा के हुन् ? केवल संसद्मा पुँजीवादी दलहरूसँग संयुक्त मोर्चा बनाएर वा केही सम्मेलन वा अनुष्ठान गरेर के फासीवादको सामना गर्न सकिन्छ ? यी पार्टीहरू बहादुर मजदुर वर्गको पार्टी भएकोमा फुर्ती झार्छन् (र उनीहरूसँग सिटु र एटकजस्ता ठूला राष्ट्रिय टे«ड युनियन पनि छन्) भने १९९०
(लालकृष्ण आडवानीको रथयात्रा), १९९२ (बाबरी मस्जिदको ध्वंस) वा २००२ (गुजरात नरसंहार) देखि लिएर अहिलेसम्म हिन्दूवादी फासीवादको विरुद्ध व्यापक श्रमजीवी जनतालाई जुझारु ढङ्गले लामबद्ध गर्न उनीहरूले के गरे ? सङ्घ परिवारको फासीवाद एक सामाजिक राजनीतिक आन्दोलन हो र श्रमजीवी जनताको जुझारु आन्दोलनले नै यसको सामना गर्नसक्छ । तर, यी संशोधनवादी पार्टीले त ७० वर्षदेखि मजदुर वर्गलाई दुईचार पैसाको अर्थवादी लडाइँहरूमा अल्झाएर उसको चेतना नै भ्रष्ट गर्ने काम गरेका छन् । यी टे«ड युनियनका भ्रष्ट नोकरशाह नेताले मजदुरहरूको जनवादी चेतना पनि भुत्ते बनाउने नै काम गरेका छन् । मजदुर वर्गको राजनीतिको नाममा यी गद्दारहरूले केवल मतपेटीकाको बाटो देखाउँदै आएका छन् । पुँजीवादी व्यवस्थाको दोस्रो रक्षापङ्क्तिको काम गर्ने यी नक्कली वामपन्थीहरूको “समाजवाद” पीप भरिएको घाउजस्तै घिनलाग्दो भइसकेको छ । संसदीय राजनीति र आर्थिक लडाइँहरूबाट अलग वर्गसङ्घर्षको राजनीति त यिनीहरूले धेरै पहिले त्यागिसकेका छन् । अहिले त त्यसको बारेमा चर्चा गर्दा पनि उनीहरू थरथरी काम्छन् ।
प्रश्न खालि चुनावी राजनीतिको होइन । पुँजीवादी सङ्कटले पूरै समाजमा (क्रान्तिकारी शक्तिहरूको प्रभावकारी उपस्थितिको अभावमा) फासीवादी प्रवृत्तिहरू र संस्कृतिको लागि अनुकूल माटो तयार गर्दैछ । सङ्घ परिवारले आफ्ना तमाम भ्रातृसङ्गठनहरूको सहारामा अति व्यवस्थित ढङ्गले यस माटोमा आफ्नो अन्न उब्जाउँदै छ । ऊ व्यापारीहरू र सहरी मध्यमवर्गमा मात्र होइन आदिवासीदेखि लिएर मजदुर बस्तीहरूसम्म कम्मरकसेर काम गरिरहेको छ र यसको एउटै जवाफ हुनसक्छ । क्रान्तिकारी शक्तिहरू जति नै कमजोर भए पनि उनीहरूले मजदुर वर्गका बीचमा राजनीतिक प्रचार, ऐक्यबद्धता र सङ्गठनको कामलाई बढाउनुपर्छ । जसरी भगतसिंहले भन्नुभएको थियो, जनताको वर्गीय चेतनालाई उन्नत र सङ्गठित गरेर नै साम्प्रदायिकतासँग जुध्न सकिन्छ ।
पुँजीवादी मानवतावादी अपिल र धर्मनिरपेक्षताको राग अलापेर कहिल्यै साम्प्रदायिक फासीवादसँग जुध्न सकिएको छैन, न सकिनेछ । सर्वहारा वर्गचेतको माटोमा उभिएर गरिने जुझारु र आक्रामक प्रचारले नै यी विचारको असर भङ्ग गर्नसक्छ । हामीले सारा आर्थिक र सामाजिक समस्याहरूको सक्कली जरोलाई आम जनतासामु नङ्ग्याउनुपर्छ र साम्प्रदायिक प्रचारपछाडिको सक्कली उद्देश्यबाट पर्दा उघारिदिनुपर्छ । साथै यस्तो प्रचार गर्ने व्यक्तिहरूको वास्तविकता पनि हामीले जनताबीच ल्याउनुपर्छ र उनीहरूका कुत्सित स्वार्थहरू के हुन् बताइदिनुपर्छ । धार्मिक कट्टरपन्थी फासीवादको सामना यहीँ आधारमा गर्न सकिन्छ । वर्गनिरपेक्ष धर्मनिरपेक्षता र ‘धर्मले केही सिकाउँदैन’ भन्ने खालका मुक्तकले जनतामा कुनै फरक पर्दैन ।
हिटलरको प्रचारमन्त्री गोयबल्सले एकपल्ट भनेको थियो झूटो कुरालाई सयचोटि दोहोराएमा त्यो साँचो बन्छ । यो संसारभरिका फासीवादीहरूको प्रचारको मूल मन्त्र हो । आज मिडियाको कुशल प्रयोगमा अति माहिर हुनाले मोदीको तारिफ गर्नुपर्छ । तर, यो त सबै फासीवादीहरूको खुबी हो । मोदीलाई “विकास पुरुष” को रूपमा प्रस्तुत गर्नमा लागिपरेको मिडियाले मोदीको शासनकालमा गुजरातमा मजदुर र गरिबहरूको दुर्दशा कहिल्यै देख्दैनन् । श्रमजीवी जनता यस्ता झूटा प्रचारको चङ्गुलमा पर्नुहुन्न । उनीहरूले बुझ्नुपर्छ, तीव्र विकासको बाटोमा देशलाई दौडाउने सारा दाबीहरूको अर्थ मजदुरहरूकै लुटपाटमा वृद्धि हो । यस्तो “विकास” को रथको चक्का सदा श्रमजीवी र गरिब जनताको रगतले लत्पतिएको हुन्छ । तर, इतिहास के कुराको पनि साक्षी हो भने हरेक फासीवादी तानाशाहलाई धुलो चटाउने काम पनि मजदुर वर्गकै मुठ्ठीले गरेको छ ¤
हामीले फासीवादलाई विचारधारा र राजनीतिको क्षेत्रमा परास्त गर्नैपर्छ । साथमा हामीले उनीहरूलाई सडकमा पनि परास्त गर्नुपर्छ । यसको लागि हामीले मजदुर र युवाहरूको लडाकू र जुझारु सङ्गठन बनाउनुपर्नेछ । सम्झनुपर्ने कुरा के छ भने जर्मनीका कम्युनिष्टहरूले फासीवादी गिरोहसँग जुध्नको लागि कारखाना ब्रिगेडहरू बनाएका थिए । ती ब्रिगेडले सडकमा फासीवादी गुण्डाहरूको हमलालाई जवाफ दिने र उनीहरूलाई पाठ पढाउने काम असरदार ढङ्गले गर्थे । पछि यो प्रयोग अघि बढाउन सकिएन र फासीवादीहरूले जर्मनीमा आफ्नो सत्ता कायम गरे । मजदुर वर्गको ठूलो हिस्सा त्यहाँ त्यसबेला पनि सामाजिक जनवादीहरूकै प्रभावमा थिए र क्रान्तिकारी कम्युनिष्टहरूको पकड उति बलियो हुन पाएको थिएन । तर, यो सानो प्रयोगले देखाएको थियो फासीवादी गुण्डाहरूसँग सडकमै जुध्न सकिन्छ । उनीहरूसँग तर्क गर्ने वा वादविवाद गर्ने ठाउँ नै छैन । साम्प्रदायिक दङ्गाहरू रोक्न र फासीवादी हमला रोक्न यस्तै दस्ता युवा र विद्यार्थीबीच पनि बनाउनुपर्छ । युवा र विद्यार्थीलाई यस्ता हमलासँग जुध्न आत्मरक्षा र जनरक्षाका लागि शारीरिक प्रशिक्षण र मार्शल आर्टस्को प्रशिक्षण दिने काम पनि क्रान्तिकारी युवा विद्यार्थी सङ्गठनहरूले गर्नुपर्छ । उनीहरूले स्पोर्टस् क्लव, मनोरञ्जन क्लव आदि संस्थाहरू स्थापना गर्नुपर्छ । त्यहाँ राजनीतिक शिक्षण, प्रशिक्षण र तार्किकता वा वैज्ञानिकताको प्रसारको काम पनि गरिनुपर्छ ।
हामी एकपटक श्रमजीवी साथीहरू र आम नागरिकलाई भन्न चाहन्छौँ, साम्प्रदायिक फासीवादीहरूको भड्काउने बयानबाट आफ्नो रगत उमाल्नुअघि आफैसँग सोध्नुहोस् ः के यस्ता दङ्गाबाट सिङ्घल, तोगडिया, ओवैसी, आजम खाँ, मुलायमसिंह यादव, राज ठाकरे, आडवाणी वा योगी मोदीजस्ता मानिस मर्छन् ? के कहिल्यै उनीहरूका सन्तान मरेका छन् ? के कहिल्यै उनीहरूका घर जलेका छन् ? हाम्रा मानिसका बेनाम लाशहरू सडकमा जलिरहन्छन् । सारा धार्मिक कट्टरपन्थीहरू जनता भड्काउने खालका भाषण दिएर उच्चस्तरको सुरक्षा, पुलिस र गाडीहरूको लाइन लाएर आफ्ना महल फर्किन्छन् र हामी उनीहरूको बहकाउमा आएर आफ्नै वर्गका दाजुभाइसँग लड्छौँ । यसकारण, धार्मिक उन्मादको हल्लामा नबगौँ, बरु यसको वास्तविकता बुझौँ र आफ्नो जिन्दगीलाई बदल्ने असली लडाइँमा लाग्नेबारे सोचौँ । सबै श्रमजीवी जनताको एकता यसको पहिलो सर्त हो !
(स्रोत ः मजदुर बिगुलको पछिल्लो अङ्क)
–समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *